अत्याधिक जलेका कारण पोखरा हवाई दुर्घटनाका १४ शवको अझै पहिचान हुन सकेन

डिसी नेपाल
८ माघ २०७९ १२:४५
64
Shares

काठमाडौं। पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ।

काठमाडौँ ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले जानकारी दिए।

उनका अनुसार ती शव अत्याधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो। “ती शव अत्याधिक रुपमा जलेको हुनाले हामीलाई फरेन्सिक विधिबाट शव पहिचान गर्न समस्या भएको छ”, उनले भने, “आज साँझसम्म पनि हामी शव पहिचान गर्ने कोसिस गर्दछौँ।”

उनका अनुसार फरेन्सिक विधिबाट शव पहिचान गर्न नसकेमा ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने छ। नेपाल प्रहरीको प्रयोगशालामा ती शवको डिएनए परीक्षण गरिने विभागका प्रमुख डा चौधरीले बताए। डिएनए परीक्षणबाट शव पहिचान गर्नका लागि कम्तीमा २२ दिन लाग्ने उनले जानकारी दिए।

फरेन्सिक जाँचका लागि काठमाडौँ ४८ शव ल्याइएको थियो। यस्तै पोखरामा २२ जना फरेन्सिक जाँच गरिएको छ। यही माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना भएको थियो।

दुर्घटनामा चार चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *