दोसाँधको जीवन

शंकरप्रसाद रिजाल
१३ माघ २०७९ १२:२६

हाम्रो जीवन एक झलकको छैन, दुई झलकको छ। एक साँधको छैन, दोसाँधको छ। रातको जीवन, दिनको जीवन।

दुःखको जीवन त्यस्तै सुखको जीवन। खुलेको जीवन त्यस्तै रहस्यमय जीवन। कतै खुलेको आकाशको जीवन छ भने कतै हुस्सु लागेको जीवन। अनि जीवन दोसाँधको नभए अरु के नै हुन सक्दछन्।

हाम्रो सारा जीवन पल पलमा फरक फरक भै गुज्रिरहेको छ। तर मानिसलाई यसको कुनै आभाष हुँदैन। त्यस कारण मानिस बाहिरी संसारमा मात्र हैन भित्रको संसारमा पनि जिउने कोशिश गर्नुपर्दछ।

यो दोसाँधको जीवनमा बाहिरी सफरलेमात्र सम्पूर्ण हुन सक्दैन। श्वास बाहिरमात्र फेर्दा मानिस अप्ठ्यारोमा पर्न सक्दछ। जति श्वास भित्र लियो त्यति बाहिर पनि फ्याँक्ने गर्नु पर्दछ। अनि त जीवनको दोसाँधको जीवन पूर्ण रुपमा खुलेरै जीवनको अन्त्य हुन्छ।

जीवन फेरि मिलन र बिछोडको दोसाँध पनि हो। एक अर्काको मिलन र बिछोडमा संसार अडेको छ। एक अर्काको मिलन र बिछोडमा हरेक व्यक्तिको जीवनको एक काहानी बनेको छ। यसैमा संसार उठेको छ र बसेको पनि छ।

जीवनमा कुनै पाएर हराइन्छ भने कुनै सोच्दै नसोचेको चिज पनि पाइन्छ। अतः जीवनको खास अर्थ नै पाउने र गुमाउने नै हो। किनकि जीवन नै आउने र जानेको एक लहर हो जहाँ आउने र जानेको भिड निरन्तर लागिनै रहेको हुन्छ। यही नै हो जिन्दगीको दोसाँध।

तसर्थ यो दोसाँधको जीवनको बीचमा बगिरहेको ठूलो महासागरको धारमा सारा पानी बगिरहे झैं हाम्रो जीवन पनि यसै गरि बगिरहेको हुँदा जीवनलाई हामी उल्टो धारमा बगाउने कोशिश नगरी यसलाई आफ्नै धारमा बग्न दिनुपर्दछ। अनिमात्र दोसाँधको जीवन पूर्ण भै मानिस फूल सरह फुलेर संसारमा सुवास फैलाउन सफल बन्दछन्।

भगवान गौतम बुद्धको दोसाँधको जीवन यसको ज्वलन्त उदाहरण हो राजाको परिवारमा जिन्मिएर भौतिक सुख सयलमा बसेर बाहिरी जगतको रसास्वादन गरी तृप्त भएका सिद्धार्थलाई अचानक भित्री जीवन जगतको रहस्यको खोजमा जान मन लागेर भित्री जगतमा नै निरन्तर लागी जीवनको सरिता बगाएका हुनाले नै आज उनको दोसाँधको जीवन पूर्ण रुपमा सफल भई उनी सिद्धार्थ गौतम बुद्धको रुपमा संसारमा चर्चित रहेका छन्।

भारत र नेपालका महान सन्त पुरुषहरु यसै गरि दोसाँधकै जीवनबाट गुज्रिएर संसार प्रसिद्ध भएका छन्।

गुरु नानक, सन्त कबीर, मोहम्मद पेगम्बर, नेपालका शिवपुरी बाबा, खप्तड स्वामी, पश्चिमका येसु मशिहा, चीनका लाओत्से, कन्फुसियसहरु पनि यस्तै आफ्नो दोसाँधको जीवनबाट गुजिएर संसार प्रसिद्ध भएका थिए।

यस्तै आधुनिक जगतका सन्त पुरुष भारतका स्वामी विवेकानन्द, जाग्गी बासुदेव, श्री रविशंकर, सिरडीका साइबाबा, नेपालका योगी नरहरि नाथ जस्ता मानिसहरुले पनी दोसाँधको पूर्ण जीवन बिताई जीवनलाई पूर्ण सार्थकता प्रदान गरेका थिए।

अतः यो जीवन बिताउनलाई केवल एक साँधको मात्र स्पर्शले जीवन गतिशिल बन्न सक्दैन। किनकि यो जीवन नै दसाँधको छ। अर्को कुरा यो जीवनलाई उत्सर्गमा पुर्याउन कर्म, त्याग र तपस्याको अति नै जरुरत छ। यो बिना मानिसहरु ठूलो र महान कहिल्यै पनि हुन सक्दैनन्।

निरन्तर कर्म, निरन्तर त्याग र निरन्तर तपस्याले गर्दा आज डा.सन्दुक रुइत र डा.महावीर पुन जस्ता व्यक्तिले विश्व प्रसिद्ध पुरस्कार पाएर नेपाल र आफूलाई गर्वित बनाएका छन्।

किनकि यो दोसाँधको जीवनलाई उहाँहरुले एक तर्फबाट मात्र कहिलयै पनि हेर्नु भएन। दुःख र सुखलाई एकसाथ लगेर धैर्यताका साथ हिँडेकाले नै आज उहाँहरुको नाम अन्तर्राष्ट्रिय जगतमा प्रसिद्ध भएको छ।

अतः जीवन जिउनु छ भने मर्नु छ भन्ने जान र के गर्दा आफू, आफ्ना परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगतलाई भलाइ हुन्छ त्यसैमा लाग्नुनै मानिसको सर्बश्रेष्ठ कर्म हो जसबाट मानिस ईश्वर बन्न नसकेपनि ईश्वरको प्रतिमूर्ति भने अवश्य बन्न सक्दछ।

एकोहोरो रिस, घमण्ड, लोभ, मोह, छलकपट, जालझेल र असमान मनस्थितिले आफू, आफ्नो परिवार, समाज र राष्ट्र कहिल्यै पनि राम्रो हुन सक्दैन भने अन्तर्राष्ट्रिय जगतको त कुरै नगरौं।

यसबाट एकदिन मानिस माया, सन्तोष, त्याग, तपस्या, करुणा, दया जस्ता कुरामा फर्किनै पर्दछ। अन्यथा ‘जीवन’ व्यर्थको जीवन बन्न जाने कुरा सर्वथा सिद्ध छ।

हिन्दीमा एक उखान छ ‘जियो तो ऐसे जियो, जैसे सबकुछ तुम्हारा है’ मरो तो ऐसे मरो फिर भि सबकुछ तुम्हारा है’। बस यही कुरालाई मनन् गरी यो दोसाँधको जीवन बिताएमा कसैले पनि दुखः नपाइ यो दोसाँधको जीवनलाइ उत्सर्गमा पुर्याउन सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *