५.९ म्याग्नेच्युडको शक्तिशाली भूकम्पका कारण तीन सयभन्दा बढी घाइते

डिसी नेपाल
१५ माघ २०७९ १३:३९

काठमाडौं । इरानको सरकारी मिडिया एजेन्सी इरनाले देशको उत्तरपश्चिमी भागमा शक्तिशाली भूकम्प गएको जानकारी दिएको छ, जसका कारण त्यहाँका धेरै भवनमा क्षति पुगेको छ ।

भूकम्पको तीव्रता रेक्टर स्केलमा ५.९ मापन गरिएको प्रतिवेदनमा उल्लेख छ । स्थानीय समय अनुसार शनिबार राति ९ बजेर ४४ मिनेटमा गएको यो भूकम्पको केन्द्र जमिनबाट सात किलोमिटर भित्र रहेको थियो ।

भूकम्पको केन्द्रबिन्दु उत्तरपश्चिम इरानको पश्चिम अजरबैजान प्रान्तको खोय सहर थियो । यो क्षेत्र टर्कीसँगको इरानको सीमा नजिक छ। समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन् ।

भूकम्पका कारण धेरै घरमा क्षति पुगेको समाचार छ । यसै क्रममा समाचार एजेन्सी एएफपीले पश्चिमी अजरबैजानका गभर्नर सादिक मोतामदिनले भूकम्पका कारण दुई जनाको मृत्यु भएको र ५०० भन्दा बढी घाइते भएको इर्नालाई बताएको जनाएको छ ।

भूकम्पको जानकारी दिने युरोपेली भूमध्य केन्द्रले टर्की, इराक, आर्मेनिया र अजरबैजानमा पनि भूकम्पको धक्का महसुस गरेको जानकारी दिएको छ । राहत र उद्धार टोलीहरू पश्चिम अजरबैजान प्रान्तमा पठाइएको छ, जहाँ खोय शहरमा घरहरू र अन्य भवनहरू ध्वस्त भएको रिपोर्ट गरिएको छ।

भूकम्प प्रभावित केही क्षेत्रमा हिमपात भएको आकस्मिक सेवासँग सम्बन्धित एक अधिकारीले बताएका छन् । यसैबीच विद्युत् कटौतीका कारण समस्या बढेको छ ।

यसै वर्ष जनवरी १८ मा खोयमा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा सयौं घाइते भएका थिए । सन् २०२० मा इरानको पश्चिमी क्षेत्रमा ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा करिब नौ जनाको मृत्यु भएको थियो ।

सन् १९९० मा इरानमा अहिलेसम्मकै सबैभन्दा ठूलो भूकम्प गएको थियो, जसको तीव्रता ७.४ मापन गरिएको थियो। यस भूकम्पका कारण देशको उत्तरी क्षेत्रमा ४० हजार मानिसको मृत्यु भएको थियो भने लाखौं घाइते भएका थिए । यो भूकम्पले लाखौं मानिसलाई घरबारविहीन बनायो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *