विदेशको जागिर छाडेर स्वदेशमै भैँसीपालन

डिसी नेपाल
१६ माघ २०७९ २१:२१
60
Shares

झापा। देशभित्रै केही उद्यम गरौँ भन्ने हुटहुटीले कतारको मासिक डेढ लाखको जागिर त्यागेर भद्रपुर–१ का ३५ वर्षीय अर्जुन सुवेदीले उन्नत मुर्रा जातको भैँसीपालन सुरु गरेका छन्।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ११ वर्षसम्म काम गर्दा मासिक डेढ लाख आर्जन गरेको उनले बताए। स्वदेशमै पसिना र सीप लगाउने चाहना बोकेर उनी कतारबाट नेपाल फर्किएर सुवेदी कृषि फार्म स्थापना गरे।

विसं २०७६ मा स्थापना गरिएको उनको फार्ममा अहिले ५५ वटा मुर्रा जातको भैँसी पालिएका छन्। हावापानी अनुकूलको दुधालु प्रजाति रोज्ने क्रममा उनले मुर्रा भैँसीले नै गोठ भरेका हुन्।

यी भैँसीले कम्तीमा १० लिटरका दरले दूध दिन्छन्। “घरको आर्थिक दुर्दशा र देशमा बेरोजगारीको कहाली लाग्दो अवस्थाले नै मलाई खाडीको ४० डिग्री तातो मरुभूमिमा पुर्‍याएको छ। त्यो मेरो रहर थिएन”, वैदेशिक रोजगारीबाट फर्किनुको कारण खुलाउँदै उनले भने, “तर सधँैभरि पैसाका पछाडि लागेर परदेशमा बसिरहन मन लागेन। स्वदेशमै बरु रोजगारी सिर्जना हुने केही उद्यम गर्छु भन्ने सोचेर म नेपाल फर्केको हुँ।”

उनकी पत्नी दुर्गा सुवेदी पनि वैदेशिक रोजगारीकै सिलसिलामा चार वर्ष कतार बसिन्। उनीहरू दुवै जनासँगै स्वदेश फर्किएर पशुपालनमा लागेका हुन्। स्वदेश फर्केर भद्रपुर–१ पृथ्वीनगरमा आफ्नै सात कठ्ठा जग्गामा रु २६ लाख लगानी गरेर आधुनिक भैँसीगोठ निर्माण गरे। सिराहाको लहानबाट भैँसीका पाडीहरू किनेर ल्याए। तराईको हावापानीमा राम्ररी सप्रिने भएकाले मुर्रा भैँसी रोजेको उनी बताउँछन्।

फार्ममा अहिलेसम्म रु ६७ लाख लगानी भइसकेको छ। कृषि विकास बैंक बिर्तामोड शाखाबाट फार्मका लागि रु ५० लाख पशुपालन कर्जा लिएको उनले जानकारी दिए। गोठमा मात्र होइन, घाँस, पराल र दानामा उनको ठूलो लगानी छ। यसै वर्ष रु छ लाखको पराल बस्तीबाट किनेर ल्याएको उनले जानकारी दिए। बर्सेनि रु तीन लाखको गोबरमल बिक्री हुने गरेको छ।

गोठका अधिकांश पाडी गाभिनी अवस्थाका छन्। एक चौथाइ पाडी छ महिनाभित्र ब्याउने तयारीमा छन्। ती ब्याएपछि सुरुमै उनले दैनिक कम्तीमा एक सय ५० लिटर दूध बिक्रीका लागि डेरी सञ्चालकसँग कुराकानी चलाइरहेका छन्। अबको डेढ वर्षभित्र सबै भैँसी दुहुना भइसक्ने र भरपुर आम्दानी हुने उनको अपेक्षा छ।

परम्परागत कृषि व्यवसाय गरेको उनको परिवार पहिलोपल्ट व्यावसायिक पशुपालनमा होमिएको छ। भैँसी गोठमा सञ्चालक सुवेदी, उनकी पत्नी दुर्गा र छोराछोरी खटिन्छन्। काम गर्नेलाई मासिक रु १५ हजार दिइएको छ।

“यो वर्ष पाडीहरू ब्याएपछि वरपरकै डेरी व्यवसायीलाई दूध बेच्ने तयारी गरेको छु”, उनले भने, “तर, अर्को वर्षदेखि आफँै डेरी खोल्ने योजना बनाएको छु।” झापामा ठूला डेरी सञ्चालनमा आएकाले दूधको बजारमा कुनै समस्या छैन।

आगामी दिनमा भैँसीपालन विस्तार हुँदै जाने भएको हुँदा उनले भद्रपुर वरपरका अरु गाईभैँसी पालक किसानको दूध सङ्कलन गर्ने लक्ष्यका साथ चिस्यान केन्द्र आफैँ सञ्चालन गर्ने योजना बनाइरहेको बताए।

त्यतिका धेरै भैँसीका पाडीलाई खुवाउन घाँसको लरतरो जोहो गरेर पुग्दैन। स्थानीयवासीको १३ बिघा जग्गा भाडामा लिएर उनले घाँसखेती र तरकारी खेती थालेका टन्। भैँसीपालनबाट जैविक मल सङ्कलन हुने भएकाले भाडामा लिइएको जग्गामा तरकारी बाली फस्टाउने उनको अपेक्षा छ।

सात बिघामा घाँसखेती र छ बिघामा मौसमी तरकारी बाली लगाएका सुवेदीको चार बिघा खेतमा अहिले तोरी पहेँलपुर भएको छ। भाडामा लिइएको जग्गाको भने उनले प्रति बिघा वार्षिक रु १५ हजार तिर्दै आएका छन्।

स्वदेशमै पसिना सिञ्चन गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने उनको सोच राज्यको प्राथमिकतामा पर्छ। कृषि र पशुपालनमा मरिमेटेर लागिरहेका उनी सरकारको बेवास्ता र मुलुकको बेथितिबाट भने वाक्क दिक्क छन्।

नगरपालिकाले सञ्चालन गर्दै आएको पशुसेवा कार्यालयमा कुटी काट्ने मेसिन अनुदानमा पाउन दुई पटकसम्म निवेदन हाल्दा नपाएको उनले बताए।

“हेर्न आउँदा सबैले राम्रो गर्नुभयो, स्वदेशमै श्रम र सीप लगाउनुभयो, रोजगारी सिर्जना गर्नुभयो भनेर फुर्क्याउँछन्”, उनी राज्यको गलत नीतिका कारण युवा उद्यमी निराश रहेको गुनासो सुनाउँदै भन्छन्, “उद्यम गर्न प्रोत्साहित गर्नुपर्नेमा राज्यका निकाय कर असुल्न मात्र जान्छन्। व्यवसायीले भोगिरहेका समस्याको समाधानका लागि कसैले केही सहयोग पुर्‍याउला भनेर आशा नगर्दा हुने अवस्था छ।”

आफूले विदेशमा आर्जेको रकम भैँसीपालनमा लगानी गरेको जनाउँदै वडा, नगरपालिका, प्रदेश वा अरु कुनै सरकारी निकायबाट हालसम्म कुनै अनुदान नपाएको बताए।

अनुदान पाउन झुटा कागज मिलाउनुपर्ने, हिस्सा बुझाउनुपर्ने र सोर्सफोर्स लगाउनुपर्ने बेथिति व्याप्त रहेका कारण वास्तविक र इमान्दार कृषि व्यवसायी सरकारी प्रोत्साहनबाट टाढा रहेको उनको गुनासो छ।


No ads found for this position

प्रतिक्रिया

One thought on “विदेशको जागिर छाडेर स्वदेशमै भैँसीपालन

  1. यो समाचार पढिरहँदा सार्है खुशी लाग्यो । म पनि यही पेसा अगालेर अघि बढ्ने कोसिस गर्दै छु ।तपाईंको आँट विश्वास साहसको कदर गर्दै कुनै दिन फार्म भिजिट गर्न आउने छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *