डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी

डिसी नेपाल
१८ माघ २०७९ १७:५१
68
Shares

रेसुङ्गा। गुल्मीकी पार्वता पाण्डेले डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गरेकी छन्। जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गरेकी हुन्।

मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्ड पश्चिम गुल्मीको मुख्य सडक हो। यही सडकखण्ड अन्तर्गतको राँयढुङ्गामा पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म डोकोमै सुन्तला बेचेर सोही रकम कमाएको उनको भनाइ छ।

उनले विगत सात वर्षदेखि पुस र माघ महिनामा सुन्तला बेचेर प्रत्येक वर्ष रु दुई लाख आम्दानी गर्दै आएकी छन्। न्यूनतम प्रतिकिलो ८० देखि अधिकतम दुई सय सम्ममा पाण्डेले सुन्तला बिक्री गर्छिन्।

“सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन”, उनले भनिन्, “सवारीमा आवतजावत गर्नेले रोकिएर सुन्तला किनेर जानुहुन्छ ।” पाण्डे सुन्तला बिक्रीको लागि घरदेखि १५ मिनेट पैदल हिँडेर राँयढुङ्गामा आउँछिन्।

बिहान ११ देखि दिउँसो ३ बजेसम्म सुन्तला बिक्री गर्छिन्। स्थानीय जातको रसिलो सुन्तला भन्दै किन्ने पनि सन्तुष्ट भएर जाने गरेको पाण्डेले बताइन्।

उनले सडक छेउमा आएर सुन्तला बेच्न थालेको सात वर्ष भयो। सजिलै घरेलु उत्पादनको बजारीकरण गरेर आम्दानी गरिरहेको उनसिँग अनुभव छ। पाण्डेले सामान्य प्रकारको जीविकोपार्जनका लागि विदेशकै बाटो रोज्नु गलत भएको बताउँछिन्।

उनका श्रीमान् नारायण पनि सुन्तला खेती र भैँसी फार्ममा व्यस्त छन्। उनीहरुको फार्ममा १५ वटा भैँसी छन्। जसबाट दैनिक ३५ लिटर दूध जिल्लाको सदरमुकाम तम्घास बजारमा बेच्दै आएका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.