वाट्सएपमा ‘नेपाली गर्ल’ एपको लिङ्क पठाएर बैंक एकाउण्ट ह्याक गरी चार लाख चोरी!

डिसी नेपाल
२० माघ २०७९ १८:१८
180
Shares

ललितपुर। प्रहरीले अनधिकृत रुपमा अरुको बैंक खाता नियन्त्रणमा लिएर रकम निकाल्ने गिरोहलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार पत्रकार सम्मेलन गर्दै वाट्सअपबाट बिभिन्न एप्लिकेसन डाउनलोड गर्न लगाउने र डाउनलोड गर्नेको मोवाइलमा रहेको बैंकिङ एपमा पहुँच पुराएर रकम निकाल्ने गिरोहलाई पक्राउ गरि सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार प्रदेश घर भएका अवधेश कुमार, सप्तरी कृष्णासवर गाउँपालिका घर भएका दिलीपकुमार चौधरी, पर्सा विन्दवासिनी बस्ने नगेन्द्र साह कानु, रौतहट रङपुर नगरपालिका घर भएका रविना चौधरी, बारा कोलबी नगरपालिका घर भएका सन्तोष कुवँर, पर्सा वीरगन्ज महानगरपालिका घर भएका राजु पटेल, साहिल परवेज र दिनेश राउत र शिवशङ्कर राउत रहेका छन्।

ललितपुर सातदोबाटो बस्ने हरि प्रसाद ढकालको नामको एनआइसी एसिया बैंकमा रहेका मोबाइल बैंकिङ खाताबाट रकम चोरी भएको उजुरीपछि अनुसन्धान गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिए।

प्रहरीका अनुसार अभियुक्तहरुले वाट्सअपमा नेपाली गर्ल एपको लिङ्क पठाउने गरेका थिए। उक्त एप डाउनलोड गर्दा मोवाइलमा रहेको बैंकिङ एपमा पहुँच पुराएर रकम निकाल्ने गरिएको शाहले बताए।

उनीहरूको साथबाट बिभिन्न कम्पनीको ९ थान मोबाइल, १ थान ल्यापटप र ५ थान एटीएम कार्ड पनि बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले मोवाइल एपबाट ठगिनेहरुको उजुरी आइरहेको र थप अनुसन्धान भइरहेको बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *