भ्रष्टाचार उन्मुलनमा वेद

नारायण घिमिरे
२२ माघ २०७९ ७:५०

भ्रष्टाचार उन्मुलन बारे वैदिक अवधारणा बुझ्न खोज्दा ऋग्वेदको तीन शब्दहरू ऋतम्, सत्यम् र धर्मम् बारे चर्चा हुने गर्दछ।

ऋतले ब्रह्माण्डीय सामाजिक, नैतिक र भौतिक नियमहरू; सत्यमले शाश्वत सत्य र धर्ममले ऋग्वेद अनुरूपको वैदिक धर्म पालना गरी सामाजिक व्यवस्था सञ्चालन गर्न दिने सल्लाह तर्फ संकेत गर्दछ।

मानिसले कान, छाला, आँखा, जिब्रो, र नाक गरी पाँच ज्ञानेन्द्रीयमार्फत प्राप्त गर्ने आवाज, स्पर्श, दृष्टि, स्वाद र गन्ध जस्ता पाँच अनुभूतिका कारण इन्द्रीय सुख प्राप्त हुन्छ।

पाँच इन्द्रीय र पाँच ज्ञानेन्द्रीयहरू मार्फत भौतिक इन्द्रीय सुख प्राप्तिको लागि मानिसले नैतिक एवं अनैतिक दुवै पथ समातिदिने गरेको देखिन्छ। इन्द्रीय सुख प्राप्तिको लोभमा अनैतिक पथ अवलम्बन गरेको मानिसले तल उल्लेख गरिए अनुरूपको दश प्रकारका खराबी वा दुष्टताको प्रदर्शन गर्न सक्दछ।

मद (Pride): नशाले उत्पन्न गरिदिने घमन्ड र मानसिक अस्थिरता, लोभ (Greed): कुनै चीज विशेष गरी धन, शक्ति र खानाको प्राप्ति उन्मुख अप्राकृतिक, अनैतिक र स्वार्थ युक्त तीव्र इच्छा, क्रोध (Anger): क्रोध वा रिसले दिने असन्तुष्टि र तीव्र शत्रुता पूर्ण भावना, वासना (काम वासना Lust): यौन तृष्णा युक्त कामुकता र काम वासनाले अर्को पक्षलाई दिने अनैतिक पीडा, माया (मोह Delusion/Attachment): कसै प्रति वा कुनै चिज प्रतिको अधिक स्नेह, लगाव, सहानुभूति, मोह, सम्बन्धमा जकडिनु, ईर्ष्या (Jealousy): अर्काको सुख र उन्नतिमा ईर्ष्या भावले दिने बेचैन अवस्था र भावना; जडता (नकारात्मकता Inertia/Negativity): बर्तमानको अप्राकृतिक र अनैतिक प्रवृति, सोच, अवस्था वा विचारमै अडिग रहने वा अपरिवर्तित प्रवृत्ति; स्वार्थपरता (डर Selfishness/Fear): आफ्नो स्वार्थ सिद्धिको लागि समाज वा अन्य व्यक्तिमा डर वा डर भावमार्फत पैदा गरिने पीडा वा हानि, घृणा (Hatred): तीव्र तिरस्कार, आलोचना र दुर्व्यवहार युक्त भावना, र अहंकार (Ego): आफ्नो आत्म-महत्त्व कायम गर्ने नियत युक्त पहिचान र आत्म सम्मान केन्द्रित भावना र चासो युक्त कर्म मानिसले गर्ने, आदि मानिसका दश प्रकारका खराबी वा दुष्टता हुन्।

आफू भन्दा बाहिरी संसार हेर्ने, त्यससँगै आफूलाई तुलना गर्ने र असन्तुष्ट रहँदा मानवीयता एवं नैतिक मूल्य बाट विचलित भएको मानिसले नैतिक दृष्टिले पथ भ्रष्ट बनेको मानिसले गर्ने उक्त दश प्रकारका खराबी वा दुष्टताहरूमा आफूलाई सहभागी हुन स्वीकृति दिने गर्दछ।

नैतिक जगको दृष्टिले पथभ्रष्ट कर्ममा सहभागी हुन मानिसको मनको स्वीकृतिको जरुरत पर्दछ। यसरी दश प्रकारका खराबी वा दुष्टतामा आफूलाई सहभागी हुन स्वीकृति दिने मनको खराब निर्णयलाई समेतलाई कारकको रूपमा लिँदा मानिसले जम्मा एघार प्रकारका खराबी वा दुष्टताहरूलाई भ्रष्टाचारको भ्रूणयुक्त व्यभिचारको रूपमा ग्रहण गर्ने गर्दछ।

सामवेदको १७९ र ९१३ मा भ्रष्टाचारको नौ वटा सिङ हुने कुरा उल्लेख छ। भ्रष्टाचारको नौ टाउको भनेर वेदले मानिसको मनलाई भ्रष्टाचार ग्रसित पार्ने नौ कारकहरू भनेर घूसखोरी (Bribery); अधिकार, जिम्मेवारी र विश्वासको दुरुपयोग (Exploitation), शोषण युक्त मुनाफा (Exploitative Profit), स्वार्थ बाझिने जिम्मेवारीमा रहेर आफ्नो निहित स्वार्थको सिद्धि गर्नु (Vested Interest, Conflict of Interest, Naked Selfish Desires), स्वार्थ पूर्ति गर्ने अभिलाषामा झूटो प्रतिज्ञा गरी कार्य सम्पादन गर्नु (Hypocrisy in the form of False Promise), घमन्ड/मद (Pride, Intoxication, Arrogance, Emotionally Aroused), झूट (False, Misrepresentation), अहंकार (False Ego, Sense of Self), बकवास (Calumny, Making False and Defamatory Statements) आदि तर्फ ध्यान केन्द्रित गराउने गर्दछ। नौ-टाउके भ्रष्टाचारका कारकहरूले निम्त्याउने भ्रष्टाचारका प्रकरणहरूले मानिसलाई मतिभ्रष्ट पारिदिने र समाजलाई नै तहसनहस गरिदिने हुँदा यो बारे समाजमा खुलेर चर्चा र बहस गरिनु पर्ने वेदको मान्यता छ।

भ्रष्टाचारका हरेक नौ कारकहरूले विकास गर्न सक्ने एघार भ्रष्टाचारको भ्रूणयुक्त व्यभिचारले समग्रमा ९ x ११ गरी भ्रष्टाचारको जम्मा ९९ स्रोतहरूको निर्माण गरेको हुन्छ। रामायणमा सामवेदको यही अवधारणा प्रस्ट गर्न एक टाउकोको अतिरिक्त रावणमा भ्रष्ट नौ टाउकोहरू जोडिएको हुन्छ।

मुख्य टाउको लाई मन मान्दै हरेक नौ टाउले फरक फरक प्रकृतिका दुष्टताहरूको सङ्केत गर्दछ भनी वर्णन गरिन्छ। त्यसै गरी महाभारतमा समेत अन्धा कौरव राजा धृत राष्ट्रमा उनका ९९ भ्रष्ट कौरव छोराहरू मार्फत उनमा भ्रष्टाचारको प्रवेश पाइएको कुराको उल्लेख भएको छ। धृत राष्ट्रका ९९ जना कौरव छोराहरूले समेत सामवेदले उल्लेख गरेको भ्रष्टाचारको ९९ स्रोतहरूलाई नै जनाउने गर्दछ।

ऋग्वेद १-८४-१३ मा दुष्ट शक्ति ९९ थरी हुने उल्लेख छ। त्यस्तै ऋग्वेदको १-१०४-३ मा राज्यको नाममा घुस लिनु लाई सार्वजनिक कोषको दुरुपयोग गर्ने अपराध भनिएको छ। त्यसैलाई प्रस्ट गर्दै भगवत् गीतामा घूस लिनेहरू सबै नै सामाजिक चोरहरू भएको र उनीहरूले त्यस्तो दुष्कर्मको फल निश्चित रूपमा भोग्नै पर्ने कुरा यकिनका साथ प्रस्ट गरिएको छ।

वैदिक कालमा मानिसले गर्ने पेसा लाई मूलतः चार भागमा विभक्त भएको थियो। चतवर: वर्णाश्रम भनिने उक्त व्यवस्था अन्तर्गत पुजारी, विज्ञ, प्राज्ञ, डाक्टर, इन्जिनियर आदिको रूपमा काम गर्ने पदलाई ब्राह्मण पदको भनिन्थ्यो।

शासक, योद्धा र सैनिक आदिमा काम गर्ने हरूलाई क्षत्रिय पदको भनिन्थ्यो। स्वरोजगार प्रकृतिको जमिन्दार, व्यापार, व्यवसाय आदि गर्नेको पदलाई वैश्य पद भनिन्थ्यो। त्यस्तै वस्तुको उत्पादन गर्ने श्रमिक वा सेवा प्रदायक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई शूद्र पदको भन्ने गरिन्थ्यो।

ऋग्वेद ३-३४-६ र यजुर्वेद ३०-२२ दुबैमा भ्रष्ट आचरण भएको प्रमाणित मानिसहरूलाई राज्यको शासन व्यवस्थाले राज्यको चतवर: वर्णाश्रममा (राजस्व वाट सञ्चालित राज्यको सम्पूर्ण चारै पेसामा) संलग्न रहन र त्यहाँ संलग्न रहेका कुनै पनि मानिसहरू सँग घुलमिल हुन समेतबाट बन्देज गर्नु अनिवार्य रहेको उल्लेख गर्दछ।

यजुर्वेद ३०-१९ र ऋग्वेद ५-६१-८ ले राज्य कोषको सम्पत्ति खर्च गरी समाजमा आफ्नो प्रसिद्धि र तारिफ कमाउने नियत सक्रिय रहने प्रवृत्तिका समूह तथा व्यक्तिहरू लाई समेत भ्रष्ट (व्यक्ति वा संगठन वा पार्टी) करार गर्दै उनीहरूबाट समाजलाई टाढा रहन सल्लाह दिने गर्दछ।

ऋग्वेद १-४२-४ ले गुरु वा पण्डितको रूपमा समाजमा दान, दक्षिणा, चन्दा आदि लिन सक्रिय रहेका गुरुहरू समेतको त्यस्तो आचरण लाई भ्रष्टाचारी भन्दै उनीहरूबाट समेत टाढै रहन सल्लाह दिएको देखिन्छ।

समाजमा हुने गरेका भ्रष्टाचारका विभिन्न कारणहरू बारे समेत वेदमा प्रस्ट उल्लेख भएको भेटिन्छ। वेदका अनुसार समाजमा खानि, ढुंगा, माटो, बन, जंगल, गिट्टी, झारपात आदि जस्ता सार्वजनिक सम्पत्ति खासै मूल्य नरहेको जड वस्तु ठानेर हुने प्रकृति विनाश तथा दोहन कार्य आपराधिक कार्यको रूपमा नलिने सामाजिक व्यवहार तथा मातृभूमिको विनाश तथा दोहन कार्य सम्पूर्ण प्राणी जगतकै लागि विनाशकारी प्राकृतिक नियमको विरुद्धको अपराध हो भन्ने मान्यताबाट विचलित व्यक्तिगत वा समूहगत कार्यले समाजमा भ्रष्टाचार मौलाउने गर्दछ।

ऋग्वेदको मान्यता अनुरूप प्रकृतिको हरेक सूक्ष्म भन्दा सूक्ष्म कणमा समेत ब्रह्माण्ड शून्य (Cosmic Void) अवस्थित रहन्छ। त्यही ब्रह्माण्ड शून्यको जगमा सारा सूक्ष्म भन्दा सूक्ष्म कण लगायत ब्रह्माण्डको नै संरचना निर्माण हुने हुँदा, प्राकृतिक पर्यावरणमा खलल हुने गरी ब्रह्माण्डको जुनसुकै संरचना तथा प्राकृतिक पद्धतिमा (इकोसिस्टम-परिस्थितिकीय चक्र) पुर्‍याइदिने क्षतिले अन्ततः सम्पूर्ण जगतको कल्याण तथा अस्तित्व लाई चुनौती दिने उल्लेख छ।

प्रकृतिको हरेक पदार्थमा अप्रत्याशित जीवन रहन्छ। अचेत (ढुंगा, माटो, पानी आदि), अर्ध चेत (भाइरस, आदि) र सचेत (बिरुवा, प्राणी आदि) सबैमा जीवन रहन्छ। फरक यति मात्र हो कि, अचेतमा आफू सँग जीवन रहेको महसुस गर्ने चेतना हुँदैन, अर्ध-चेतमा आफ्नो जीवन बारे थाहा पाउने अर्ध-चेतना हुन्छ।

सचेतमा आफूसँग जीवन रहेको महसुस गर्ने पूर्ण चेतना हुन्छ। हरेक सचेत जीवको जीवन यापनको लागि चाहिने जीवनका अभिन्न सार तत्त्वहरू अचेत, अर्ध-चेत र अन्य: सचेत समेत वाट अनिवार्य रुपमै नियमित प्राप्ति हुन जरुरी हुने हुँदा तिनीहरू मद्ये कसैको पनि बिनासाले अर्काको लागि खती अनिवार्य रूपमा निम्त्याउने गर्दछ।

वेदको बुझाइमा जुन समाज वातावरण मैत्री आफ्नै उत्पादनमार्फत आफ्नो आवश्यकता पूर्ति गर्दैन, जुन समाजको अर्थतन्त्र मातृभूमिको उल्लेखित जड बस्तुमा आधारित हुन्छ, त्यस्तो समाज भ्रष्टाचारले आक्रान्त हुन्छ।

ज्ञान र सीप विहीन मानव जनशक्तिको निकासी वाट हुने सामाजिक आम्दानी समेत वैदिक अवधारणामा जड बस्तुमा आधारित आय नै ठानिन्छ। समाज जडता युक्त आयमा आधारित रहेमा त्यहाँ अहंकारी भ्रष्ट शासक, शासन व्यवस्था उदाउने, सामाजिक भ्रष्टाचारले सामूहिक मान्यता पाउने गर्दछ।

समाज तामसिक गुणको प्रबलताले व्याप्त बनिदिन्छ। त्यस्तो समाजमा नैतिक, अनैतिक सबै प्रकारको आय, धन-सम्पत्ति हुनुलाई गर्वको विषय ठानिने गरिन्छ।

भ्रष्ट व्यक्तिहरू प्राय: पद, पैसा, शक्ति र यौन आशक्ति जस्ता मायावी आशक्तिहरूमा चुर्लुम्म डुब्न पुग्दा तिनीहरू सत्यवादीता र नैतिक आचरणको सर्वोच्च आदर्श जस्ता विषयबाट च्युत हुन पुग्दछन्। तिनै मायावी आशक्तिले उनीहरू आफू सबैभन्दा उत्कृष्ट, बौद्धिक, क्षमतावान्, विजयी, चमत्कारी, दैविक शक्ति युक्त बनेको आदि जस्ता अहंकारको समेत विकास गरिदिन्छ।

ऋग्वेदको अनुसार मानिसको जन्म ब्रह्माण्डको वास्तुकार विश्वकर्माको भव्य तथा अद्भुत डिजाइन अन्तर्गत निर्गुण ब्रह्मा भनिने अपरिवर्तनीय तथा निराकार प्रकृति (ईश्वर) निर्मित सम्पूर्ण ब्रह्माण्डको संरचनाको सुरक्षा र मर्मत सम्भारको लागि प्रभावकारी सहयोग पुर्‍याउने उद्देश्यमा भएको हो।

ब्रह्माण्डको संरचनाको सुरक्षा र मर्मत सम्भारको लागि शाश्वत ब्रह्माण्डीय नियमहरूको सिर्जना गरिएको छ। शाश्वत ब्रह्माण्डीय नियमहरू पालन गरी सम्पूर्ण मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्न सक्दछन्। मानवीय कर्तव्यहरू पूरा गर्नुलाई मानवीयता अर्थात् मानिसको शाश्वत धर्म भनिएको छ।

ब्रह्माण्ड सृष्टिलाई ठुलो हानि नपुगोस् भनेर आफैले सृष्टि गरेको शाश्वत नियमहरू प्रकृति आफैले कडाइका साथ पालन गर्ने गर्दछ। त्यसैले प्रकृति र प्राकृतिक ऋत (नियम) दुबैलाई एउटै रूपमा लिएर त्यसलाई ईश्वर समेत भन्ने गरिएको हो।

दृष्टिविहीनहरूले समेत सहजै पढ्न र बुझ्न सक्ने मानव जातिलाई उपलब्ध प्रकृति र प्राकृतिक नियमहरूलाई जब समाजका कुनै पनि व्यक्ति वा समूहहरूले बेवास्ता तथा उल्लङ्घन गर्न थाल्छन्, तब समाजमा भ्रष्टाचार मौलाउने गर्दछ।

ऋग्वेद १०-३४-१३ अनुसार कुनै पनि प्रकारको बिना मेहनत पैसा कमाउने जुवा, पासा जस्ता परिवार र समाजको जीवन अनिश्चित गरिदिने खेलहरू पनि भ्रष्टाचारको कारण बन्ने गर्दछ।

ऋग्वेदको बिना मेहनत पैसा, धन दौलत जम्मा गर्ने कार्य अनैतिक कार्य भएको सन्देश प्रस्ट रूपमा समाजमा सम्प्रेषण गर्ने नियतमा महाभारतमा पासाको खेलको वृत्तान्त, त्यसले पैदा गरेको भयानक दुष्टता, लाचारीपन र अन्याय आदि सहितको सामाजिक र मनोवैज्ञानिक अत्याचारको वर्णन प्रस्तुत छ।

ऋग्वेद १-१२९-६ अनुसार आध्यात्मिक र शाश्वत ब्रह्माण्डीय नियमहरूको ज्ञानरहित भौतिक ज्ञानको खोजी गर्ने प्रवृत्तिको उपजको रूपमा पैदा हुने भ्रष्टाचारले मानव जातिका सबै महान् गुणहरूको नष्ट गरिदिन्छ। त्यसलाई वेदमा अज्ञानता (अज्ञान/अल्प-ज्ञान) भन्ने गरिन्छ।

प्राकृतिक (शाश्वत ब्रह्माण्डीय नियमहरू), आध्यात्मिक र भौतिक ज्ञानहरूको युक्ति संगत रूपमा सिंक्रोनाइज भएको ज्ञानलाई मात्रै वेदले यथार्थ (शाश्वत) सत्य ज्ञान (जानन Knowing) भन्ने गर्दछ।

वेदको अनुसार समाजमा भ्रष्टाचारको सुरुवात हुने कायदामा समेत निश्चित प्रकारको क्रमबद्धता, प्रवृत्तिहरू, घटनाक्रमहरू र परिणामहरू देखिने गर्दछ। ऋग्वेद भन्दछ यदि तपाईँको समाजमा मात्र एक जना मानिस भोकको कारणले मरेको भेटिन्छ भने त्यसको संकत यो हो कि तपाईँको समाजमा भ्रष्टाचार फैलिएको छ।

शासन व्यवस्था आफ्नो इज्जत, शक्ति, दौलत र यौन आशक्ति लिप्त दानवीय प्रवृत्ति बोकेको पेसाका अनुयायीहरू मार्फत सञ्चालन हुने अनुक्रम नियमित छ।

कलियुग मानवताको इतिहासमै एक अन्धकारको युग हुन बन्न सक्ने जोखिम रहेको तर्फ संकेत गर्दै कलियुगकालीन समाजमा मानवीय भन्दा दानवीय प्रकृतिको पेसा तर्फ आकर्षित रहने अनुयायीहरूको सङ्ख्या अधिक हुन जाँदा जहाँ पाप त्यही फलिफाप हुने अवधारणा समेत समाजमा व्याप्त बनिदिन सक्दछ।

जब हरेक कुरा व्यापारीकरण गरिन्छ, हरेक कुरालाई पैसाको कीमतमा तौलेर हेरिन्छ, निजी स्वार्थपूर्ति केन्द्रित सामाजिक गतिविधिहरू सञ्चालन गरिन्छन्, आफ्नो समूह वा गुटको स्वार्थले राष्ट्रिय स्वार्थ भन्दा माथिल्लो दर्जाको महत्त्व पाउने गर्दछ तब त्यस्तो समाज सामाजिक कल्याण युक्त इच्छा शक्ति च्युत अनैतिक समुदाय रूपान्तरण बनिदिन्छ।

अनैतिक समुदायले सामाजिक अमन चयनमा अधिक ह्रास निम्ताउँदै निराशा बादी समाजको विकास गरिदिन्छ। ऋग्वेदले यकिन गरिदिए अनुसार घूस दिने र घूस लिनेहरू उनीहरू रहेको समाजको मात्र नभएर सम्पूर्ण प्रकृतिकै चोरहरू हुन्।

जसले प्राकृतिक पदार्थहरू, सामाजिक श्री सम्पत्ति आदि लाई जड मान्छन्, दुरुपयोग गर्दछन् वा दुरुपयोग रोक्न कोसिस गर्दैनन्, जो जो व्यक्ति वा शासक नौ-टाउके (हाइड्रारूपी) भ्रष्टाचारप्रति संवेदनशील रहँदैनन्, त्यसैमा सहभागी बन्दछन्, प्राकृतिक चोरहरूको चोरीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संरक्षण गर्न तिनीहरूलाई सामाजिक मान, सम्मान, विभूषण आदिले विभूषित गर्न भूमिका खेल्दछ, तिनीहरू सबै नै कोही प्रत्यक्ष भ्रष्टाचारी हुन भने कोही भ्रष्टाचारको मतियार हुन्।

त्यस्ता भ्रष्टाचारी र भ्रष्टाचारको मतियारहरूले कतिपय अवस्थामा आफ्नो सामाजिक प्रतिष्ठा, स्वीकार्यता, इज्जत र साख वृद्धिको नियतमा देखावटी पूजा, दान, विभिन्न सम्मान कार्यक्रम, उपहार प्रदान आदि जस्ता सामाजिक संस्कृतिको सहारा समेत लिने गरेको भेटिन्छ।

आफूमा मानवीयता भएको मानिसले त्यस्ता मानिस वा समुदायको त्यस्तो प्रकारको सामाजिक कार्यमा समर्थन र सहभागिता जनाउनु अनैतिक कार्य हुनेछ।

इसा उपनिषाद र यजुर्वेदका अनुसार देखावटी ढोगी तथा प्राकृतिक चोरहरूको अधिकांश समय र कोसिस समाजमा आफ्नो असली अनुहार लुकाउन समाजलाई अन्धकार बाट झन् पूर्ण रूपमा अन्धकार तर्फ लैजान केन्द्रित हुने गर्दछ।

प्राकृतिक अस्तित्वका जड चीजहरू, राष्ट्रिय सम्पत्ति आदि कुनै पनि उनीहरूको निजी होइन, त्यसमा उनीहरूको अलिकति पनि हक लाग्दैन भन्ने “इदं न मम:” जान्दा जाँदै मौका पर्दा लुट, शक्तिमा हुँदा आर्जन गर भन्ने भौतिकवादी दानवीय सर्वसत्तावाद उनीहरूमा हाबी भएको हुन्छन्। यस्ता कार्यहरूमा प्राय: नीतिगत, समूहगत र योजनाबद्ध भ्रष्टाचारको क्रमबद्धता र प्रवृत्तिहरू विना व्यापक हुन सम्भव हुँदैन।

नेपालको स्थानीय, प्रदेश र केन्द्रीय संरचनाको सम्पूर्ण निकाय मात्र नभएर लगभग सम्पूर्ण सामाजिक संघ संस्था, पार्टी, धार्मिक संस्था आदि सबै नै आज भ्रष्टाचारको दुष्टता ग्रस्त छ।

यो मुलुक भित्र सामाजिक चोरी, अनैतिक लुट, ठगी, अन्याय, अत्याचारको आगोले नछोएको कुनै पनि समुदाय र निकाय भेटिनु भनेको लगभग असम्भव प्राय: बनेको छ।

यो हदको अत्यन्त घृणित र खतरनाक भ्रष्टाचार र दुराचारको उन्मुलनको लागि समाजमा भ्रष्टाचार र दुराचारको उत्पत्ति कसरी हुन्छ त्यो बारे वेदमा वैदिक कालका ऋषिहरूले उल्लेख गरेका चुरो कारणहरूको मनन गरी मुनीहरू द्वारा दिइएका मार्ग निर्देशनहरूको अनुसरण गर्न अनिवार्य बनिसकेको छ।

नेपालको संविधानमा उल्लेख भए अनुरूपको नेपाली समाजवाद हाम्रो रैथाने वैदिक ज्ञानको मर्म अनुरूप राज्य र सामाजिक सङ्घ संस्था सञ्चालन गरेर, हाम्रो आफ्नै मोटोको रैथाने र मौलिक दर्शन अवलम्बन गरेर मात्र सम्भव छ।

आयातित विकास, ज्ञान, दर्शन र विचार धाराले यो अवस्थामा पुर्‍याएको नेपाललाई तिनैलाई सुधारात्मक रूपमा भन्दै गरिने थप कार्यान्वयन त्यसैले राज्यभर पैदा गरेको योजनाबद्ध भ्रष्टाचारको क्रमबद्धता, क्रूरता, दर्द, सफरिङ्ग र गहिरो सामाजिक वितृष्णाको उपचारमा प्रभावकारी हुनसक्ने छैन।

(क्यानडा निवासी खाद्य तथा औषधि विज्ञ लेखक घिमिरे मानव पीडाबाट तत्काल राहत दिने हिंसारहित आयुर्वेदिक ओखती तथा दैनिक खानाको रूपमा हिलिङ फुड निर्माणको सम्भावनाको खोजी तथा अनुसन्धान गर्ने क्रममा आयुर्वेदिक माइक्रोबाइलोजी अन्तर्गत क्वान्टम मेटाफिजिक्समा विद्यावारिधि गर्ने क्रममा हाल वेदको अध्ययन गरिरहेका छन्।)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *