सूचना प्रविधिका क्षेत्रमा नेपाल प्रतिस्पर्धी : मन्त्री शर्मा

काठमाडौँ। सूचना प्रविधिको क्षेत्रमा नेपाल प्रतिस्पर्धी बन्दै गएको भए पनि आन्तरिक उत्पादन र सेवाको प्रवद्र्धन हुन नसक्दा यो क्षेत्र फस्टाउन नसकेको जानकारहरुले बताएका छन्।
यहाँ आजदेखिसुरु भएको ‘इन्फो डेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो सूचना प्रविधिको युग रहेको बताउँदै यो राष्ट्रियतासँग पनि जोडिएको बताइन्। अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने यस क्षेत्रलाई राज्यले संरक्षण र प्रवद्र्धन गर्न नसकेको उनको भनाइ छ।
“आर्थिक समृद्धिका लागि सूचना प्रविधिको योगदान महत्वपूर्ण छ । यो राजस्व बढाउने र राष्ट्रियता स्थापित गर्न सकिने क्षेत्र रहेछ। सानो–सानो कुरामा ध्यान दिँदा अर्बौं राजस्व जोगिने मात्र नभई यसबाट हामी राजस्व सिर्जना गर्न पनि सक्ने रहेछौँ । राष्ट्रियता जोगाउने सवालमा पनि प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण छ”, मन्त्री शर्माले भनिन्।
सूचना प्रविधि क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्न नसक्दा जनशक्ति विकासमा उल्लेख्य प्रगति हुन नसकेको पनि उनले बताइन्।
“विगतमा राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक विकासका लागि कुन क्षेत्रलाई प्राथमिकतामा राख्ने भनेर अस्पष्टता रह्यो। हामीले जनशक्ति जोगाउन नसक्दा बाहिर जाने र त्यस्तो जनशक्ति हामीलाई चाहिँदा बाहिरबाट ल्याउनुपर्ने अवस्था छ”, शर्माले भनिन्।
जनतालाई आधारभूत सेवा प्रवाहमा पनि प्रविधिको प्रयोग बढाउँदै जान आवश्यक रहेको बताउँदै शर्माले प्रविधिको प्रयोगले सार्वजनिक सेवालाई पारदर्शी बनाउन सकिने बताइन्।
नेपालको सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउन विस्तृत अध्ययन गरेर अघि बढ्ने र कानुन बनाउने विषयलाई प्राथमिकतामा राखिने पनि मन्त्री शर्माले बताइन्।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीपछि नेपालमा प्रविधिको प्रयोग बढेको बताए।
नेपालमा उत्पादित कतिपय प्रविधि विश्वस्तरमै प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा रहेको उनको भनाइ छ। “नेपाल प्रविधिको क्षेत्रमा विश्वस्तरमै प्रतिस्पर्धी बन्नसक्छ। त्यसका लागि हामीले प्राथमिकतामा नेपाली उत्पादनलाई दिनुपर्छ”, ढकालले भने। हरेक सरकारी निकायमा नेपाली सफ्टवेयरको प्रयोगको नीति सरकारले लिनुपर्ने उनको सुझाव छ।
त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्रविधिका क्षेत्रमा सरकारी नीति सकारात्मक भए पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको बताए।
“प्रविधि क्षेत्रमा लगानी गर्ने कम्पनीका लागि एकद्वार प्रणाली लागू हुन सकेको छैन। यो क्षेत्रमा कुनै विदेशी कम्पनीले लगानी ल्याएमा त्यसमा नेपाली कम्पनीलाई ‘जोइन्ट भेन्चर’मा लगानी गर्न सक्ने व्यवस्था लागू गरिनुपर्छ”, मल्लले भने।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ।
प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएको क्यानले जनाएको छ। त्यस्तै हरेक दिन आईसीटी सेमिनार सञ्चालन गरिने पनि आयोजक क्यानले जानकारी दिएको छ। क्यान इन्फोटेकको करिब साढे तीनले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
Facebook Comment