जैविक मल तथा जैविक विषादी उत्पादन उद्योग अलपत्र

डिसी नेपाल
२५ माघ २०७९ १२:२५

सुर्खेत। जाजरकोट भेरी नगरपालिका-१३ कुदुमा निर्माण भएको जैविक मल तथा जैविक विषादी उत्पादन उद्योग अलपत्र परेको छ।

प्रदेश सरकारको रु ५० लाख र कर्णाली बायो इनर्जी एण्ड आर्गानिक फर्टिलाइजर प्रालिले ५० लाख रकमसहित निर्माण थालिएको जैविक मल तथा जैविक विषादी उत्पादन उद्योग अलपत्र परेको हो।

आर्थिक वर्ष २०७७/७८ को कर्णाली प्रदेशको बजेटबाट उक्त संरचना निर्माण भएपनि त्यहाँ जैविक मल तथा जैविक बिसादी उत्पादन गर्न भैँसी पालन गर्नुपर्ने भएपनि अहिले सम्मा सो काम हुन सकेको छैन।

भेरी करिडोरका साथै मध्यपहाडी लोक मार्गको बीचमा रहेको उक्त ठाउँमा कर्णाली प्रदेश सरकारबाट अनुदान ल्याएर संरचना निर्माण गरेर अहिले अलपत्र अवस्थामा रहेको छ।

भौतिक संरचना भित्र भैँसी पालन गरेर जैविक मल उत्पादन गर्ने लक्ष्यबीचमै तुहिएको छ । प्रदेश सरकारले भेरी नगरपालिकामार्फत् उपलब्ध गराएको ५० लाख रुपैयाँमा काम कम गरेको भन्दै नगरपालिकाले ४२ लाख रुपैयाँ मात्र भुक्तानी दिएको छ।

बाँकी प्रालिले आफैँले व्यवस्थापन गरेर भैँसी पालन गरी जैविक मल तथा विषादी उत्पादन गर्नुपर्ने लक्ष्य भएपनि अनुदानको रकम मात्र प्रयोग गरेर बाँकी लगानी नै नगरी बीचमै छाडेको देखिन्छ।

लाखौँ रकम राज्यको अनुदानको नाममा ल्याएर तोकिएको काम सम्पन्न नगरी बीचमै छोडदा आर्थिक हानी हुनुका साथै उदेश्य समेत पुरा नहुँदा समस्य हुने गरेको छ।

अनुदानका लागि मात्र बिभिन्न कम्पनी खोल्ने कामले श्रमजिवी कृषकहरु मारमा परेका छन्। पहुँचको भरमा ल्याइएका यस्ता खालका अनुदानको अनुगमण तथा निरीक्षण गर्ने निकाय समेत मौन बस्नुले रकम झ्याम पार्ने परिपार्टी मौलाएको कृषकहरुको भनाइ छ।

संरचाभित्र हप्ता दिनसम्म मात्र भैँसी राखेर रकम भुक्तानी गरेको प्रालिका नजिकै घर भएका स्थानीयवासीहरू बताउँछन् ।

अहिले सो संरचनाभित्र केही पनि नभएको अवस्था छ। यता भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अनुदान लिने तर काम नगर्ने परिपार्टी मौलाउँदै गएको बताए।

‘सधैँ निगरानी गर्न सकिँदैन, हामीले जिम्मा लगाएपछि किसानले आफैँले सक्रिया भएर कम गर्ने हो,’ उनले भने । उता कम्पनीका मानबहादुर रोकायले साथीहरुले धोका दिएका कारण कुदुमा काम गर्न नसकिएका बताए।

अहिले सुर्खेत स्थित वीरेन्द्रनगर नगरपालिका-३ तातोपानीमा शाखा सञ्चालन गरेर काम गरिरहेको उनको दाबी छ । जाजरकोटको कुदुमा काम गर्न सकिएन भन्दै स्वीकार गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *