चिकित्सकमाथि हातपात गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न मानवअधिकार आयोगको आग्रह

डिसी नेपाल
२९ माघ २०७९ २०:००
20
Shares

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई चिकित्सकमाथि हातपात र दुव्र्यवहार गर्ने तथा निर्देशन दिने सुरक्षाकर्मीलाई कारबाही गर्न आग्रह गरेको छ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै घाइते चिकित्सकको उपचारको व्यवस्था गर्न र उक्त घटनाको छानबिन गरी चिकित्सकमाथि हातपात र दुव्र्यवहार गर्ने तथा निर्देशन दिने सुरक्षाकर्मीमाथि कारबाही गर्न सरकारलाई आग्रह गरेका हुन्।

यही माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेका थिए।

आयोगले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा समयसापेक्ष परिमार्जन गरी सवारी सुरक्षालाई चुस्त बनाउन, विशिष्ट व्यक्तिको सवारीका बेला आम सर्वसाधारणलाई पर्नसक्ने प्रभावबारे गम्भीर बन्नसमेत सरकारलाई आग्रह गरेको छ।

चिकित्सकमाथि हातपात भएको घटनालाई लिएर चिकित्सकहरूले अस्पतालहरूमा उपचार सेवा बन्द गर्दा हजारौँ बिरामीहरू उपचार सेवाबाट वञ्चित हुनु परेको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको जनाइएको छ।

आयोगले प्रहरी अनुसन्धानका क्रममा गरिने स्वास्थ्य परीक्षण समयमै नगर्दा प्रमाण लोपसमेत हुन सक्ने र समयमै उपचार नहुँदा गम्भीर प्रकृतिका बिरामीका स्वास्थ्यसमेत जोखिममा पर्ने हुँदा स्वास्थ सेवा जस्तो अत्यावश्यक सेवा बन्द नगर्न चिकित्सकलाई आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *