ललितपुरमा एटिएम मेसिन तोडफोड गरेर चोरी गर्ने चार जना पक्राउ
काठमाडौं। एटिएम मेसिन तोडफोड तथा धनमाल चोरी गरेको आरोपमा चार जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका एकान्तकुनास्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले भाग्दै गरेका दुई जनालाई महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो।
थप अनुसन्धानको क्रममा उनीहरूसहित चार जनाले सोही महानगरपालिका-१५ ताल्चिखेलमा रहेको यम हासिका फोटो स्टुडियोमा चोरी गरेको खुल्न आएपछि उनीहरूलाई समेत च्यासल भोलढोकास्थित कोठाबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङ घर भई ललितपुर महानगरपालिका-९ च्यासल बस्ने २३ वर्षीय सन्तोष तामाङ, मकवानपुर घर भई च्यासल बस्ने २३ वर्षीय कान्छाराम तामाङ, महोत्तरी घर भई सुनाकोठी बस्ने २० वर्षीय विश्वास मगर र ललितपुर कोञ्ज्योसोम गाउँपालिका चौघरे घर भई ठेचो बस्ने २५ वर्षीय कुशल लामा छन्।
प्रहरीले उनीहरूबाट चक्कु, क्यामेरा, फलामको रड, खुकुरी, हम्बर र एयरफोन बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment