हात्तीपाइलेः औषधि खाने खाएको खाई, नखानेले नखाएको नखाई

डिसी नेपाल
२९ माघ २०७९ २१:१७
40
Shares

बनियानी। सङ्क्रमण भएको लामो समयसम्म लक्षण नदेखिँदा हात्तीपाइले रोगले समाजमा जरो गाडेर बसेको छ। हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान चलाइएको लामो समय भए पनि ‘केही भएको छैन, किन औषधि खाने’ भन्ने भ्रमका कारण समाजमा हात्तीपाइले रोगले जरो गाडेर बसेको हो।

“सङ्क्रमण भएको लामो समयसम्म लक्षण देखिँदैन”, हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत आज बसेको जिल्लास्तरीय समन्वय समितिको बैठकमा झापा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने, “जसका कारण समाजमा हत्तीपाइले रोगले जरो गाडेर बसेको छ।”

हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन उनले विद्यालयस्तरमा गएर किन औषधि सेवन गर्ने? भन्ने सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। “विद्यार्थीहरूको पठनबोध धेरै हुन्छ”, उनले भने, “घर र समाजमा सचेतना फैलाउन यो उपयोगी हुने देखिन्छ।”

सुरुमै हात्तीपाइले रोगविरुद्धको औषधि सेवनलाई नकारात्मकरूपमा प्रचार गरिएकाले आम औषधि सेवन प्रभावकारी हुन नसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।

झापामा दैनिक ज्यालादारी मजदुर, दीर्घरोगी, केही जातीय समुदाय, निरक्षर दलित, सहरीवासी, उच्च वर्ग र सरकारी कर्मचारीहरूले कम औषधि सेवन गर्ने गरेको सर्वेक्षण क्रममा देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए।

“जान्ने बुझ्नेहरूले नै औषधि सेवन गरेको देखिँदैन”, उनले भने, “जसका कारण झापामा ११औँ पटक औषधि सेवन अभियान चलाउँदा पनि सफल हुन सकेको छैन।” हात्तीपाइले रोगविरुद्धको अभियानमा बर्सेनि ठूलो रकम खर्च हुने गरेको छ।

नेपालमा यस पटक १५ वटा जिल्लामा आमऔषधि सेवन अभियान सञ्चालन हुँदैछ। यसमा सरकारले रु दुई अर्ब लगानी गरेको प्रमुख बाराकोटीले बताए। झापाका १५ वटा पालिकामा यो अभियानअन्तर्गत रु एक करोड ५० लाख आएको उनले जानकारी दिए।

झापामा १२औँ पटक फागुन ११ गतेदेखि दुई सातासम्म हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन हुँदैछ। जिल्लामा नौ लाख नौ हजार पाँच सय ३७ जनालाई औषधि सेवन गराउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए।

गत वर्ष झापामा ८५।९१ प्रतिशतले औषधि सेवन गरेको तथ्याङ्क रहे पनि औषधि सेवन गर्ने ५० प्रतिशतभन्दा कम रहेको कार्यालय प्रमख बारोकाटीको भनाइ छ। “औषधि खानेले खाइरहेका छन्, नखानेले नखाएको नखाई”, उनले भने, “जसले गर्दा अभियान सफल हुन सकेको छैन।”

जिल्लामा अघि खुवाइँदै आएको दुईवटा औषधि सेवन गराइँदै आएकामा यस पटक एउटा औषधि थपेर खुवाउन लागिएको छ। यसअघि दुईवटा औषधि कम्तीमा पाँच वर्षसम्म औषधि सेवन गर्नुपर्नेमा औषधि थप हुँदा दुई वर्ष मात्र औषधि सेवन गर्दा हुने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए।

यस पटक उचाइका आधारमा एकजनाले नौवटासम्म औषधि सेवन गर्नुपर्नेछ भने स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गराइने उनले बताए। औषधि सेवनका लागि करिब सात सयजना स्वास्थ्य स्वयंसेवक परिचालन हुनेछन्।

झापामा सन् २००१ मा सङ्क्रमण दर २४ प्रतिशत थियो भने हाल एक दशमलव ४७ प्रतिशतमा झरेको छ। नेपालका ६४ जिल्ला हात्तीपाइले रोगको जोखिमा रहेको छ भने ३० हजार हात्तीपाइले रोगबाट सङ्क्रमित रहेका छन्। सरकारले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारणको लक्ष्य लिएको छ।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको अध्यक्षतामा भएको बैठकले औषधि सेवनका लागि जिल्लाका सबै राजनीतिक दललाई आह्वान गर्न लगाउने, जिल्ला प्रशासन कार्यालय मातहत सबै सरकारी कार्यालयमा औषधि सेवनको पत्राचार र निर्देशन दिने, जिल्लाका सबै सार्वजनिक तथा निजी विद्यालयमा औषधि सेवनका लागि कार्यक्रम गर्ने, जिल्लाका औषधि व्यवसायीलाई अभियानमा आबद्ध गराउनेलगायतका निर्णय गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *