परमाधिपति चयन : प्रधानमन्त्रीको सेनासँग रहस्यमय गुहार

गत साता बिचित्रको समाचार सुन्नु र देख्नु पर्‍यो। सुरक्षा ब्रिफिङमा भावी राष्ट्रपतिबारे चर्चा गरिएको भन्दै नेपाली संचारमाध्यमहरुले प्राथमिकताका साथमा समाचार पस्किए।

प्रधानसेनापतिले राष्ट्रिय सुरक्षा बिषयमा ब्रिफिङ गर्न आयोजना गरेको बिशेष बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बोलाएर राष्ट्रिय सहमतिको आधारमा नयाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्नेमा जोड दिए।

यो समाचारले ध्यानाकर्षणमात्र होइन, धेरैको ध्यान भङ्ग हुने गरी सातोपुत्लो उडायो।

रोचक पक्ष

आज पर्यन्त राष्ट्रिय प्राथमिकतामा नपरेको अथवा आफ्नै सरकारको सुराकी र बाधक ठानिएको राष्ट्रिय सुरक्षा परिषद (रासुप) को एकलौटी गोप्य बैठक हुने गरेकोमा यसपटक प्रधानमन्त्रीले क्रमभङ्ग गरे। आफ्ना विपक्षी र विरोधीलाई यो सम्बेदनशील बैठकमा उनले सहभागी गराए।

बिपक्षीहरुलाई समाबेश गर्नुको उद्देश्य स्पष्ट थियो- नेपाली सेनाको परमाधिपतिको निर्वाचन राष्ट्रिय सहमतिका आधारमा होस्। र, आफ्ना परमाधिपति चयनमा राष्ट्रिय सहमतिको माग नेपाली सेनाले पनि राखिदियोस्। उनले प्रधानसेनापतिको साथ र सहयोग खोजेको भित्री आशय प्रष्टै थियो।

आफ्ना पालामा नबोलाइएको र वर्तमान प्रधानमन्त्रीले बोलाएको यो बैठकमा घिस्रिएर लतारिएर पूर्व प्रधानमन्त्रीहरु जानु अर्को अनौठो आश्चर्य थियो। अथवा, काँधमा कसैको जुवा भिरेर बाँझो फुटाउनु परेको जस्तो देखिन्थ्यो।

के राष्ट्रिय पोशाकमा सजिएका अनुभवी प्रधानमन्त्रीले बिगतबाट पाठ सिकेर सुध्रिने, साहसिक हुने सुशासन दिने सपना पालेकै हुन्? राष्ट्रपति अर्थात् नेपाली सेनाको परमाधिपति चयनमा विदेशी शक्तिको चासो अति देखिएकोबारे निरन्तर समाचारहरु प्रवाह भइरहेका छन्।

सो शक्तिले वर्तमान प्रधानमन्त्री दाहाललाई आफ्नो मोहपासमा पारेको र उनीहरुकै इशाराबमोजिमको राष्ट्रपति चयनका लागि प्रधानमन्त्री दाहाल तयार भएको कुराले अनेकौं शंकाहरु जन्माएको छ।

वर्तमान यो नाटक र आलंकारिक राष्ट्रपतिको निर्वाचन राष्ट्रियभन्दा अन्तर्राष्ट्रिय चासो एवं चलखेलको बिषय हुनु र संगठन प्रमुखलाई हारगुहार माग्नुका पछाडि धेरै अर्थ लुकेका छन्। ब्याख्या र अर्थ जसरी गरेपनि र जे लगाएपनि चुरो कुरा तीन वटा छन्

यही शंकाको सन्दर्भमा नेपाली सेनाका मुखबाट राष्ट्रिय सहमति हुन आवश्यक रहेको कुरा ओकल्न लगाउने प्रपञ्च हो भने त्यो मुलुकका लागि घातक विषय हो।

बाह्यशक्तिको इशारामा सबैलाई जोक्कर बनाएर आफू हिरो हुन खोजेका हुन् कि ?  मुलुकलाई असफलसिद्ध घोषणा गरेर अन्यत्र बिलय गराउने उपयुक्त पात्रको खोजी हो यो नाटक? अनुत्तरित प्रश्न असंख्य छन्।शंका झन् कति हो कति?

विदशीको इशारा र योजना फत्ते गर्न नभई राष्ट्रिय हितको शुद्ध भावना हो भने त्यो अलग कुरा हो तर यो कुरा छुट्टिन धेरै दिन कुर्नु पर्ने छैन किनकि राष्ट्रपतिको निर्वाचनको समय अव धेरै बाँकी छैन।

एउटा कुरा सत्य हो, सवाल, शंका, सत्यतामा सामञ्जस्यता र सन्तुलन पटक्कै छैन। जुन मुलुकको लागि दुर्भाग्य हो। यो सत्ता शक्ति हत्याउने रहस्यमय नाटक र छलकाे फगत् प्रपञ्च मात्र हो कि? बिगतका अकल्पनीय नाटकहरु जस्तै।

विदेशी शक्तिको किन यति धेरै चासो र चलखेल राष्ट्रपति चयनका लागि? नेपालका राष्ट्रहित स्वयं नेपालीले बाहेक अरुबाट सम्भव छैन भन्ने बुझ्नु जरुरी छ। विदेशीले त सबैभन्दा पहिला आफ्नै स्वार्थ हेर्ने हो।

कुनै अर्को देशले आफ्नो स्वार्थ छोडेर अर्को देशको राष्ट्रिय स्वार्थ हेरिदिएको इतिहास आजसम्म पाइएको छैन संसारमै। नेपालको हितको खातिर हो भने यति चर्को चलखेल किन आवश्यक थियो? स्वाभाविकरुपमा निर्वाचन हुन दिएर त्यसको परिणामलाई सहर्ष स्वीकार गर्न के ले बाधा पारेको होला?

यसको उत्तर कठिन छैन। विदेशी शक्तिले आफ्नो स्वार्थअनुकुलको व्यक्ति नेपालको राष्ट्रपति, नेपाली सेनाको परमाधिपति होस् भन्ने चाहेको छ त्यसैले उसले अनेक हत्कण्डा अपनाएको छ, चलखेल गरेको छ र नेपाली नेताहरुलाई नचाएको छ, उठबस गराएको छ।

राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाका छलफलमा विपक्षी दलको नेता सामेल गर्न पहिलेदेखि जोडदार माग गर्दै आएको थिएँ। रासुपलाई अराजनीतिक, निर्भिक, स्वतन्त्र एवं स्वाभिमान राख्न र राष्ट्रिय इण्टेलिजेन्सलाई माफिया कब्जाबाट जोगाएर राष्ट्रिय हितका खातिर सदुपयोग गर्न पनि जोड दिँदै आएको थिएँ।

ढिलो भएपनि एक्कासी आफ्नो अपेक्षा र माग पूरा भएको देख्दा मुलुकमा कतै राजनीतिक स्थिरता, स्थायी सरकार र सुशासन आउन लागेको त होइन भन्ने आशा पलाउनु पाल्नु सायद अन्यथा होइन होला। यो आशा अपेक्षा सरासर धोका हो भन्ने मित्रहरुको बाहुल्यता भएपनि मेरो मनमा सुधार र सकरात्मक परिवर्तनको आशाको दियो बलेको छ।

राजनीतिकरणको शिकार सेना

आफूलाई अराजनीतिक, ब्यावशायिक र अनुसासित राष्ट्रिय पहरेदार भन्न गर्व गर्ने सैनिक संगठन लगातार राजनीतिक हस्तक्षेपको शिकार हुँदै आएको छ।

वर्तमान यो नाटक र आलंकारिक राष्ट्रपतिको निर्वाचन राष्ट्रियभन्दा अन्तर्राष्ट्रिय चासो एवं चलखेलको बिषय हुनु र संगठन प्रमुखलाई हारगुहार माग्नुका पछाडि धेरै अर्थ लुकेका छन्। ब्याख्या र अर्थ जसरी गरेपनि र जे लगाएपनि चुरो कुरा तीन वटा छन्-

पहिलो, नागरिकता र प्रमाणपत्र जे भएपनि चरित्र बिदेशीको पक्षपोषण गर्ने कलाकारलाई यो सर्वोच्च पदमा आसनग्रहण गराउन खोजिँदै छ। जसले स्वदेशीभन्दा बिदेशी स्वार्थलाई निर्वाधरुपमा पूरा गरिदियोस्। बिदेशी हित र स्वार्थका विधेयकमा बिना प्रश्न र बिना बिलम्ब लालमोहर लगाइदियोस्।

दोश्रो, नागरिकता विधेयकमा बिगतको जस्तो नेपाली सेना तगारो नबनिदियोस् र राष्ट्रिय हित तथा राष्ट्रिय सुरक्षाको लक्ष्य, दूरदृष्टिलाई सेनाले तिलाञ्जली दिएर उसले राजनीतिक गुट उपगुटको रुप धारण गरोस्। अथवा, तिनलाई साथ सहयोग टेको दियोस्।

यो नाटकको अन्त्यमा लुकेको तेश्रो अर्थ झन् खतरा छ। ठूला दल र पाका पुराना अनुभवी नेताहरुप्रति गुम्दै गएको जनविश्वास, राष्ट्रिय भरोसा र अन्तर्राष्ट्रिय विश्वासको प्रतिकूल परिस्थितिमा आफू अनुकूलको परमाधिपति छानेर परिवर्तन र सुधारको नाममा सैनिक शासनको अन्तिम पहल र प्रयास गर्ने।

यो बिगतका हरेक असफल र अलोकप्रिय प्रधानमन्त्रीको भित्री चाहना हो। अहिले एक्कासी यो महत्वकांक्षा खुलम्खुला प्रकट हुन थालेको देखिन्छ।

गणतान्त्रिक तेश्रो राष्ट्रपतिको प्रयोग गरेर तीब्र असफलउन्मुख मुलुकलाई कि वार कि पार गर्ने गुह्य बद्नियतले नेपाली सेना र उसको परमाधिपति दुबैलाई एउटै खाल्डोमा हाल्ने षड्यन्त्रसँग सावधान हुन जरुरी छ।

कहिले बिमस्टेक कहिले एसपीपीको मतियारको ट्याग लाग्दै र त्यसबाट आफूलाई चोख्याउदै हिँडेको नेपाली सेनालाई पुनः राजनीतिक चक्रब्यूहको जालभित्र पार्न खोजिँदै छ। उसको अराजनीतिक र ब्यावसायिक छविलाई ध्वस्त पार्न खोजिँदै छ।

मुलुकको न्याय क्षेत्रभन्दा अगाडिदेखि नै विग्रह र ध्वस्त पार्न खोजिएको नेपाली सेना आजसम्म जोगिएको भए पनि अब आफ्ना बिरुद्ध ओछ्याइएका चौतर्फी बिषालु धरापबाट जोगिन नेपाली सेनालाई कठिन छ।

घिनलाग्दा दृश्यहरु

मुलुकमा यति धेरै लोभी पापी दरिद्रको ताँती इतिहासमा कहिल्यै देखिएको थिएन। राष्ट्रपति हुन पाऊँ भनेर गोजीमा निवेदन बोकी बालुवाटार धाउने लोभी पापीलाई देखेर कति उदेक लागेको होला बाटो बिराएको र बितृष्णाले बिदा दिएको राष्ट्रिय राजनीतिलाई।

प्रधानमन्त्री र प्रधानसेनापतिको फेरो समातेर कुर्सी ताक्ने ती निरीह चरित्रहरुलाई कतै जमिनबाट पशुपतिनाथले र आकासबाट प्रकृतिका उपहार पंक्षीहरुले नदेखून्। राजनीतिक र गैरराजनीतिक कित्ताका उम्मेदवारहरुको प्रतिश्पर्धा र दाबी जग हँसाउने किसिमको छ।

एउटा कुरा सत्य हो, मुलुकमा नैतिकता, राष्ट्रिय मूल्य मान्यता र त्यागको भावना हराएको छ। लोभ, पाप, दरिद्रता र बिदेशभक्तिले जरा गाडेको छ। लैनचौर गुहार्ने उम्मेदवारहरुको चर्तिकला झनै हेरिनसक्नु छ।

बिगतका हरेक असफल र अलोकप्रिय प्रधानमन्त्रीको भित्री चाहना हो। अहिले एक्कासी यो महत्वकांक्षा खुलम्खुला प्रकट हुन थालेको देखिन्छ। गणतान्त्रिक तेश्रो राष्ट्रपतिको प्रयोग गरेर तीब्र असफलउन्मुख मुलुकलाई कि वार कि पार गर्ने गुह्य बद्नियतले नेपाली सेना र उसको परमाधिपति दुबैलाई एउटै खाल्डोमा हाल्ने षड्यन्त्रसंग सावधान हुन जरुरी छ।

भावी राष्ट्रपति बाह्यशक्तिको गोटी अथवा बुख्याचा हुने हो वा प्रधानमन्त्रीले आफ्नो स्वविवेक, स्वनिर्णय, कुटनीतिक कला प्रयोग गरेर स्वच्छ छवि भएको राष्ट्रवादी नेपाली नागरिकलाई पदास्थापना गर्ने हुन्? त्यो हेर्न बाँकी छ। बल प्रधानमन्त्रीको कोर्टमा छ।

यो धराप र धर्मसंकटको घडीमा प्रधानसेनापतिले चट्टानी अडान लिनुपर्दछ र भन्नुपर्दछ कि क, ख, ग, घ जो सुकै होस्, राजनीतिक वा गैरराजनीतिक जे सुकै होस् राष्ट्रपति विशुद्ध राष्ट्रवादी नेपाली हुनुपर्दछ।

राष्ट्रिय हित, स्वार्थ र राष्ट्रिय सुरक्षाको मर्म र भावनालाई शिरोपर गरेर सुशासनको जग बसाउन योगदान गर्न सक्ने खाँटी नेपाली हुनुपर्दछ। परमाधिपति भइसकेपछि दलीय भास र दुर्गन्धबाट माथि उठेर सबैलाई स्वीकार्य राष्ट्रिय अभिभावकत्व ग्रहण गरिदिनुपर्दछ।

चाँदीको घेरा

मुलुक राजनीतिक, आर्थिक, कुटनीतिक फ्रन्टमा असफलसिद्ध भइरहेको वर्तमान परिप्रेक्षमा सम्पूर्ण युवापंक्ति चिन्तित् छन्। लोकतन्त्रको स्थापनादेखि आजसम्म मुलुकले शान्ति र समृद्धिको बाटो पहिल्याउन नसकेको प्रमुख कारण मुलुक माफियाबाट संचालित हुनु हो।

मुलुक न राष्ट्रिय राजनीतिले चलाएको छ न राष्ट्रवादी नेतृत्वले। मुलुक केवल माफिया दलाल, बिचौलिया र जघन्य अपराधीहरुको गठजोड र विदेशीको इशारामा चलेको छ। आन्तरिक सत्ता र बाह्य शक्तिलाई सिकाउने चलाउने उफार्ने काम बिचौलियाहरुबाट भइरहेको छ।

मुलुकमा माफियाले कुन गहिराइसम्म जरो गाडेको छ भन्ने कुरा हालैको रवि प्रकरणले प्रमाणित गरिदिएकै छ। कालो बादल मडारिरहेको आकाशमा परिवर्तन, सुधार र सुशासनको तीब्र चाहना र माग चाँदीको घेरा हो। इनफ् ईज इनफ् र नट् एगेन चाँदीको घेराका प्रतिबिम्ब हुन्।

प्रधानसेनापतिले चट्टानी अडान लिनुपर्दछ र भन्नुपर्दछ कि क ख ग घ जो सुकै होस्, राजनीतिक वा गैरराजनीतिक जे सुकै होस् राष्ट्रपति विशुद्ध राष्ट्रवादी नेपाली हुनुपर्दछ। राष्ट्रिय हित, स्वार्थ र राष्ट्रिय सुरक्षाको मर्म र भावनालाई शिरोपर गरेर सुशासनको जग बसाउन योगदान गर्न सक्ने खाँटी नेपाली हुनुपर्दछ। परमाधिपति भइसकेपछि दलीय भास र दुर्गन्धबाट माथि उठेर सबैलाई स्वीकार्य राष्ट्रिय अभिभावकत्व ग्रहण गरिदिनुपर्दछ।

प्रकृति र प्रबृति दुवैले सुशासन र समृद्धिको जोडदार माग गरेका छन्। जुन वर्तमान प्रधानमन्त्रीले नबुझ्ने कुरै भएन। तर सुधारको अभियान राष्ट्रिय पोशाकको पहिरनमा सीमित रहन्छ कि राष्ट्रब्यापीरुपमा अगाडि बढ्छ केही दिनमा त्यो प्रष्ट हुनेछ। धिमागतिको सुधार काम छैन।

त्यो मतदाता भुलाउने छल मात्र हुनेछ। कुशासनबाट सुशासनमा रुपान्तरित हुन आफूबाट क्रमभङ्ग प्रारम्भ हुनुपर्दछ। उहाँका शब्द सापटी लिदा छलाङ मार्नुपर्दछ। पोशाकमा मारे जस्तै।

तर बिडम्बना भन्नुपर्दछ, राष्ट्रपतिको कुर्सी ताक्नेहरु उनै इतिहासका पराजित, तिरस्कृत र असफल म्याद गुज्रिसकेका पात्रहरु छन्। अस्पतालको शैयामा डाक्टरको निगरानीमा विश्राम लिएर नियमित ओखती सेवन गर्नुपर्नेहरु। मातृमूभिको दुर्भाग्य।

आशा गरौं शारीरिक र मानसिकरुपमा चुस्त, आर्थिकरुपमा इमान्दार र अनुशासित, नैतिकरुपमा सरल, स्वाभिमान र त्यागी राष्ट्रभक्त, प्रकृतिप्रेमी, जनताको सच्चा सेवक राष्ट्रपति मुलुकले पाउनेछ।

सैनिकको अपेक्षा

द्वन्द्व, संक्रमणकाल हुँदै, स्थायी शान्ति स्थापनार्थ असल मन र इमान्दारपूर्वक लडाकु समायोजनलाई सफल पारेर देखाएको सैनिक संगठनको एक मात्र लक्ष सुशासन मार्फत समृद्धि हो।

समायोजन लगत्तै महाभूकम्पको उद्धार राहतमा होमिएको सेनाले कोभिड महामारीमा देखाएको उद्धार त्याग र समर्पणले सिपाहीको असीम जनसेवा र राष्ट्रभक्तिलाई जाहेर गर्दछ।

समायोजन पछिको एकढिका संगठनले विश्व शान्ति स्थापनार्थ पुर्‍याएको योगदानले समग्र मुलुकको छबि झन् माथि उठाएको छ। इतिहास र सम्पदा रक्षा लगायत तराईमा शून्य सिकारदेखि हिमालमा फोहोर संकलनको संरक्षण योगदानले मुलुकको नाम मान सान बढेको छ।

सडक लगायत बिकास निर्माणमा ज्यान जोखिममा राखेर सिपाहीले पुर्‍याएको योगदानले देखेको एक मात्र सपना समृद्धि नै हो। शिक्षा, स्वास्थ्य, रोजगारी, उद्धार, राहत, जनहितका काम र सैनिक कुटनीतिक मार्फत विदेश सम्बन्धमा पुर्‍याएको योगदानको अन्तिम लक्ष पनि समृद्धि हो।

समृद्धिको बाटो सुशासन हो। नबोल्ने सिपाहीको गहिरो सपना र चाहना सुशासन हो। अझ समायोजन भई आउने पूर्ब लडाकुको लागि सुशासन अनिवार्य शर्त हो। आम जनताले चाहेको मागेको सुशासन सिपाहीहरुको झन् ठूलो माग हो। सुशासनमा उनीहरुले आफ्नो पसिना र रगतको मूल्य देखेका छन्।

आफ्नो जस्तै नैतिक अनुशासन र इमान्दार त्याग राजनीतिक नेतृत्व र सरकारसँग अपेक्षा गर्नु उनीहरुको स्वभाविक हक र अधिकार हो।
सैनिक नेतृत्वले जवानहरुलाई सम्बोधनमा सुशासन र समृद्धिको आश्वासन दिएको दशकौं भइसक्यो।

ठग्ने, ढाँट्ने, झुक्याउने, चोर्ने (भ्रष्टाचार) अनैतिक र अनुशासनहीन चरित्र प्रति सिपाहीको शून्य सहनशील मनोबिज्ञानलाई गम्भीररुपमा लिन राजनैतिक र सैनिक नेतृत्वलाई बिलम्ब भइसकेको छ। तसर्थ, राष्ट्रपति चयनमा र सत्ता संचालनमा खेलवाड तथा कुशासनको निरन्तरताले सिपाहीको धैर्यताको बाँध नफुटोस्।

सिपाहीको मनाबिज्ञान मुखरित हुने संगठन प्रमुखबाट मात्र हो। संगठन प्रमुखले स्थायी शान्ति र समृद्धिको लागि राष्ट्रिय एकता, राजनीतिक स्थिरता, बित्तीय अनुशासन र सुशासन छिटो देउ भनेर सरकारलाई माइकिङ गर्न जरुरी छ।

दुई दुईवटा परमाधिपतिको शासन अनुभव बटुलेको संगठनले तेश्रो परमाधिपतिलाई अराजनीतिक राष्ट्रिय छवि धारण गरिदिन अनुरोध गर्न जरुरी छ।

सच्चा प्रकृति र संरक्षणप्रेमी भै प्रकृति संरक्षणको अभिभाकत्व स्वस्फूर्त ग्रहण गरेर अन्तर्राष्ट्रिय प्रकृति संरक्षण नेतृत्वको हैसियतमा दर्ज हुने मार्ग र अवसर पनि उहाँलाई देखाईदिनु बान्छनीय हुनेछ।

अन्तिम तर ज्यादै महत्वपूर्ण र संवदेनशील सुझाव सैनिक नेतृत्व आफैं राष्ट्रिय अन्तर्राष्ट्रिय माफियाहरुको एम्बुसबाट सुरक्षित रहन जरुरी छ। निश्पक्ष, तटस्थ र पारदर्शी चरित्रले सुसज्जित भइराख्न जरुरी छ। आफू नितान्त अराजनीतिक रहेर संगठनलाई राजनीतिक ग्रहण र हस्तक्षेपबाट मुक्त राख्न जरुरी छ।

अन्त्यमा, प्रधानमन्त्रीको निर्बिकल्प परिवर्तन, सुधार र सुशासनको संकल्प र प्रतिबद्धता साकार होस्। सिपाहीको सपना पूरा होस्। बिदेशी शक्ति, माफिया र ज्याेतिषीको मन्त्र दबाबबाट होइन इमान्दार घरेलु पहल प्रयासबाट नेपाली सेनाले गर्व गर्न लायक राष्ट्रवादी नेपाली परमाधिपति प्राप्त गरोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *