सरकार र यातायात मजदुरबीच वार्ता जारी

डिसी नेपाल
२ फागुन २०७९ ९:४०

काठमाडौं। सरकार र यातायात मजदुर नेताहरुबीच वार्ता सुरु भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेताहरुसँग वार्ता सुरु भएको हो।

हिजो बालाजु क्षेत्रमा भएको आगजानी र तोडफोडको घटना भएको थियो। तीनवटा मजदुर संगठनले आज सवारी साधान नचलाउने निर्णय गरे पछि उनीहरुलाई बार्तामा बोलाएको हो।

मजदुर संगठनको हडताल पछि काठमाडौं उपत्यकामा सवारी साधान कमै मात्रा चलेका छन । जसका कारण यात्रुहरु अलपत्र अवस्थामा छन्।

यातायात व्यवसायीले नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्किङ’ गर्न लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदुरले भने त्यसको विरोध गरेका छन ।

विसं २०५६ मा काठमाडौँ महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेर काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित विष्णुमती किनारामा राष्ट्रिय बसपार्कका रूपमा सञ्चालनमा ल्याएको थियो।

उक्त बसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्नेबारे यातायात व्यवसायीहरूको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग सम्झौता गरेर बसहरू देशका विभिन्न भागमा ओहोर–दोहोर गर्दै आएका छन्।

सार्वजनिक ठूला बस नयाँ बसपार्कबाट सञ्चालनमा आए पनि माइक्रोबस र केही बस भने अहिले नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडकबाट सञ्चालन हुँदै आएका छन्।

पछिल्लो समय नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडक विस्तार हुने क्रममा रहेपछि त्यहाँबाट सञ्चालन हुँदै आएका बस र माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे व्यवसायीसँग छलफल भइरहेको बेलामा केही व्यवसायी तथा मजदुर सडकबाट बस सञ्चालन गर्न पाउनुपर्ने अडान राखेर आन्दोलनमा उत्रिएका जनाइएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले एक विज्ञप्ति जारी गरी सोमबार नयाँ बसपार्कमा घटेको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले समस्याको समाधान गर्न सबै पक्ष संयमित भई आ–आफ्नो ठाउँबाट पहल गर्न अपिलसमेत गरेका छन्।

यातायात व्यवस्था विभागले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै पूर्वघोषित तथा अघोषित सबै मागबारे छलफलबाट समाधान गर्न पनि आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *