सिन्धुलीका बहुमूल्य जडीबुटी मासिँदै

डिसी नेपाल
४ फागुन २०७९ १०:४५

सिन्धुली । स्थानीयस्तरमा भएका बहुमूल्य जडीबुटी मासिँदै गएका छन् । संरक्षण र प्रवद्र्धनमा स्थानीय तह तथा सरोकारवाला निकायले ध्यान नदिँदा जडीबुटी मासिँदै गएका हुन् ।

वनजङ्गल तथा गाउँघरमा उपलब्ध जडीबुटी सही ढङ्गले सङ्कलन र प्रशोधनको अभावमा उपयोगविहीन बनेका छन् । जडीबुटी सङ्कलन र प्रशोधनका लागि सीप तथा प्रविधिको अभावका साथै स्थानीयमा ज्ञान र चेतनाको पनि कमी भएको कमलामाई नगरपालिका–५ सिलामेकी भीमकुमारी थापामगर बताउँछन् । सिन्धुलीमाडीमा ३० वर्षदेखि जडीबुटी बेच्दै आउनुभएकी उनी भन्छन्, “बहुमूल्य जडीबुटी गाई, भैँसीलाई घाँस र स्याउलाको रुपमा प्रयोग भइरहेका छन् । महाभारत क्षेत्रमा सिस्नो, चिराइतो, पाखनभवेद, भुर्केस, हर्रो, बर्रोलगायत जडीबुटी त्यसै खेर गइरहेका छन् ।”

जिल्लामा भएका जडीबुटी सङ्कलन र प्रशोधन नहुँदा महँगो मूल्यमा बाहिरीबाट किनेर बिक्री गर्नुपरेको थापामगर बताउँछन् । स्थानीय जडीबुटीको महत्व बुझाउन नसक्दा र यससम्बन्धी स्थानीयमा ज्ञानको अभाव हुँदा जडीबुटी संरक्षणविहीन अवस्थामा छन् । महाभारत तथा चुरे क्षेत्रमा प्रशस्त मात्रामा पाइने जडीबुटी जथाभावी सङ्कलन गर्दा बीउ नै मासिँदै गएको छ । जथाभावी जडीबुटी सङ्कलन गरी सदरमुुकाम सिन्धुलीमाढीसम्म ल्याई दुई÷चार सय आम्दानी लिए पनि व्यवस्थितरुपमा सङ्कलन भने हुन सकेको छैन ।

“स्थानीय तह र सम्बन्धित निकायले जडीबुटी सङ्कलन, प्रशोधन र संरक्षणमा ध्यान दिनसके आयस्तर बढाउन टेवा पुग्ने थियो”, उनले भने । सिन्धुली प्राकृतिक जडीबुटी र वनस्पतिले धनी छ । उत्तरी महाभारत शृङ्खला, चुरे, भित्री मधेस तथा बेँसी र खोच क्षेत्रमा भौगोलिक तथा वातावरणअनुसार फरक–फरक प्रजातिका जडीबुटी पाइन्छन् । यसको अव्यवस्थित सङ्कलन र चोरी तस्करी हुने गरेको छ ।

डिभिजन वन कार्यालयका अनुसार जिल्लामा एक सय तीसभन्दा बढी प्रजातिका बहुमल्य जडीबुटी पाइन्छन् । साल, खयर, बर्रो, जामुन, कर्मा, चाप, तेजपातजस्ता महत्वपूर्ण रुख प्रजाति र चिराइतो, जिवन्ती, पाखनवेद, अमला, हर्रो, टिमुर, सिकाकाइ, कुरिलो, लोक्ता तीतेपातीजस्ता जडीबुटी महाभारत शृङ्खलाका २५ बढी ठाउँमा पाइन्छन् । यसको निकासी तथा प्रशोधनमा राज्य र निजी क्षेत्रले चासो नदिँदा बर्सेनि मूल्यवान् जडीबुटी खेर जाने गरेको छ ।

स्थानीय तहसँग जडीबुटी संरक्षण र व्यवस्थापनसम्बन्धी कुनै योजना तथा कार्यक्रम छैन । औषधिजन्य चिराइतो, सिनकौली, लोठसल्लाजस्ता विभिन्न प्रजातिका जडीबुटी तथा वनस्पति गोलञ्जोरमा प्रशस्त मात्रामा पाइने भए पनि यसको उचित सङ्कलन र व्यवस्थापन अझैसम्म हुन नसकेको गाउँपालिका अध्यक्ष शङ्करराज बराल स्वीकार्छन् । जिल्ला समन्वय समिति, सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले जडीबुटीसम्बन्धी चेतना स्थानीयवासीसम्म पु¥याउन नसकिएको बताउनुभयो । ज्ञानको अभावमा आफ्नो घर, आँगनमा भएका औषधिजन्य जडीबुटी खेर जाने गरेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *