वडाको सिफारिसपछि मात्र बिहे

डिसी नेपाल
४ फागुन २०७९ ११:३५
700
Shares

सुर्खेत। कपुरकोट गाउँपालिका सल्यानले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ। गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिएका छन्।

बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था  गाउँसभाबाट पारित भइसकेको उनको भनाइ छ।

उनले जुनसुकै उमेर समूहका पालिकावासीले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने बताए। पालिकाले गर्भवती महिलाको अवस्था बारे बुझ्दा १२० जना गर्भवती पहिलो गर्भ परीक्षण गराउन आएकोमा ३५ जना २० वर्षमुनिका रहेको पाइएपछि यो नियम लागू गर्न बाध्य भएको उनको भनाई छ।

बालविवाह हुनुमा मुख्य भूमिका अभिभावकको हुने भएकाले बालविवाह अस्वीकार गर्ने अभिभावकलाई सम्मान गर्ने पालिकाको योजना रहेको उनको भनाइ छ। विद्यालय उमेरका केटाकेटीको भागेर विवाह गर्ने चलन रोक्न विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने बताउँदै उनले भने, ‘बालविवाह गर्ने गराउनेलाई कानुनअनुसारको कारबाही छँदै छ। बालविवाह गर्नेका अभिभावकलाई कालोसूचीमा राखेर पालिका र वडा कार्यालयबाट हुने सिफारिस र पञ्जीकरणमा दोब्बर शुल्क लिन्छौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *