आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

डिसी नेपाल
४ फागुन २०७९ ११:४३

बारा। आफ्नै आमाको हत्या गरेको आरोपमा निजगढ प्रहरीले रतनपुरबाट छोरालाई पक्राउ गरेको छ। निजगढ नगरपालिका- १२ बुङ्गजोरका ४३ वर्षीय सनी लामालाई ७१ वर्षीया आमा कान्छिमाया घलानको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको हो।

कान्छिमायाको हत्यापछि गाउँ छोडेर भागेका सनीलाई प्रहरीले हेटौडा उपमहानगरपालिका-१ स्वर्गद्वारीस्थित आफन्तको घरबाट मंगलवार राति नियन्त्रणमा लिएको प्रहरी निरीक्षक संन्जिव ओलीले जानकारी दिए।

३-४ दिनदेखि घरबाट बेपत्ता बनेकी कान्छिमायाको शव स्थानीयले मंगलबार दिउँसो घर नजिकैको बुङ्गजोर खोला छेउमा रुखको स्याउलाले छोपेको अवस्थामा फेला परेपछि प्रहरीमा खबर गरेका थिए। शंकास्पद अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

घटनापछि छोरा सनी पनि गाउँबाट बेपत्ता बनेको र अनुसन्धानको क्रममा उनलाई नियन्त्रण लिएको प्रहरीले बताएको छ। सढेर कुहिएको अवस्थामा रहेको शवको प्रकृति हेर्दा ५/७ दिनअघि नै हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।

पोष्टमार्टमको लागि शव प्रादेशिक अस्पताल कलैया पठाइएको र घटनाको थप अनुसन्धान भइरहको निरीक्षक ओलीले जानकारी दिए। पक्राउ परेका लामालाई प्रहरीले जिल्ला अदालत बारामा पेस गरेर अनुसन्धानको लागि म्याद लिएको छ।

मृतक घलानको श्रीमानसहित २ छोरा छन्। श्रीमान र जेठो छोरा जिल्लाकै जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरामा बस्न थालेपछि घलान कान्छो छोरा सनीसँग बस्दै आएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *