भारतीय मूलकी महिलाले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई चुनौती दिने

डिसी नेपाल
४ फागुन २०७९ १५:१४

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनाव २०२४ रोचक हुन गइरहेको छ। भारतीय मूलकी निक्की हेलीले रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्पलाई चुनौती दिने भएकी छिन् । निक्कीले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो दाबी पेश गरेकी छिन् ।

साउथ क्यारोलिनामा दुई पटक गभर्नर भइसकेकी ५१ वर्षीया निक्की हेलीले सार्वजनिक गरेको भिडियोमा म निक्की हेली हुँ र म राष्ट्रपतिको चुनाव लड्दै छु भनी बताइन् । उनले भनिन् ‘नयाँ पुस्ताले नेतृत्व गर्ने बेला आएको छ । देशलाई आर्थिक रूपमा सुदृढ गर्ने, हाम्रो सिमानाको रक्षा गर्ने र देशलाई थप सशक्त बनाउने हाम्रो गौरव र लक्ष्य हो । ‘

आफूलाई भारतीय आप्रवासी आमाबाबुको गौरवशाली छोरी भनेर वर्णन गर्ने हेलीले भिडियोमा आफू साउथ क्यारोलिनामा हुर्केको र बलियो र गौरवशाली अमेरिकामा विश्वास गरेको बताएकी छिन् ।

डोनाल्ड ट्रम्पको कार्यकालमा हेलीलाई संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत नियुक्त गरिएको थियो । उनी अमेरिकी प्रशासनमा क्याबिनेट स्तरको पदमा नियुक्त हुने पहिलो भारतीय अमेरिकी थिइन्। उनले बुधबार साउथ क्यारोलिनाको चार्ल्सटनमा हुने सम्बोधनमा चुनावी अभियानको खाका प्रस्तुत गर्नेछिन् ।

उनी रिपब्लिकन पार्टीबाट पहिलो दावेदार हुन्, जसले ट्रम्पलाई चुनौती दिने आधिकारिक रूपमा दाबी पेश गरेकी छिन्। उनीहरु बाहेक फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस, पूर्व उपराष्ट्रपति माइक पेन्स, साउथ क्यारोलिनाका अमेरिकी सिनेटर टिम स्कट, न्यु ह्याम्पशायरका गभर्नर क्रिस सुनुनु र अर्कान्ससका पूर्व गभर्नर आसा हचिन्सन पनि दौडमा सामेल हुने अपेक्षा गरिएको छ । अमेरिकामा नोभेम्बर ५, २०२४ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *