विभिन्न स्थानबाट अबैध लागूऔषधसहित १५ जना पक्राउ

डिसी नेपाल
५ फागुन २०७९ १४:३९

काठमाडौँ। देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन्। धनुषाकाे जनकपुर उपमहानगरपालिका-२३ बेलापुलबाट नियन्त्रित लागुऔषध कोरेक्स एकसय एमएलको ९९ पिस र नाईट्राभेट ६ सय ट्याब्लेटसहित भारतीय नागरिक २० वर्षीय निजान नदाफ समेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी जिरोमाईलबाट  खटिएको प्रहरीले बीआर ३२ एच १४६५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

कञ्चनपुरकाे भिमदत्त नगरपालिका-३ भाँसीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ ग्राम ५६ मिलिग्राम र  खैरो हेरोईन जस्तो देखिने पदार्थ १४ मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने १९ वर्षीय बिवेक बोहरा समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

झापाकाे बुद्धशान्ति गाउँपालिका-४ जुनेली बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम र स्पास्पेन ट्याब्लेट ५५ पत्ता,  ट्रामाडोल हाइड्रोक्लोराइड ५५ पत्ता सहित सोही ठाउँ बस्ने २० वर्षीय सुरज मगर जर्गा समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुल अगाडि सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम सहित अर्जुनधारा नगरपालिका-३ बस्ने २४ वर्षीय ऐतराज इवा समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रित ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

पर्साकाे वीरगञ्ज महानगरपालिका-१६ शंकाराचार्य गेटबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ८८ एम्पुल, बुप्रोनोर्फिन ७० एम्पुल, प्रोमिथाजाइन १ सय ७० एम्पुल र लेबल नभएको ईन्जेक्शन १ सय १५ थान सहित सोही महानगरपालिका-१६ बस्ने २६ वर्षीय रिहाजुल साफी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।

वीरगञ्ज महानगरपालिका-१६ बसपार्क भानुचोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ८० ट्याब्लेट, डाईजेपाम १५ एम्पुल, फेनारगन १५ एम्पुल र नोर्फिन १५ एम्पुल सहित चितवन भरतपुर महानगरपालिका-१० बस्ने २० वर्षीय सुजन ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित होटलबाट नियन्त्रित लागुऔषध कोडिविल एकसय एमएलको ५० बोतलसहित बारा निजगढ नगरपालिका-७ बस्ने २८ वर्षीया सुस्मा तिमल्सिना समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उक्त होटलमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको ना.३७ प ६७०३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।

उदयपुरकाे कटारी नगरपालिका-४ कटारीबाट नियन्त्रित लागुऔषध नाईट्राभेट २ सय ६५ ट्याब्लेट, लुपिजेसिक ४० एम्पुल, डाईजेपाम ४२ एम्पुल र एल्जिक ७ एम्पुल सहित सोही ठाउँ बस्ने ३७ वर्षीय हरिकृष्ण सुनुवार समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी उदयपुर, उदयपुरगढी गाउँपालिका-७ दमाईकोटेबाट अवैध लागुऔषध गाँजा करिब २० केजी प्रहरीले बरामद गरेको छ। अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको गस्ती टोलीलाई देख्नसाथ नेपालटारतर्फ आउँदै गरेको स.१० प ७१५३ र स.७ प १५२३ नम्बरका मोटरसाइकल छोडी मोटरसाइकलमा सवार व्यक्तिहरू फरार भएपश्चात मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो। फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *