पाकिस्तानी तालिवानले प्रहरीमाथि थप आक्रमण गर्ने चेतावनी

डिसी नेपाल
६ फागुन २०७९ २१:१२

कराँची। पाकिस्तानको कराँचीस्थित प्रहरी परिसरमा भएको आत्मघाती आक्रमणमा परी चार जनाको मृत्यु भएको एक दिनपछि पाकिस्तानी तालिवान समूहले शनिबार कानून प्रवर्तन अधिकारीहरूमाथि थप आक्रमण गर्ने चेतावनी दिएको छ।

तालिवानसँग पाकिस्तानको लडाइँमा प्रहरीलाई प्रायः अग्रपङ्क्तिमा प्रयोग गरिन्छ र अक्सर उनीहरू गैरन्यायिक हत्याको आरोप लगाउने लडाकूहरूको निशानामा पर्छन्।

गत महिना उत्तरपश्चिमी शहर पेशावरको एक प्रहरी परिसरभित्र रहेको मस्जिदमा एक आत्मघाती आक्रमणकारीले विष्फोटक पदार्थ विस्फोट गराउँदा ८० भन्दा बढी अधिकारीको मृत्यु भएको थियो।

तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी)ले शनिबार अङ्ग्रेजी भाषामा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रहरीले दास सेनासँगको हाम्रो युद्धबाट टाढै बस्नुपर्छ, अन्यथा उच्च प्रहरी अधिकारीहरूको सुरक्षित आश्रयस्थलमा आक्रमण जारी रहनेछ।”

विज्ञप्तिमा भनिएको छ, “हामी सुरक्षा निकायहरूलाई फेरि एकपटक चेतावनी दिन चाहन्छौं, निर्दोष कैदीहरूलाई फर्जी मुठभेडमा मारिएका भन्न रोक्नुहोस् अन्यथा भविष्यमा हुने आक्रमणहरूको तीव्रता अझ गम्भीर हुनेछ।”

शुक्रबार साँझ तालिबानको आत्मघाती दस्ताले दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको विशाल प्रहरी कार्यालय परिसरमा आक्रमण गरेपछि एक घण्टा लामो गोली हानाहान भएको थियो।

आक्रमणमा परी दुई जना प्रहरी अधिकारी, एक जना सेनाका रेन्जर र एक जना सफाइकर्मीको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

शहरको मुटुमा कडा सुरक्षा गरिएको परिसरमा दर्जनौं प्रशासनिक र आवासीय भवनहरूका साथै सयौं अधिकारी र उनीहरूका परिवार छन्।

एक वरिष्ठ अनुसन्धानकर्ताले एएफपीलाई प्रारम्भिक अनुसन्धानमा तीनै जना आक्रमणकारी उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तका भएको थाहा हुन आएको बताएको छ।

नाम नबताउने शर्तमा ती अनुसन्धानकर्ताले भने, “उनीहरू प्रहरी मुख्यालयको पछाडिको प्रवेशद्वारबाट भित्र पसेका थिए, जुन प्रहरी कोलोनीका बासिन्दाहरूले प्रयोग गर्दै आएका थिए।

आन्तरिक मामिला मन्त्री राना सनाउल्लाहले समा टिभीलाई बताएअनुसार आक्रमणकारीहरू कराँची प्रहरी कार्यालयको मुख्य भवन कब्जा गरेर छतमा पुग्नुुअघि गेटमा रकेट प्रहार गरेर परिसरभित्र पसेका थिए।

सुरक्षा फौजले घेराबन्दी अन्त्य गर्न बिस्तारै पाँच तलामाथि उक्लन थालेपछि घन्टौंसम्म गोली र ग्रेनेड विस्फोटको आवाज गुञ्जिएको थियो।

गोलीले छेडिएको सिँढीले बन्दूकको तीब्र लडाईंको प्रमाण दिन्छ । अफगान तालिबानबाट अलग टीटीपी समान कट्टर इस्लामी विचारधाराको साथ पाकिस्तानमा सन् २००७ मा उदय भएको थियो र हिंसाको भयानक लहर चलाएको थियो । सन् २०१४ को अन्तमा शुरू गरिएको सैन्य अभियानले धेरै हदसम्म टीटीपी गतिविधिलाई दबाउन सफल भएको थियो ।

तर सन् २०२१ को अगष्टमा अफगान तालिबानले काबुलकब्जा गरेपछि र टीटीपी र इस्लामावादबीच गत वर्ष नोभेम्बरमा महिनौँ लामो युद्धविराम अन्त्य भएपछि सुरक्षा बललाई लक्षित गरी आक्रमणहरू फेरि बढ्दै गएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *