कमला ह्यारिसले रुसले मानवता विरुद्ध गम्भीर अपराध गरेको आरोप लगाइन्

डिसी नेपाल
७ फागुन २०७९ १२:१५

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरेको आफ्नो देशले औपचारिक रूपमा प्रमाणित गरेको बताएकी छन् ।

म्युनिख सुरक्षा सम्मेलनमा कमला ह्यारिसले रुसमाथि धेरै गम्भीर आरोप लगाएकी छन् । युक्रेनमा भएको आक्रमणपछि रुसले ‘हत्या, यातना, बलात्कार र देश निकाला गर्ने जघन्य कार्य’ गरेको उनले बताइन् ।

यस सम्मेलनमा विश्वका सबै नेताहरूले युक्रेनलाई लामो समयसम्म समर्थन गर्न अपिल गरेका छन् ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई थप सैन्य सहयोग बढाउनुपर्ने बताएका छन् । उनले युक्रेनका पश्चिमी सहयोगीहरूले आफ्नो भविष्यको सुरक्षाका लागि योजना बनाउनुपर्ने र युक्रेनलाई हतियार पठाउनुपर्ने बताएका छन् ।

यस सम्मेलनमा कमला ह्यारिसले युक्रेनमा भएका कथित अपराधका लागि जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउनुपर्ने बताइन् । “उनको कार्यहरू हाम्रो साझा मूल्य र मानवतामा आक्रमण हो,” ह्यारिसले भनिन् ।

उनले संयुक्त राष्ट्रसंघका अनुसार कुनै विशेष नागरिक समाजमाथि ‘व्यापक वा व्यवस्थित आक्रमण’ मानवताविरुद्धको अपराध भएको बताइन् ।

अमेरिकी उपराष्ट्रपतिले भनिन्, “हामीले युक्रेनमा रुसको कारबाहीका सम्बन्धमा प्रमाणहरू जाँचेका छौं। हामीलाई कानुनी मापदण्डहरू थाहा छ र यी मानवताविरुद्धको अपराध हुन् भन्नेमा कुनै शंका छैन।”

उनले युक्रेनको युद्धको क्रममा बुचा र मारियोपोलमा भएका “बर्बर र अमानवीय” अत्याचारलाई उद्धृत गरिन् । कमला ह्यारिसले भनिन्, “हामी सबै सहमत छौं कि ज्ञात र अज्ञात सबै पीडितलाई न्याय हुनुपर्छ।”

तर, रुसले आफ्नो आक्रमणमा सर्वसाधारणलाई निशाना बनाएको आरोप बारम्बार अस्वीकार गर्दै आएको छ । यो सम्मेलन गत वर्ष फेब्रुअरी २४ मा युक्रेनमा रुसले गरेको आक्रमणको पहिलो वर्षगाँठमा जर्मनीको म्युनिखमा आयोजना गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *