राष्ट्रपति निर्वाचन : सहमति बन्ने संभावना क्षीण, निर्णायक माओवादी

डिसी नेपाल
८ फागुन २०७९ ७:२७

काठमाडौं। आइतबार बिराटनगर पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन १३ गते मात्रै एमालेले राष्ट्रपति उम्मेदवार घोषणा गर्ने बताए। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार फागुन १३ गते रष्ट्रपतिको उम्मेदवारी दर्तागर्ने दिन हो।

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुबीच आगामी राष्ट्रपतिलाई लिएर रस्साकस्की सुरु भएको छ।

पूर्व सहमति अनुसार एमाले राष्ट्रपतिमा आफ्ना उम्मेदवार जिताउन चाहन्छ, भने पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिएको कांग्रेस राष्ट्रपति आफ्नो पोल्टामा पार्न मात्रै चाहँदैन, उ पुरानै गठबन्धन ब्युँत्याउन चाहन्छ। त्यसका लागि उसले प्रधानमन्त्रीलाई फकाउने अभियान जारी राखेको छ।

विशेष गरी नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, महामन्त्री गगन थापा राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा सक्रिय भएका छन्। उनीहरुले एमाले अध्यक्ष ओलीको त्रास देखाउँदै र प्रचण्डले चाहे आगामी पाँचै वर्ष सरकारको नेतृत्व दिन तयार रहेको भन्दै पुरानै गठबन्धन ब्युँत्याउने प्रयासमा छन्।

उता एमाले अध्यक्ष ओलीले मनोनयन गर्दा गर्ने दिनमात्रै राष्ट्रपतिको उम्मेदवार घोषणा गर्ने रणनीति लिएर माओवादीलाई ‘अल्झाउने’ रणनीति लिएका छन्। सुरुमै उम्मेदवार सार्वजनिक गर्दा माओवादी र कांग्रेससँग मिल्न सक्ने भयका कारण ओलीले अन्तिम समयमा राष्ट्रपतिको उम्मेदवार घोषणा गर्ने नीति लिएका हुन्।

माओवादी राष्ट्रपतिमा राष्ट्रिय सहमति बनाएर जानुपर्ने अडानबाट टसमस भएको छैन। सत्तारूढ गठबन्धनको मुख्य घटक नेकपा एमाले सरकार गठनको बेला पुस १० गते भएको सहमतिअनुसार राष्ट्रपति पद आफूले पाउनुपर्ने अडानबाट पछि हटेको छैन।

पूर्वसहमति कार्यान्वयन नभए वर्तमान सात दलीय गठबन्धन भंग हुने एमालेले चेतावनी दिइरहेको छ। राष्ट्रपतिमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पटक-पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन।

दुई महिनाअघि आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसक्दा राज्यशक्तिका सबै पद गुमाएको कांग्रेस राष्ट्रपति निर्वाचनसँगै सत्ताको केन्द्रमा फर्कने प्रयासमा छ। यो विश्वासका आधार प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल हुन्।

राष्ट्रपतिको चुनाव नजिकिएसँगै राष्ट्रपतिको विषयले राजनीतिक दलहरूमा खिचातानी थप बढ्दै गएको छ। राजनीतिक दलहरूले उम्मेदवार प्रस्तुतसमेत गर्न सकेका छैनन्। तर, दलहरू राष्ट्रपति निर्वाचन आफ्नो पक्षमा पर्ने दाबी गर्न छोडेका छैनन्।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको लागि फागुन १३ गते उम्मेदवार मनोनयनको समय तोकिएको छ। संसदमा कुनै पनि दलको स्पष्ट बहुमत नभएका कारण राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्र निर्णायक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *