तातोपानीमा औद्योगिक ग्राम स्थापना हुने
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–४ मा औद्योगिक ग्राम स्थापना हुने भएको छ। युवालाई रोजगारी तथा आत्मनिर्भर बनाउने ध्येयले तातोपानी–४ मा औद्योगिक ग्राम बन्न लागेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए।
उनले स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारणका गर्न औद्योगिक ग्रामले सहयोग पुग्ने बताए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७९ भदौ १० गते औद्योगिक ग्राम स्थापनाको लागि सार्वजनिक सूचना जारी गरेको थियो।
मन्त्रालयको जारी सूचनाको आधारमा चाहिने सबै प्रक्रिया पूरा गरी गाउँ कार्यापालिकाबाट वडा नंं ४ लाई छनोट गरी पालिकाले औद्योगिक ग्राम स्थापनाका लागि मन्त्रालयमा प्रस्ताव पेश गरेको वडाध्यक्ष अमर रोकायाले जानकारी दिए। उनले भने, “सो वडाको रातेखोलामा रहेको करिब १५ हजार आठ सय ८२ वर्गमिटर क्षेत्रफलमा रहेको सार्वजनिक जग्गामा औद्योगिक ग्राम स्थापनाका लागि मन्त्री परिषद्को यही फागुन ४ को निर्णयबाट स्वीकृत भई पारित समेत भएको छ।”
औद्योगिक ग्रामबाट स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको परिचालन गरी यहाँका स्थानीयवासीको रोजगारी सिर्जनामा टेवा पुग्ने वडाध्यक्ष रोकायाले बताए। संघीय सरकारले प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । छरिएर रहेको स्थानीय स्रोत साधन तथा प्रविधि परिचालन गरी स्थानीयस्तरमै रोजगारी सञ्चालन गर्ने उद्देश्यले सरकारले औद्योगिक ग्राम घोषणा गर्दै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment