पाकिस्तान टाट पल्टिइसकेको देशका रक्षामन्त्रीको घोषणा

डिसी नेपाल
८ फागुन २०७९ ११:४६

काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले देशको कमजोर आर्थिक अवस्थाको बारेमा भनेका छन् कि हामी पहिले नै “टाट पल्टिइसकेका छौं र टाट पल्टिइसकेको देशमा बाँचिरहेका छौं।”

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता ख्वाजा आसिफ सियालकोटको एक निजी कलेजको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै थिए। यस क्रममा उनले देशमा भइरहेका चरमपन्थी घटनाको उल्लेख गर्दै विगतका सरकारले अतिवादलाई बढावा दिएको आरोप लगाए ।

रक्षामन्त्रीले भने, “हिजो राती हाम्रा सुरक्षाकर्मीहरूले आतंककारीहरूसँग लडाइँ गरिरहे। अमूल्य ज्यान गुमाए । हाम्रो देशमा आतंकवाद कसले ल्यायो ? कसले यस्तो खेल खेल्यो कि आतंकवाद हाम्रो भाग्य बन्यो।”

“हामी टाट पल्टिएको देशका बासिन्दा हौं। तपाईंले सुन्नु भएको होला कि डिफल्ट भइरहेको छ वा टाट पल्टिने वा मेल्टडाउन भइरहेको छ। त्यो भइसकेको छ। हाम्रा शासकहरूले पाकिस्तान भित्र आतंकवादको आविष्कार गरे। हामी आफैले ल्याएका हौँ । डेढ वर्षअघि उनीहरूलाई पाकिस्तानको भूमिमा फिर्ता ल्याइएको थियो। उनीहरूले आफूहरु शान्तिप्रिय बनेको र पाकिस्तानको कानुन अनुसार जीवन बिताउने बताएका थिए ।”

पाकिस्तानको कमजोर आर्थिक अवस्थाबीच चरमपन्थी आक्रमण पनि बढेको छ । पाकिस्तानसँग करिब ८.७० अर्ब डलरको विदेशी मुद्रा सञ्चिति छ, जसले करिब दुई हप्ताको आयात तिर्न सक्छ।

यस्तो अवस्थामा पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट राहत प्याकेजको अपेक्षा गरेको भए पनि अन्तिम निर्णय भने भएको छैन । पाकिस्तानमा बारम्बार चरमपन्थी आक्रमणहरू भइरहेका छन्। त्यसमा विशेषगरी प्रहरी नै निशाना बनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *