भारतीय पूर्वसेनापतिहरुलाई त्रिशुल, यस्तो थियो सेना दिवसको रोचक कथा

‘ये दोस्ती हम नहीं तोडेंगे’

डिसी नेपाल
१० फागुन २०७९ ७:०२

काठमाडौं। भारतीय चार पूर्व सेनापतिहरुलाई अचम्मित पार्दै नेपाली सेनाले आफ्नो २ सय ६० औं सेना दिवस मनाएको छ।

दक्षिण एशियाको सबैभन्दा पुरानो सेनाको ऐतिहासिकता कायम गरेको नेपाली सेनाले इतिहासमै पहिलोपल्ट भारतीय सेनाका चारजना पूर्वसेनापतिहरुलाई अतिथिका रुपमा निमन्त्रणा गरेको थियो।

भारतीय सेनका पूर्व प्रमुखहरु विश्वनाथ शर्मा, जोगिन्दर सिंह(जेजे सिंह), दलबीर सिंह र दीपक कपुर नेपाल अवतरण गरेदेखि नै अचम्मित हुने गरीको तयारी नेपाली सेनाले गरेको थियो।

भारतीय पक्षमा आपसी सम्मानको कत्रो भूमिका हुन्छ भन्ने सन्देश प्रवाह गर्ने गरी नेपाली सेनाले यी चार पूर्वसेनापतिहरुलाई भगवान पशुपतिनाथको विशेष दर्शनदेखि मुक्तिनाथमा पूजा र सोलुखुम्बुस्थित होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्टसमेत गराएर दिल्ली फर्काइएको थियो।

इतिहासमै पहिलोपल्ट भारतीय सेनाका पूर्वसेनापतिहरु नेपाली राष्टिय पोशाक दौरा सुरुवाल र कालो टोपीमा टुँडिखेलमा देखा परेका थिए। उनीहरुलाई नेपाली सेनाले नै दौरा सुरुवाल दिएको थियो।

यसमा सबैभन्दा महत्वपूर्ण कुरा के थियो भने नेपाली सेनाले पहिलोपल्ट त्रिशुल र डमरु अंकित चिन्हको पिन कोटमा लगाउनका लागि व्यबस्था गरेको थियो। त्रिशुल र डमरुको चिन्ह नेपाली सेनाको चिन्ह पनि हो तर यसअघि यसलाई उपहार दिने गरी पिन बनाइने गरेको थिएन।

विगतमा क्रस खुकुरी प्रचलनमा ल्याइने गरेकोमा यसपल्ट सेनापति प्रभुराम शर्माले भारतीय पुर्वचीफहरुलाई चाँदीको त्रिशुल र डमरु उपहार दिएका थिए। दौरा सुरुवालमा टुंडिखेलमा प्रकट भएका भारतीय पुर्वचीफहरुले सो चिन्हको पिन पनि आआफ्नो कोटमा लगाएको देखिएको थियो।

एकैसाथ आएका भारतीय पूर्वसेनापतिहरुलाई आएकै दिन प्रधानसेनापति निवास शशिभवनमा डिनरले स्वागत गरिएको थियो भने भोलिपल्ट सेना दिवसको दिन(शिवरात्रि) विहानै पशुपतिनाथको दर्शन गराइयो।

पहिलो कार्यक्रमदेखि नै उनीहरुलाई नेपाली सेनाका पाँच पूर्वप्रधानसेनापतिहरु प्रज्वल्लसमशेर राणा, प्यारजंग थापा, गौरबसमशेर राणा, राजेन्द्र क्षत्री र पूर्णचन्द्र थापाले साथ दिएका थिए।

भारतका पूर्वचीफ ९२ बर्षीय शर्मा आफ्नी छोरीलाई साथमा लिएर आएका थिए भने अरु चीफहरु पत्नीसहित आएका थिए। रमाइलो कुरा के छ भने अतिथि बनेर आएका चार पूर्वचीफमध्ये ३ जना नेपाली सेनाका मानर्थ जनरल हुन् भने जेजे सिंहले त्यो सौभाग्य पाएनन्।

नेपालमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन हुनु र आन्दोलन लगायत राजनीतिक अस्थिरता चर्कनुका कारणमात्र होइन तत्कालीन राजासँग सम्बन्ध चिसिएका कारण नेपाली सेनाको मानार्थ जनरलको सम्मान ग्रहण गर्नै पाएनन्।

समाचारअनुसार,पशुपतिको दर्शनपछि उनीहरुले दौरा सुरुवाल, कालो टोपी र कोटमा त्रिशुल डमरुको पिन लगाएर टुँडिखेलको सैनिक कार्यक्रममा सहभागी हुनुपर्ने थियो। सबै पूर्वचीफहरुले नेपाली पोशाकप्रति आदर भाव दर्शाउँदै विशेष अवसरमा यो लगाउन पाउँदा गर्व लागेको बताएका थिए।

सेना दिवसको यो कार्यक्रममा क्यमेरा र दर्शकका मुख्य फोकस नै दौरा सुरुवाल र कालोटोपी लगाएका यी चार पाहुना भएका थिए। नेपाली सेनाको उत्सबमा भारतीय सेनाको ऐक्यबद्धताका रुपमा उनीहरुले आफ्नो सहभागितालाई परिभाषित गर्ने प्रयास गरेका पनि थिए।

सोही दिन साँझ भारतीय राजदूत नवीन श्रीवास्तवले रात्रिभोज दिएका थिए। सो भोजमा नेपाली सेनाका पाँच पूर्वसेनापतिहरुसहित भारतीय पाहुना सहभागी थिए।

भारतीय सेनाध्यक्षका नाममा नेपाली सेनाको घण्टी

नेपाली सेनाले भारतीय पूर्व सेनापति तथा चीफ अफ डिफेन्स स्टाफ विपीन रावतका नाममा मुक्तिनाथमा घण्टी अर्पण गराएको छ। दुईपल्ट योजना बनाएर पनि मुक्तिनाथ पुग्ने साइत मिलाउन नसकेका रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो।

गोर्खा राइफल्सका अधिकृतसमेत रहेका रावतको अधुरो इच्छालाई नेपाली सेनाले भारतीय सेनाका पूर्वप्रमुखहरु आएको मौकामा पूरा गरिदिएको छ। शिवरात्रिको भोलिपल्ट आइतबार उनीहरुलाई सैनिक विमानमार्फत मुक्तिनाथ लगी रावतका नाममा तयार गरिएको घण्टी अर्पण गर्न लगाइएको थियो।

यसको पूर्वजानकारी नपाएका उनीहरुका लागि यो अवसर निकै हृदय छुने बनेको थियो। समाचारअनुसार, भावुक माहौलमा रावतको सम्झना गर्दै दुबै देशका पूर्वचीफहरुका तर्फबाट घण्टी अर्पण गरिएको थियो।

मुक्तिनाथबाट फर्किएर पोखरामा दिवाभोज गरी अपरान्ह काठमाडौंमा चीफ कन्क्लेभ कार्यक्रम गरिएको थियो। दुबै देशका पूर्व चीफहरुले आआफ्नो अनुभवमा नेपाली सेना र भारतीय सेनाका बीचको सुमधुरसम्बन्धबारे धारणा राखेका थिए।

रोटीबेटीको सम्बन्ध भन्दा पनि सैनिक सम्बन्धले दुबै देशका बीच सुमधुरसम्बन्ध बनाउन योगदान गर्दै आएको विषयमा कुरा भएको थियो। सन् २०१५ को नाकाबन्दी खुलाउन नेपाली सेनाको प्रस्तावमा भारतीय सेनाको तीब्र दवावले भारत सरकार बाध्य हुनुपरेको चर्चा अझै पनि हुने गरेको छ।

भारतीय पूर्वचीफहरुले आफूहरुले अभूतपूर्व सम्मान पाएकोमा नेपाली सेनाका सेनापति प्रभुराम शर्माको मुक्त कण्ठले प्रसंसामात्र गरेनन् भविष्यमा नेपाली सेनाका लागि भारतीय सेनासँगको सम्बन्धमा अझ सुमधुरता ल्याउन आफूहरुको तर्फबाट सम्पूर्ण सहयोग गर्ने बचनबद्धता पनि उनीहरुले व्यक्त गरेका थिए।

अन्तिम दिन उनीहरुलाई सगरमाथा देखाउन लगिएको थियो। नेपाली सेनाका पूर्वसेनापतिहरु प्रज्वल्लसमशेर राणा, प्यारजंग थापा,राजेन्द्र क्षत्री र पूर्णचन्द्र थापाको साथमा उनीहरुले एभेरेष्ट भ्यू रिसोर्टमा सगरमाथा हेर्दै ब्रेकफाष्ट खाएका थिए।

दुई मुलुक र दुई सेनाका बीचको सम्बन्ध सगरमाथाजस्तै अटल रहनुपर्ने सन्देश नेपाली सेनाले दिन चाहेको यो कार्यक्रमले देखाउन खोजेको थियो।

सेना दिवसमा ब्रिटिश र भारतीय ब्याण्ड ?

शिवरात्रिको भोलिपल्ट सैनिक अधिकृत क्लबमा भव्य सांस्कृतिक कार्यक्रम राखिएको थियो। जसमा भारतीय गोर्खा सैनिक र ब्रिटिश गोर्खा सैनिकका व्याण्ड पनि सामेल थिए। नेपाली सेना, भारतीय गोर्खा र ब्रिटिश गोर्खा सैनिकका व्याण्डले संयुक्तरुपमा विभिन्न गीतका धुनहरु बजाएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालसहितको आतिथ्यता रहेको सो कार्यक्रममा कार्यक्रमको अन्त्यतिर सैनिक व्यण्डले ये दोसती हम नहीं तोडेंगे नामको भारतीय गीत बजाएको थियो।

भारत र नेपालका बीचको सम्बन्धलाई लक्षित गरेर सो गीत बजाउँदा हलको रौनक नै अर्कै भएको थियो । कार्यक्रमको अन्त्यमा तीनवटै व्याण्डले यो मन त मेरो नेपाली हो भन्ने गीतको धुन बजाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *