कथाः डायरीको डाम

खेमराज पोखरेल
१३ फागुन २०७९ ६:३९

भिसा लाग्दाका बखत मनमनै सोच्दै थिएँ, ‘भिसामात्र लागोस् न यसरी लुक्ने छु कि कुनै गोराले पत्ता पाउने छैन। पुगूँ मात्र न, अनि त मालामाल।’

तर उफ! कस्तो सकस अमेरिकी जीवन। न खाने ठेगान। न बोल्ने समय। हँन कस्तो बिजी हौ मान्छे। धन्न यो तीर्थेले मलाई कोठामा खान बस्न दिएको थियो। ऊ चार दिन पढ्थ्यो। तीन दिन काम गथ्र्यो। सातै दिन बिजी।

त्यो बेला म सोचिरहेको थिएँ, ‘यो तीर्थे त नेपालमै पनि धनी बाउको एक्लो छोरो हो। के खाँचाले यस्तो कुम्भीपाक जिन्दगी बाँचिरहेको छ कुन्नि? म त अलिकति कमाएर टाप।’

एकदिन तीर्थेले मलाई भनेको थियो, ‘तँलाई पाकिस्तानीकोमा काम खोजिदिएको छु।’

अर्को दिन भनेको थियो, ‘काम पाइ हालिस्। डेरा पनि खोजिदिएको छु।’

यसरी म तीर्थेबाट टाढा भएको थिएँ।

स्टोरमा कस्टमरकै रूपमा पुलिस आए पनि आङ् सिरिङ्ङ हुन्थ्यो। यो जाबो पिसाब पनि कति मात्र आउँथ्यो कुन्नि।

एकदिन पाकिस्तानी साहुले सोधेथ्यो, ‘खोइ तिम्रो पेपर ? म रिस्क लिएर तिमीलाई काममा राख्न सक्दिनँ। एक महिनाभित्र सोसल सिक्योरिटी ल्याएनौ भने म “सरी” भन्छु तिमीलाई।’

मैले दिउँसै आकाशका तारा देखेथेँ। म ओभरस्टे भइसकेको थिएँ। एक मन फर्केर नेपाल जाऊँ भन्ने लाग्यो। फेरि ऋणको पहाड सम्झेर विह्वल भएँ। मेरो कुरो सुन्ने कसैलाई फुर्सद थिएन। त्यही पनि तीर्थेलाई कुरो सुनाएथेँ।

उसले भनेथ्यो, ‘अब के गर्छस् त? कि नेपाल फिर्ता जा कि क्रिस्चियन बन, कि बिहे गर र पेपर बना। देशअनुसारको भेष त गर्नै पर्छ केटा।’
ऋण सम्झेर नेपाल जान मन लागेन। हिन्दु धर्म सम्झेर क्रिस्चियन हुन झन् मन लागेन। बरु कागजी बिहे गरूँ र पेपर बनाऊँ भन्ने लाग्यो।

०००००

तीर्थेले खोजिदिएकी जेनिफरले मलाई दसैँको खसीजस्तै हेरेकी थिई। र, मेरो पेपर म्यारिजको प्रस्तावलाई स्वीकार गरेकी थिई। त्यसपछि म वर्क परमिटवाला भएको थिएँ।

जेनिफरले मेरो मनलाई आनन्दित बनाएर जान्थी। म सनै सनै उसको सम्मोहनभित्र पस्दै थिएँ। ऊ काली थिई। निक्खर काली। हाँस्दा टम्म मिलेका सेता दाँतहरू अँध्यारोमा बत्तीझैँ टल्कन्थे। राता ओठहरू सुन्दर देखिन्थे। सर्लक्क परेकी थिई। सेक्सी। ऊ मेरी कोर्ट म्यारेज गरिएकी पत्नी हो।

जेनिफरले मेरो गहुँ गोरो पाखुरालाई च्याप्प समाएकी थिई। होटलको कक्षमा थियौँ। बाहिर हिउँ परिरहेको थियो। लाग्दथ्यो कपासका बोटहरूबाट रुवाका भुवाहरू झरिरहेका थिए। सहर शान्त थियो। परपर देखिने बुट्यानहरू सेताम्य थिए। डोजरले सडक सफा गर्दै थियो। सडक कालो धर्काजस्तै देखिन्थ्यो। मान्छेहरू फाट्टफुट्ट लङ्गकोटमा थिए।

उसले भनेकी थिई, ‘आऊ च्याक्र, आखिर तिमी मेरो कानुनी लोग्ने हौ। तिमी चाहन्छौ भने हामी सम्भोगरत हुन सक्छौँ।’

मैले उसलाई भनेँथेँ, ‘जेनिफर, तिमीलाई थाहा छ, मैले नेपालमा खास बिहे गरेको छु। श्रीमती नेपालमा छिन्। मैले यो तिमीसँगको कुरा त नेपालमा ढाँटेको छु। मेरी नेपालकी पत्नीसँग गरिएको पारपाचुकेको कागज त किर्ते हो।

‘हो मलाई थाहा छ। तिमीहरू ढाँट्छौ र वचनका पक्का पनि हुन्नौ। तर तिमी जीवनलाई यसरी पनि हेर न। श्रीमान् श्रीमती हुनु भनेको किनुवा माल होइन। म तिम्री श्रीमती हुँ। सम्भोग मेरो अधिकार हो। र पनि मुख्य कुरो चाहको हो। तिमीलाई नै चाह छैन भने ओके। तर एकपल्ट जीवनलाई राम्रोसँग बुझ्ने प्रयास भने गर।’

आफ्नी श्रीमतीको विवसताको पोतोले छोपेको रूप सम्झिन्थेँ। सम्झेर टिठ लाग्थ्यो। माया लाग्थ्यो। ऊ बिनासर्त पर्खिरहेकी थिई। मलाई पर्खनुमा उसको कुनै आग्रह थिएन। मलाई आफू पापी भएको आभास भइरहेथ्यो।

एकदिन जेनिफरले भनेकी थिई, ‘ठीक छ, बुझेँ। सहवास नगरुँला। तर एउटै एपार्टमेन्टमा बस्दा त हुन्छ नि। साथी पनि हुन्छ। खर्च पनि कम हुन्छ। यसमा के खराबी हुन्छ र?’

मैले मनमनै सोचेथेँ, के खालकी आइमाई हो यो । एउटै एपार्टमेन्टमा बसेपछि..?

०००००

घर याने भाडाको घर आइ पुगेको थिएँ। सिङ्गो फ्ल्याटमा एकलो थिएँ। एपार्टमेन्ट मस्त सुतेको थियो। कोठा अति चिसो थियो। हतार हतार हिटिङ् सिस्टम अन गरेको थिएँ। कोठा द्रुत गतिमा तात्दै थियो। ब्ल्याङ्केटभित्र पसेको थिएँ । यसपछि म एक्लो संसारभित्र यौनातुर भएको थिएँ। कैयौँ ओल्टोकोल्टो फर्किएको थिएँ। सिरानलाई गोडा बोकाउँथेँ। यता पल्टाउँथेँ। उता पल्टाउँथेँ । घरि जेनिफर आएकी हुन्थी तर्कनामा। घरि नेपालकी श्रीमती हुन्थी कल्पनामा। जेनिफरका सिनित्त परेका तिघ्रा, उफ मेरो श्वासको गति बढेको थियो।

सम्झिन्थेँ, किन मैले जेनिफरको प्रस्ताव मानिनँ होला। किन भागेँ हुँला। अहिले पछुतो मानेर केही पाइने पनि होइन। तर निद्रा पटक्क लागेको थिएन। बाहिर हिउँ पर्न रोकिएको थिएन। हिउँको हुरी नै आएको हो भन्दै थियो टिभी। निरब शान्तिमा छट्पटाएको थिएँ। अप्राप्तिमा प्राप्ति भोग्दै थिएँ।

नेपालबाट सन्तेले यही समय फोन गरेथ्यो। धेरैबेर कुरा गरेथ्यो। कति कुरा गर्न सक्तछ यो सन्ते। उसले नेपालमा विदेशिएका श्रीमान्का श्रीमतीहरू को को पोइल गए, को को कोसँग सल्केका छन्, को को यौनकर्ममा लागेका छन्, सबैको फेहरिस्त सुनाएथ्यो।

कसकसले विदेशमै घरजम गरेर नेपालका श्रीमतीको बिल्लिबाठ बनाए, सबै पोको खोल्यो। बाहिरभित्र दुवै मिलाएर राखेका मान्छेहरूको लिस्ट पनि थमाएथ्यो। र लास्टमा थपेथ्यो, ‘अमेरिका एकलै बसेको छस्, मोज गर यार जिन्दगीको। आफूलाई त सधैँ घरकै झ्याल्टुङ।’

०००००

अन्ततः जेनिफर मेरै सिङ्गल बेड एपार्टमेन्टमा बसाइँ सरी। कोठाको एकाछेउमा उसको, अर्को छेउमा मेरो बेड थियो। आफ्नो बेडमा सुतेर कम्मलले शरीरलाई ढाकी। र, हाँसी, ‘हाहाहा अचम्म छ हगी यो संसार?’

मैले भने, ‘के अचम्म लाग्यो र जेनिफर तिमीलाई?’

‘हेर न! तिमी तन्नेरी छौ। म तरुनी छु। हामी लोग्ने स्वास्नी पनि हौँ। एउटै कोठामा पनि सुतेका छौँ। बेड फरक पर्नु र नपर्नुले के फरक पर्छ र? तर हामी आफूलाई दबाएर बाँचेको अनुभव गर्छौँ। हामी मतलब तिमी। जीवनमा योभन्दा ठूलो दुर्भाग्य के हुन्छ र? योभन्दा ठूलो हाँसो के हुन्छ र?’ उसले हाँस्तै बताई।

मैले भनेँ, ‘कुरा त सामान्य नै हो जेनिफर। हामी प्राविधिक रूपले लोग्नेस्वास्नी भए पनि व्यावहारिक रूपमा हामी व्यापारी हौँ। मैले तिम्रो खर्च पूरा गरेको छु। तिमीले मलाई अमेरिकी कागजका लागि सहयोग गरेकी छु। हामी दुवैको स्वार्थ नै त्यस्तै छ।’

‘त्यो कुरा तिमीले भन्नै परेन। तर तिमी किन सेक्सका लागि तयार भएनौं, त्यो चाहिँ मैले बुझिनँ।’ उसले पनि हल्कातबरले भनी।

‘मैले भनेँ नि तिमीलाई मेरी सक्कली श्रीमती नेपालमा छिन्। एक पत्नीव्रत नै पारिवारिक संसारको सुरक्षा हो।’

‘वाइह्यात कुरा गछौँ तिमीहरू। तिमीहरू किन सेक्स, बिहे र सन्तानलाई एउटै क्याटोगरीमा राख्छौं? यी त अलगअलग कुरा हुन्। तिमीसँग बिहे गरेकी छु, सेक्स छैन। सन्तान पनि हुने कुरा नै भएन। जबसम्म तिमीहरू यी तीन कुरालाई अलग तरिकाले व्याख्या गरेर जीवन चलाउँदैनौ, तबसम्म तिमीहरूले व्यैयक्तिक स्वतन्त्रता पाउन सक्दैनौ।’ उसले भनेकी थिई।

मैले भनेथेँ, ‘के गर्ने समाज छ, सामाजिक मान्यता छन्, परम्परादेखि चलेको चलन पनि छ। यसरी बेलगाम हुन ता गाह्रो कुरा हो नि जेनिफर।’
‘ठिक छ तिमीलाई सुनाउनुको के काम र?, तिमी परिवर्तन हुने खालका होइन रहेछौ। मैले सोचेकी थिएँ कि बिहे तिमीसँग गरिसकेपछि सेक्स पनि तिमीसँग नै हुन पाए राम्रो हुन्थ्यो। तर तिमी त अक्कडो निस्क्यौ। म आफ्नो बाटो लाग्छु। म त बिनासेक्स त्यसै बस्न सक्दिनँ नि तिमीजस्तो।’
त्यसपछि हामी अलगअलग खाटमा सुतेका थियौँ।

०००००

अफिसमा काम गरिरहेको थिएँ। जेनिफर आइ पुगेकी थिई । उसले भनेकी थिईः

“च्याक्र, लन्च टायम भयो, कति काम गरेको? हिँड। आज म तिमीलाई एउटा डेभलपमेन्ट सुनाउँछु। मिठो सस्पेन्स”

ऊ अलि अधैर्य जस्तै देखिएकी थिई। खुसी मारे उफ्रिरहेकी थिई। ऊ भन्न थालेकी थिईः

“तिमीलाई थाहा छ? हिजोदेखि मैले फ्रेडरिकलाई ब्वाइफ्रेन्ड बनाएँ नि”

“अहो थ्याङ्क यु, कङ्ग्राचुलेसन”

“तिमीलाई थाहा छ, उसले तिमीसँग भेट्छु भनेको छ। ऊ विश्वविद्यालयको एनाटोमीको प्रोफेसर हो। मभन्दा निकै बुढो छ। तर ठिक छ। चलेगा। उमेरसँग के मतलब? ऊसँग पैसा छ”

मैले भनेको थिएँः “यु आर बिउटीफुल एन्ड लकी ग्रल”

उसले भनेकी थिईः “मैले तिम्रो बारेमा सबै कुरा उसलाई भनेकी छु नि। मैले त तिमी मेरो लोग्ने हो भनि दिएँ। हाहाहाहा…। के गर्ने ५ वर्ष तिम्रालागि कुर्नु नै छ”

मैले कृत्रिम हाँसो निकाल्दै भनेको थिएँः “ओह, भेरी गुड”

फ्रेडरिकलाई भेटेपछि मैले परिचय दिएको थिएँः

“फ्रम नेपाल, आइ एम चक्र, चक्र पुडासैँनी”

“ओह, मिस्टर च्याक्र। नेपाल। भेरि नाइस कन्ट्री। आइ एम फ्रेडरिक”

ऊ त यसरी खुसी भयो कि मानौ ऊ स्वर्ग सन्मुख छ र म देवता हुँ।

उसले पहिले जेनिफरकोे तारिफ गर्न थाल्योः

“जेनिफरसँग कागजी बिहे त गर्नु भो। हेर्नु न ऊ मेरी ग्रल फ्रेन्ड हो। तपाईँकी पत्नी। ऊ एकदम गजबकी असल केटी हो। सेक्सी। भनौँ ऊ स्वर्गकी अप्सरा हो। ऊ आखिर मेरो भागमा रहिछे। थ्याङ्क गड”

उसले मेरा सामुन्नेमा नै जेनिफरलाई अँगालेको थियो। ओठमा चुमेथ्यो।

म टुलुटुलु हेरिरहेको थिएँ। किनभने मेरी जेनिफरलाई लैजाने मान्छे थियो ऊ। मेरी स्वास्नी लैजाने मान्छे थियो ऊ। अचेतन मनमा बोकेको कुत्सित विचारले म झन दुःखी बन्दै थिएँ सायद। फेरि सम्हालिएँ, आखिर जेनिफरसँग मैले पेपर म्यारिज त गरेको हो नि।

उसले जेनिफर र मलाई सहर घुमाउन लगेथ्यो।

ऊ बाटोमा भन्दै थियोः

“यो सुन्दर सिटीको कल्पना गर्ने र निर्माण गर्ने ब्रिंगहम योंग हुन्। उनले निर्माण नगरेको भए यो सुन्दर नगर मरुभुमि नै भइरहन्थ्यो होला। त्यो पर हेर्नू त। त्यो बडेम्माको शालिक उनकै हो। हामी सबै खाले अमेरिकीहरू उनलाई साल्टलेक सिटीको निर्माणकर्ता भनेर श्रद्धा गर्छौँ”

मैले पनि भनेथेँ :  “हाम्रो देशमा पनि राजा पृथ्वीनारायण शाहलाई राष्ट्र एकीकरण गरेकाले राष्टनिर्माता भन्छौँ”

ऊ फेरि हाँसेर भन्न थालेथ्योः “हो मलाई थाहा छ। पोखरामा ढलाएको शालिक राजा पृथ्वीनारायणकै होइन? म त्यतिबेला पोखरामा नै थिएँ। यी हेर्नुस् त भिडियो”

०००००
पहिले पहिले जेनिफरले बोलेको सङ्गितझैँ लाग्थ्यो।

यसबेला ऊ फ्रेडरिकको गुणगान गाउँथी, ऊ प्यातर प्यातर गरिरहेकी हुन्थीः

“च्याक्र, फ्रेडरिक यति पढ्छ कि ४ घन्टा मात्र सुत्छ। उसले नजानेको केही छैन। ऊ अमेरिकाभरिकै गिनेचुनेको प्रोफेसर हो रहेछ।

इन्साइक्लोपिडिया। यो प्रोफेसर पढ्दापढ्दै मर्छ जस्तो लाग्छ मलाई। ऊसँग पिएचडी गर्न पाउनु भनेको नै गौरव हो भन्छन् उसका विद्यार्थी।

सुरुसुरुमा त लाग्थ्यो यो मान्छे होइन। कुनै भूत हो”

मैले मेरै नेपालका प्रोफेसर डा. नित्यानन्दसँग तास खेलेको सम्झेँ। एकदिन त उनलाई भनेको पनि थिएँः “डाक्टर सा‘ब विद्यार्थीलाई पनि टिप्लु पढाउनु होला है”

उनी पनि के कम, भनिहाल्थेः “लट्याङ्लुटुङ् पार्ने त हो चक्रजी। पुराना नोटले पनि काम दिइहाल्छ नि। आखिर कुनै राजनीतिक दलको झोला नबोकी केही थप पाइने होइन के रे। के पढ्नु? यही पि.एच.डी.को खोस्टो पनि धेरै भइसक्यो”

०००००

क्यान्टिनमा एकाछेउमा बसेर स्यान्डविच टोकिरहेको थिएँ । जेनिफर टुप्लुक्क आइपुगेकी थिई र स्वाभाविक बन्दै भनेकी थिईः

“फ्रेडरिकलाई छोडी दिएँ। ऊ त एकदम पढाकु रहेछ। चिप्पु पढाकु। नो टाइम फर मी। एकदम सुखा जिन्दगी। ऊ रसिलो मान्छे होइन। रस निकालेको कागतीको खोस्टाजस्तो। एनाटोमीका कङ्काल पढ्दापढ्दै, पढाउँदापढाउँदै कङ्काल नै भएको छ। सेन्सलेस भएको छ। बिलकुल मान्छे होइन। ऊ तिमीजस्तो माई डियर मान्छे त झन् हुँदै होइन। तर के गर्ने? तिमी मेरो लोग्ने भएर पनि लोग्ने भएनौ”

ऊ एकोहोरो भनिरहेकी थिईः

“मेरो स्वतन्त्रतालाई अबरोध पुर्याउन खोज्ने ब्वाइफ्रेन्डहरूलाई तिलान्जली दिएकी छु। जीवनमा आएका लोग्नेहरूलाई अदालत पुर्याएर धकेली दिएकी छु। बुझ्यौ च्याक्र, मान्छेले कि स्वतन्त्रता रोज्नु पर्छ। आफ्नो मन बुझ्नु पर्छ। बिन्दास। कि स्वतन्त्रतालाई घाटमा थन्क्याएर परिवारभित्र गुम्सिनु पर्छ। निगुरमुन्टी न। त्यो मान्छेको आफ्नो मर्जी हो”

मेरो मनले भन्थ्योः “कस्ती होली यो जेनिफर, जिन्दगीका निर्णयहरू फटाफट लिन्छे र फेरि जहाँबाट सुरु गर्न पनि तयार हुन्छे। ऊ स्वतन्त्र वादशाह हो जिन्दगीको”

०००००

“बुझेँ तिम्री सक्कली श्रीमती नेपालमा छ। यो पनि बुझेँ कि ऊ तिमीलाई भर्जिन पर्खि रहेकी छे। मलाई त्यो कुरा पत्यार त लाग्दैन। र पनि पत्याउँछु”

“किन ?”

“यही कि, विदेशिएका श्रीमान्का श्रीमतीहरूको कथा। वा यस्तै यस्तै। हुन देऊ न। आखिर मान्छे एउटा सग्लो हो कि टुक्रा हो? खासमा भन्ने हो भने तिमीहरू न एक्लै बाँच्न सक्छौ बरु श्रीमतीलाई टुक्रा टुक्रा पारेर बाँचेको अभिनय गर्छौ र आफू पनि टुक्रिन्छौ”

मैले आफ्नो बचाउ गर्न भनेः “हाम्रो संस्कार र परम्परा नै यस्तो छ। परिवारलाई महत्व दिन्छौँ। पत्नीले पतिव्रता हुनु जरुरी छ। र पतिबाट पनि यही आशा गरिन्छ”

“हाहाहाहाहा…, अनि वेश्यागामी विवाहित पुरुष र वेश्या भएका विवाहित नारी तथा विवाहेत्तर सम्बन्ध राख्ने मान्छे छैनन् नेपालमा?”
म चुप लागेँ।

ऊ भन्न थालीः “म तिमीप्रति आशक्त भएकी छु। तिमी मसँग सम्भोग गर्छौ कि गर्दैनौ, प्रस्ट भन। आज म यो कुराको छिनोफानो नगरी छाड्दिनँ। आखिर तिमी मेरो वैधानिक लोग्ने हौ”

“तिमी कुरा बुझ न जेनिफर, म पत्नीव्रतमा बस्न चाहन्छु”

ऊ फटाफट भन्न थालीः

“हेर च्याक्र, जन्म हाम्रो माग होइन। न त मृत्यु नै। जीवनमा तिमी एकलै हौ। म एकलै हुँ। सबै मान्छे एकलै हुन्। सम्भोग एउटा सानो मिठो झिल्को हो। बेकार यो परिवारको झन्झटिलो कुरो झिकेर छोटो जिन्दगीलाई बोरिङ् न बनाऊ”

मैले भनेँः “तिमी जे भन, तिम्रा अन्य आवश्यकताहरू पूरा गरेकै छु। तर सम्भोग गर्न सक्तिनँ”

उसले भनीः “सम्भोग त हुन्छ। हुन्छ। नेत्रले सम्भोग गर्छ। स्पर्शले सम्भोग गर्छ। भावनाले सम्भोग गर्छ। मनले त झन कतिकति सम्भोग गर्छ। यसरी भाषाले, इशाराले र समग्र जिन्दगी सम्भोगरत हुन्छ। सम्भोग सम्मोहन हो। सम्मोहनलाई कसैले रोक्न सक्तैन। तिमी केवल झुटो बोल्दै छौ। बोल तिम्रो मर्जी”

०००००

मैले ५ वर्ष पुर्याएर ग्रिनकार्ड लिएँ। त्यो दिन उसको आँखामा आँशु थियो। र मलाई भनेकी थिईः

“मैले मेरो वचन निभाएँ। अब म फुकाफाल भएँ होइन?”

“अब अन्तिम कुरा डिभोर्स गरिदेऊ न जेनिफर”

उसले भनेकी थिईः “हुन्छ। म घुमेर आउँछु, अनि है”

जेनिफर एकाएक हराई। दिन, महिना, वर्ष बित्यो, ऊ आइन। कोही भन्थे ऊ त अफ्रिका फर्की। अनि म पुलिसकोमा पुगेँ श्रीमती हराई भनेर। वर्ष दिनसम्म पनि श्रीमती हराएको कुरो किन नगरेको भनी मलाई नै प्रहरीले दोषी देखायो र श्रीमती खोजेर आइज भनेर तारेखमा छोडिदियो।

०००००
कोठामा आएको थिएँ। श्रीमतीको फोन आयो,

“स्वस्थानीको ब्रत लिएकी छु। आठ रोटी कोसीमा सेलाउन जाँदै छु। बगाएर हजुर भएतिर नै लान्छ रे। समुद्र न हो आखिर। चाँडै हाम्रो पेपर मिल्छ रे। मलाई लिन आउनु है”

०००००

र म अब कहिल्यै अमेरिका नआउने गरी भागेर दोहा आइपुगेको छ। आज ३ बजे दिउँसो कतार एयरवेजले नेपाल लाँदैछ। पर्खिरहेको छु। ११ घन्टा यसै बस्नु छ। उफ यो एयरपोर्टमा त रात पनि पर्दैन कि जस्तो लाग्छ। चहल पहल छ। जहाज आइरहेछन्। गइरहेछन्। म आफू चढ्ने गेटकनजिकै सोफामा ढल्किएको छु। अनायास म आफ्नो डायरीका पाना पल्टाउन थालेको छु।

एउटा पानामा जेनिफरमाथि भएका खर्चहरू लेखिएका थिए। हेर्न थालेको छु।

१. पेपर म्यारिज खर्च पन्द्र हजार डलर।
२. गाडी खरिद चालिस हजार डलर।
३. …
४. …
कुल चार लाख डलर।

तत्काल मेरो दिमागले सो झ्वाम्म भएको खर्च डलरलाई नेपाली रुपियाँमा रूपान्तरण गरेको छ, चार करोड तीस लाख।
डायरीको बिटले डाम उठाएछ। चिट्चिट पसिना आएजस्तो भएको छ। छाती चस्स चस्स घोचिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *