ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

डिसी नेपाल
१४ फागुन २०७९ १४:५०
56
Shares

काठमाडौँ। चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ।

बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू गराएका हुन्। नियम लागू भए पनि दुई पाङ्ग्रे सवारीसाधनमा २० प्रतिशतसम्म र चार पाङ्ग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको एकान्तकुनास्थित कार्यालयले जानकारी दिएको छ।

कार्यालयको चाप व्यवस्थापन गरेर अनलाइन फाराम भर्नेको परीक्षा लिइरहेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताए। सुरुमा चाप बढी भए पनि पुनःट्रायल दिने कम हुने उनको भनाइ छ। लिखित परीक्षा पास गरेका सेवाग्राहीले एक पटक प्रयोगात्मक परीक्षा पास नहुँदा पुनःदुई पटक मौका पाउने गरेका छन्। उनले भने, “एकै पटकमा धेरै पास भएपछि दोहोर्‍याएर र तेहेर्‍याएर दिने घट्ने भए।”

प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा नै पास हुने नियम अरु प्रदेशले विगतका वर्षमा नै लागू गरिसकेका थिए। सबैभन्दा बढी सेवाग्राहीको चाप रहेको बागमती प्रदेशले भने विभिन्न कारण देखाएर ढिला मात्रै सुरु गरेको थियो। अरु प्रदेशमा चाप अतिन्यून रहेको र उपत्यका बाहिरका जिल्लास्थित कार्यालयको एक सातामा आउनेभन्दा उपत्यकामा एक दिनमा चाप बढी रहेको प्रमुख कपालीले बताए।

विगतमा शतप्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुईपाङ्ग्रे सवारीसाधनमा ३५ देखि ४० प्रतिशत हाराहारीमा सेवाग्राही पास हुने गरेकामा अहिले ६० प्रतिशत पुगेको पाइन्छ। हलुका सवारी चालकको परीक्षामा सहभागीमध्ये पहिले २० पास हुने गरेकामा अहिले ३५ देखि ४० प्रतिशतसम्म पुगेको कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *