‘प्रेमा अहिलेसम्म बनेका प्रेमकथाभन्दा फरक छ’
काठमाडौँ। त्रिकोणात्मक प्रेमकथाको फिल्म ‘प्रेमा’ चैत १७ अर्थात मार्च ३१ बाट रिलिज हुँदैछ। गोविन्द सिंह भण्डारी निर्देशित फिल्म प्रमुख कलाकारहरु शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठ वरपर घुमेको छ।
फिल्ममा गोविन्द र विवेक घिमिरेको लगानी रहेको छ। अमेरिकाको बोस्टन, मेसाच्युसेटमा बस्ने विवेक फिल्म ‘चिनी कम रङ कडा’ का निर्देशक समेत हुन्। विवेक नेपालमा नेपाली कथा खोज्न मन पर्ने भएकाले ‘प्रेमा’मा लगानी गरेको बताउँछन्। ‘विदेशमा पनि नेपाली कथाहरु भेटिन्छन् । तर नेपालमा जस्तो नेपाली कथाहरु भेटिँदैन’, उनी भन्छन्।
सन् ८० र ९० को दशकबीचमा हुर्किएका विवेकको सम्झनामा त्यो समयमा मनोरञ्जनका लागि धेरै विकल्प थिएनन्। ‘बाल्यकालदेखि नै फिल्म हेरेर रमाउँथे। त्यही समयदेखि फिल्म निर्माण सम्बन्धी अध्ययन गर्छु भनेर प्रण लिएँ । जुन प्रणलाई डिग्रीमार्फत पुरा गरें’, विवेकको भनाइ छ।
विवेक ‘प्रेमा’को नौलो स्क्रिप्टले आफू तानिएको दाबी गर्छन्। उनले स्क्रिप्टपछि निर्देशक गोविन्दको काम गर्ने शैलीबाट आफू प्रभावित भएकाले पनि फिल्मसँग जोडिएको बताए।
‘गोविन्दजी र मैले पहिला ‘चिनी कम रङ कडा’मा सहकार्य गरिसकेका थियौं। मलाई फिल्म निर्माणमा चासो पहिलादेखि नै थियो । मेरो अगाडि प्रेमाको स्क्रिप्ट आएपछि त्यसको कथावस्तुले लगानी गर्न आकर्षित गर्यो’, विवेकले भने।
विवेकलाई सबै जनराका फिल्म मन पर्छ। त्यहीकारण उनी एक्सन, प्रेमकथा, कलात्मक र सांगीतिक फिल्म हेर्न छुटाउदैनन् । उनी राम्रो जनराको कन्सेप्टमा स्क्रिप्ट आउँदा लगानी गर्न उत्साहित हुन्छन्।
विवेकका अनुसार उनले ‘प्रेमा’लाई अमेरिकासहित विश्व बजारमा रिलिजको तयारी गरिरहेका छन्। ‘हामीले यसका बारेमा योजना र रणनीति बनाइसकेका छौं’, उनी भन्छन्।
विवेक ‘प्रेमा’को कास्टिङ क्रु, स्क्रिप्ट, प्राविधिकसँग सन्तुष्ट छन्। आफ्नो फिल्मको स्क्रिप्ट, कन्सेप्ट र छायाङ्कनसँगै निर्देशक गोविन्दको कामले पनि अहिलेसम्म बनेका प्रेमकथाका फिल्म भन्दा ‘प्रेमा’ फरक रहेको दाबी गर्छन्।
उनले नेपाली फिल्म निर्माताले गुणस्तरीय फिल्ममा ध्यान दिन सके नेपाली फिल्मलाई विश्वबजारमा पुर्याउन कुनै समस्या नहुने बताए। उनको अनुभवमा पछिल्लो समय विशेषत गैर आवासीय नेपालीहरुले नेपाली फिल्मप्रति चासो देखाइरहेकाले यसलाई फिल्मकर्मीले अवसरका रुपमा लिनुपर्ने सुझाव छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment