‘मिथिला माध्यमिकी परिक्रमा’मा सहभागी श्रद्धालुहरू जनकपुरधाम आइपुगे

डिसी नेपाल
२२ फागुन २०७९ १६:२७

जनकपुर। मिथिलाको बहुचर्चित सांस्कृतिक उत्सव ‘मिथिला माध्यमिकी परिक्रमा’मा सहभागी श्रद्धालुहरू सोमबार जनकपुरधाम आइपुगेका छन्।

भारतको विशौलबाट पदयात्रा गर्दै परिक्रमाबासीहरू पूर्णिमाका दिन सोमबार जनकपुरधाम आइपुगेका हुन्। मंगलबार जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि परिक्रमा पदयात्रा सम्पन्न हुनेछ।

मिथिला माध्यमिकी परिक्रमामा पैदल यात्रीहरू हनुमानगढी, तिरहुतिया गाछी, बाह्रविघा मैदान र विभिन्न मठमन्दिरहरूमा बास बस्ने गर्दछन्। मंगलबार विहान अन्तरगृह गरेपछि परिक्रमा यात्रा पूरा हुनेछन्।

त्यसपछि यात्री तथा श्रद्धालुहरू आ–आफ्नो घर फर्किने छन्। फागुन ८ गते जनकपुरधामको हनुमानगढीस्थित जम्मा भएर परिक्रमा पैदल यात्राको आरम्भ भएको थियो।

हनुमानगढीबाट सुरु भएको पदयात्रा भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोषर, औरही, करुणा, विशौल हुँदै जनकपुरधाम आइपुगेका छन्।

माध्यमिकी परिक्रमा भाग लिन नसकेको श्रद्धालुहरू अन्तरगृह परिक्रमामा सहभागी भएमा मोक्षको भागी बन्ने धार्मिक विश्वास रहेको छ। नेपाल भारत दुबै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावको प्रतिक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल रहेका छन्।

हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १०५ र भारतको २८ गरि कूल १३३ किलोमिटरको दूरीमा पैदल यात्रा गर्छन्। मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रूपमा मनाइँदै आएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *