साउदी अरेबिया र इरानबीचको कूटनीतिक सम्बन्ध पुनर्स्थापनामा पाकिस्तान र राष्ट्रसंघले के भने ?

डिसी नेपाल
२७ फागुन २०७९ १४:३४

काठमाडौं । साउदी अरेबिया र इरानबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने निर्णयको पाकिस्तान र संयुक्त राष्ट्रसंघले स्वागत गरेका छन्।

चीनमा भएको वार्तापछि साउदी अरेबिया र इरानले सात वर्षपछि कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने सहमति भएको घोषणा गरेका छन् ।

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि यस कूटनीतिक पहलले क्षेत्रीय शान्ति र स्थायित्व बढाउन मद्दत गर्नेछ।

चीनको प्रशंसा गर्दै पाकिस्तानले विज्ञप्तिमा लेख्यो, “हामी यस ऐतिहासिक सम्झौतामा चीनको दूरदर्शी नेतृत्वले खेलेको भूमिकाको कदर गर्छौं, जसले सकारात्मक संलग्नता र अर्थपूर्ण वार्ताको शक्ति देखाउँछ। हामी यो धेरै सकारात्मक गतिविधिको लागि तत्पर छौं। हामी साउदी अरेबियाको राज्य र इरानको इस्लामिक गणतन्त्रको दूरदर्शी नेतृत्वको प्रशंसा गर्दछौं ।”

पाकिस्तानले मध्यपूर्व क्षेत्रमा सकारात्मक भूमिका खेल्ने र यो पहल बाँकी क्षेत्रमा सहयोग र समृद्धिको उदाहरण बन्ने बताएको छ ।

योसँगै राष्ट्रसंघका महासचिवले पनि इरान र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने निर्णयको स्वागत गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ताले खाडी क्षेत्रमा स्थायित्व ल्याउन छिमेकी मुलुकबीचको राम्रो सम्बन्ध आवश्यक रहेको बताएका छन् ।

सन् २०१६ मा साउदीमा एक शियालाई फाँसी दिएपछि इरान र साउदी अरेबियाबीचको सम्बन्ध चिसिएको थियो । यसपछि इरानमा रहेको साउदी दूतावासमा हमला भयो र दुई देशबीचको कूटनीतिक सम्बन्ध टुटेको थियो ।

इजरायलका पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले यो निर्णयलाई लिएर नेतान्याहु सरकारलाई निशाना बनाएका छन् । साथै उनले यो निर्णयलाई इजरायलका लागि खतरनाक भनेका छन् ।

उनले यो परिवर्तनलाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारको असफलता भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *