क्रिकेट सङ्घले टिकटबाट उठेको पैसा खेलाडी कोषमा जम्मा गर्ने

डिसी नेपाल
१ चैत २०७९ २२:०९

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत भोलि हुने नेपाल र युएइबीचको खेलको टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले आज उक्त घोषणा गरेको हो ।

आर्थिक सहायता आवश्यक परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले कोष बनाइन लागिएको नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताए । नेपाल र युएइसँगको खेलबाट उठेको सबै रकम यो कोषमा जम्मा गर्ने र आउँदा दिनमा पनि यस्तै खालका आम्दानीको स्रोत पहिचान गरेर कोषको आकार बढाइनेछ ।

उनले भने, “कुनै खेलाडी बिरामी तथा अन्य कुनै समस्या परेका खण्डमा उक्त कोषबाट खर्च गर्छौं, यसले खेलाडीलाई समस्या परेका बेला सहायता गर्न सहज हुन्छ ।” नेपाल र युएइबीचको खेलको टिकट माइपेबाट अनलाइन किन्दा रु एक सय २० र गेटमा किन्दा रु एक सय ५० मा बेच्ने गरेको छ ।

लिग–२ कै अन्तिम तथा महन्वपूर्ण खेलमा नेपालले बिहीबार युएइसँग प्रतिस्पर्धा गर्दैछ । नेपाललाई सोझै विश्वकपको ग्लोबल क्वालिफायर पुग्न उक्त खेल जित्नैपर्ने दबाब छ । नेपालका लागि यो खेल महत्वपूर्ण रहेको हजारौँ दर्शकको उपस्थिति रहको अनुमान गरिएको छ ।

अहिलेसम्म १० हजारभन्दा बढी टिकट बिक्री भइसकेको जनाइएको छ । लिग टु मा नेपालको ३५ खेलबाट ३८ अङ्क रहेको छ । भोलिको खेल जिते नेपाल शीर्ष ३ मा रहँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *