स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्न सकेन्
घोराही। दाङका दशवटै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले चार वर्षदेखि यहाँ स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको हो।
आर्थिक अभावका कारण समस्यामा परेका नागरिकलाई स्वास्थ्य सेवामा पहुँज पुर्याउने उद्देश्यले कार्यक्रम लागु भए पनि जिल्लामा खासै आकर्षण नदेखिएको राष्ट्रिय बीमा बोर्ड दाङका प्रमुख गुद्धलाल वलीले बताए। चार वर्षदेखि कार्यक्रम सञ्चालन गरिएको भए पनि बीमा गर्नेको सङ्ख्या बढ्न नसकेको उनको भनाइ छ।
प्रमुख वलीका अनुसार जिल्लाका दशवटै पालिकामा ३२ हजार आठ सय बढीले बीमा गरेका छन्। हालसम्म १६ हजार नौ सय ३३ महिला र १५ हजार आठ सय ६७ पुरुषले बीमा गरेका हुन्। सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा १५ हजार पाँच सय ९१ बिमित छन्।
तुलसीपुर उपमहानगरपालिकामा सात हजार सात सय ३८, लमही नगरपालिकामा एक हजार सात सय ६७, बबई गाउँपालिकामा एक हजार चार सय ३९, बङ्गलाचुली गाउँपालिकामा छ सय ७५, दङ्गीशरण गाउँपालिकामा आठ सय ९७, गढवा गाउँपालिकामा सात सय ७९, राजपुर गाउँपालिकामा पाँच सय ३३, राप्ती गाउँपालिकामा एक हजार चार सय ४३ र शान्तिनगरमा एक हजार ४० बिमित रहेका प्रमुख वलीले जानकारी दिए।
उहाँका अनुसार हालसम्म बीमा गर्नेमध्ये सामान्य परिवारका १७ हजार आठ सय ३३, ज्येष्ठ नागरिक १० हजार दुई सय ३६, अति अशक्त एक हजार तीन सय ५२, महिला स्वास्थ्य स्वयम्सेविका एक हजार एक सय ९१, एचआईभी सङ्क्रमित दुई सय २८, एमडिआर टिभी १० र लेप्रोसी रोगका चार जना छन्।
“आर्थिक रूपमा समस्यामा परेका परिवारलाई उपचार सेवा लिन सहजताका लागि बीमा कार्यक्रम ल्याइएको भए पनि चेतनाको अभावका कारण बीमा गर्नेको सङ्ख्या बढ्न सकेको छैन”, प्रमुख वलीले भने।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र स्युजा र बङ्गलाचुली अस्पतालले बीमा गरे बापत उपचारका लागि रकम उपलब्ध गराउँदै आएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment