अबको एनआरएनए अधिवेशन एकताको अधिवेशनः पूर्व अध्यक्ष घले

दीपक धिताल
६ चैत २०७९ १८:३८

जर्मनी। गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेले विगतका तिता मिठा विषय भुलेर एक सिंगो एनआरएनए अभियान बनाएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।

गत साता जर्मनीको फ्रयांकफर्टमा आएका बेला डिसी नेपालसँग कुरा गर्दै व्यवसायी समेत रहेका पूर्वअध्यक्ष घलेले अबको अधिवेशन एकताको अधिवेशन बनाएर अघि बढ्नुपर्ने बताए।

एक बर्ष पहिले तपाईले छुट्टै अधिवेशन गराएसँगै एनआरएनए त समानान्तर रुपमा अघि बढ्यो नि भन्ने प्रश्नमा घले भन्छन्, ”त्यो अधिवेशन त एक इभेन्ट थियो, त्यो इभेन्ट पुरा गर्ने जिम्मा मेरो काँधमा थियो, मैले के मेरो जिम्मेवारी पुरा गरेर गल्ति गरें र?”

एनआरएनए संस्था समानान्तर रुपमा अघि बढेको भन्ने प्रश्नमा चित्त नबुझाएका घलेले आफूले गराएको अधिवेशनबाट आएको कार्यसमिति आधिकारीक भएकाले एक मात्र एनआरएनए रहेको आशय व्यक्त गरे।

घलेसँगै रहेका एनआरएन जर्मनीका संस्थापक अध्यक्ष दिल गुरुङले तत्कालिन अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्री केसी लगायतका पदाधिकारी सहमतिमा आउन तयार रहँदा कुल आचार्य लगायत समर्थकको पदलोलुपताले षडयन्त्र सिर्जना भएर संस्थामा विश्वास टुटेको आरोप लगाए।

गुरुङको आरोपमा घलेले स्वीकारोक्ति दिँदै थपे, ”हामी पुराना साथीहरु त सँगै छौं नि, देखि हाल्नुभयो, जीवा जी (पूर्व अध्यक्ष जीवा लामिछाने) म लगायतका साथी कहिल्यै फरक बाटोमा लाग्न सक्छौं र? हामी त हिजो पनि सँगै थियौं र आज पनि छौं, हाम्रो सहकार्य भोलिका दिनमा पनि जारी रहनेछ। हामीलाई देखाएर नमिलेका त अहिले नेतृत्व गर्छु भनेर आएका नयाँ साथिहरु होइन र, अहिलेको स्थितिले त्यो त छर्लंगै देखायो नि।”

आफूहरु एकै अभियानदेखि व्यवसायिक साझेदारसम्म रहेकाले छुट्टिने विषय नभएको भन्दै घलेले आफू व्यवसायिक शिलशिलामा पूर्व अध्यक्ष जीवा लामिछाने, कुमार पन्त लगायत उपलब्ध एनआरएनए अभियन्ता भेट्न फ्रयांकफर्ट ओर्लेको बताए।

अहिले विदेशमा नेपाल र नेपालीको लागि धेरै संस्थाहरु खुलेको भएपनि एनआरएनए अभियानले मात्र सबैलाई सधैं एकै ठाउँमा समेट्न सक्ने भएकाले True Diaspora Organization को अवधारणा सहित अब अघि बढ्नुपर्ने बताए।

गत बर्षको आफ्नो जिम्मेवारी पूरा गरेसँगै आफू अब अभियानमा सक्रिय नभएपनि एकताको लागि सधैं सहयोग रहने उनको प्रतिबद्धता थियो।

यसैगरी जर्मनी निवासी पूर्वअध्यक्षद्धय जीवा लामिछाने र कुमार पन्तले पनि विगतमा केहि मुद्दामा थोरै मतभिन्नता मात्रै रहेको तर ती मुद्दा टुंगिएसँगै मनभिन्नता पनि सकिएकाले अब जुटेर जानु सबैका लागि सकारात्मक रहेको जवाफ दिए।

सामाजिक संस्थाहरु कहिल्यै पनि समाज टुटाउन नभइ जुटाउन निर्माण गरिने भएकाले विगतबाट पाठ सिकेर अबको एनआरएनए अभियान साँच्चै नै एकताको अभियान बनाएर अघि बढ्न सबैजना खुल्ला भएर लाग्न आव्हान समेत गरेका छन्।

आफूहरु सहयोगी भूमिकामा सदैव रहने र आगामी पूस्ताले एउटा कुशल नेतृत्व प्रदान गर्नेमा आशावादी रहको दुई पूर्व अध्यक्षहरुको भनाइ थियो।

घले समुह र संस्थापक समुहबीचको अन्तरविरोधले गर्दा गतबर्ष देखि एनआरएनए संस्थाको नाममा समानान्तर दुई संस्था अघि बढेका छन्।

संस्थापन पक्षसँग तत्कालिन असन्तुष्ट घले समूहले विनोद कुँवरको अध्यक्षतामा कार्यसमिति घोषणा गरेको थियो भने संस्थापन पक्षले तत्कालिन घलेको पक्षमा रहेका कुल आचार्य सहित बद्री केसी र रबिना थापा अध्यक्ष रहेको त्रिअध्यक्षीय कार्यसमिति बनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *