बिर्सनै नसक्ने घटनाबाट ‘प्रेमा’को जन्म : निर्देशक गोविन्दसिंह भण्डारी

डिसी नेपाल
८ चैत २०७९ १४:५०
84
Shares

काठमाडौँ। आधा दर्जन नेपाली फिल्ममा सह–निर्देशक रहेर काम गरेका निर्देशक गोविन्द सिंह भण्डारीले आफ्नो पूर्ण निर्देशकीय ‘डेब्यू’ फिल्म ‘रणवीर’बाट राम्रै चर्चा पाए।

साउथ फिल्ममा काम गरिसकेका भण्डारीले साउथको एक्सन फ्लेभरलाई ‘रणवीर’मा प्रस्तुत गरेका थिए। अहिले यिनै गोविन्द प्रेमकथाको फिल्म ‘प्रेमा’लिएर आगामी चैत १७ (मार्च ३१)बाट दर्शकमाझ आउँदैछन्। फिल्ममा शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्रीको प्रमुख भूमिकामा अभिनय छ। फिल्मको तेलुगु, तमिल र हिन्दी भर्सन ओटीटीमा रिलिज हुँदैछ।

पहिलो लेखन प्रेमा

लेखनका हिसाबले ‘प्रेमा’ भए पनि निर्देशन र रिलिजको हिसाबले ‘रणवीर’ पछि दोस्रो फिल्म हुनेछ। ‘प्रेमकथाले दर्शकलाई रोमान्टिक बनाउँछ र यसले मान्छेलाई जोड्ने काम गर्छ। कुनै न कुनै उमेरमा आफूभन्दा विपरित लिगसँग जोकोही आकर्षित हुने गर्छ’, उनी भन्छन्, ‘मैले प्रेमा र रणवीरको स्क्रिप्ट सँगै लेखेको थिएँ। पहिला प्रेमा बनाउन चाहन्थे, तर समय र परिस्थितिले गर्दा रणवीर बन्यो।’

प्रेमाको जन्म

गोविन्दका अनुसार ‘प्रेमा’ वास्तविक व्यक्तिबाट प्रभावित भएर लेखिएको थियो । गोविन्दले जीवनको कुनै समयमा एक युवती भेटेका थिए, जोबाट प्रभावित भएर उनले ‘प्रेमा’ लेखे।

‘प्रेमाको वास्तविक चरित्र जुन युवतीमा पाएँ, त्यो चरित्रलाई समातेर अघि बढ्न सक्छु भन्ने लाग्यो । किनकी ऊ साधारण भएर पनि उसमा अरुलाई आफूतिर आकर्षण गर्ने क्षमता छ। मान्छेहरु बढी चमकधमक भएको वस्तुतिर आकर्षित हुन्छन्। तर प्रेमाको चरित्र आफैंमा शान्त सुशील हुँदा पनि उसमा आकर्षक व्यक्तित्व छ’, गोविन्द भन्छन्, ‘त्यो चरित्रलाई लिएर कथा भन्न मन थियो। मान्छेको जीवनमा केही घटना यस्ता हुन्छन्, जुन उसले कहिल्यै बिर्सन सक्दैन। प्रेमाको कथा पनि त्यस्तै घटनाबाट प्रभावित भएर लेखिएको हो।’

प्रेमाको अर्थ

गोविन्दाका अनुसार ‘प्रेमा’ संस्कृतबाट आएको शब्द भए पनि यसलाई तेलुगूमा बढी प्रयोग गरिन्छ। जसको अर्थ ‘माया’ हो। नेपाली फिल्ममा जुनसुकै गीतमा ‘माया’ शब्द जोडिए जस्तै साउथका हरेक फिल्मका गीतमा ‘प्रेमा’ अनिवार्य जस्तै छ।

पात्र भेट

गोविन्दले वास्तविक पात्रलाई नियमित रुपमा त भेटेनन्। तर जति भेट भयो, त्यो पात्रलाई जान्ने र बुझ्ने अवसरले उनलाई कथालाई अगाडि बढाउने बाटो देखाइदियो।

‘आम रुपमा कोही राम्री युवती देख्दा उसलाई जिस्क्याउने अथवा नराम्रो नजरले हेर्ने गरेको देखिन्छ। तर ‘प्रेमा’को वास्तविक चरित्रको सवालमा फरक अवस्था थियो। उसलाई कसैले पनि गलत अर्थ र गलत नजरले हेरेको र बोलेको सुनिनँ । सबैले सम्मानपूर्व उनको प्रशंसा गर्थे’, गोविन्दले सम्झिए, ‘त्यो मेरा लागि ‘सरप्राइज’ नै थियो। ’

डोभ एस–सिमेन्सबाट प्रभावित

गोविन्द भारतमा बस्दा उनले हलिउड फिल्म निर्देशक डोभ–एस सिमेन्सको बारेमा सुनेका र पढेका थिए। डोभ चिनियाँ फिल्म एकेडेमीका संस्थापक, हलिउड फिल्म इनिस्टिच्युटका संस्थापक र ग्लोबल फिल्म स्कुलका डिन तथा संस्थापक हुन्। डोभ प्रशिक्षणका लागि नेपाल पनि आइसकेका छन्।

गोविन्दले डोभ एस–सिमेन्सले टु डे फिल्मस् स्कुलमा दिएको प्रशिक्षणको भिडियो कोर्षलाई अनलाइनमा हेरेर फिल्म मेकिङ सम्बन्धी प्रशिक्षण लिएका थिए। ‘सिमेन्सले ‘पहिलो फिल्म गर्दा बजेट सीमित राख्नु, काम यस्तो होस् कि निर्देशकको काम बढी देखियोस्’ भन्नुहुन्थ्यो। गीतलाई कोरियोग्राफी, एक्सनलाई फाइटमास्टर राखिदिँदा निर्देशकको काम के त ? त्यसकारण कथावाचनको शैली राम्रो हुनुपर्छ भन्नुहुन्थ्यो। चरित्र र सिमेन्सको भनाईलाई लिएर प्रेमा लेखेको हुँ’, उनले भने।

यसरी छानिए कलाकार

गोविन्दको बुझाईमा स्क्रिप्ट लेख्दा एउटा ‘इमेज’ दिमागमा आउँछ। ‘प्रेमा’ लेखिरहँदा उनको दिमागमा पात्रको कपाल, अनुहार, उचाई र शरीरको वनावट बनाइसकेको थियो। शुभेक्क्षासँग उनले ‘रणवीर’मा काम गरिसकेका थिए। त्यसकारणले शीर्ष चरित्रमा शुभेक्क्षा ‘फिट’ छिन् भन्ने कुरामा उनी ढुक्क थिए।

‘म वास्तविक पात्र र फिल्मको पात्रसँग नजिक थिएँ। शुभेक्क्षासँग पहिला पनि काम गरिसकेको हुनाले शुभेक्क्षाले प्रेमा चरित्र निर्वाह गर्न सक्छिन् भन्नेमा म ढुक्क थिएँ’, गोविन्द भन्छन्, ‘शुभेक्क्षालाई सबै कुरा भनेर, स्क्रिप्ट पढ्न लगाएर, न्यारेसन सुनाएर ‘तिमी क्रिएटिभली स्क्रिप्ट मनपर्छ भने मात्र काम गर’ भनें।’

गोविन्द नयाँ अनुहारसँग काम गर्न मनपराउँछन्। फिल्मका लागि चाहिने प्रमुख पुरुष पात्रका लागि उनले धेरैजनासँग अडिसन लिएका थिए। तर उनले सोचेको जस्तो पात्र फेला पार्न सकेका थिएनन्। त्यही बेला फिल्म सम्पादक कृष्ण भण्डारीले अरुण क्षेत्रीको नाम लिए। अरुण त्यो समयमा रेनाशा वान्तवा राईको फिल्म ‘आइ एम २१’मा काम गरिरहेका थिए।

कृष्णले अरुणसँग कुरा गरेर उनको तस्वीर गोविन्दलाई पठाइदिए। तस्वीर हेर्दा उनले खोजकै जस्तो पात्र अरुणमा पाए । ‘तर तस्वीरमा भन्दा वास्तविकतामा मानिस फरक हुन्छन्। मैले अरुणको अडिसन लिनुभन्दा पनि सुटिङ हेर्ने बहानामा उसको काम हेर्छु भन्ने निर्णय लिएँ। सुटिङमा गएर हेर्दा अरुणको काम, शारीरिक हाउभाउ राम्रो लाग्यो। अनि उसलाई अडिसनमा बोलाएँ’, गोविन्दले सम्झिए।

सृष्टिबाट प्रभावित गोविन्द

सृष्टिसँग गोविन्दको पहिलो सहकार्य हो। तर उनले सृष्टिका फिल्म भने हेरेका थिए। सृष्टिसँगको पहिलो सहकार्यबाटै उनी प्रभावित भएका रहेछन् ।

‘सृष्टि काममा ध्यान दिने कलाकार हुन्। यो तरिकाले काम गर्ने मान्छेसँग मैले अहिलेसम्म सहकार्य गरेको थिइनँ’, गोविन्द भन्छन्, ‘सृष्टि प्रि–प्रोडक्सनअन्तर्गत वर्कसपमा नोट लिएरै बस्थिइन्। म बोलिरहँदा उनी नोट गरिरहेकी हुन्थिइन्। उसले के लेखिरहेको छ भन्ने हामीलाई थाहा पनि हुँदैन थियो । उनी समयमै सुटिङ सेटमा आउँथिइन्। कतै ढिलो हुने अवस्था भएमा खबर गर्थिइन्। उसको फिल्म हेरिसकेको हुनाले काम गर्न गाह्राे हुँदैन भन्ने अनुभव भयो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *