तस्बिरमा हेर्नुहोस् असनको अजिमा जात्रा

डिसी नेपाल
८ चैत २०७९ १९:३२

काठमाडौं। नेवार समुदायको पाँहाचह्रे जात्रा अन्तर्गत बुधबार काठमाडौंको असनमा लुमरी अजिमा (भद्रकाली), ओतु अजिमा र कंग अजिमाको जात्रा  धूमधामका साथ मनाइएको छ।

हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् भद्रकाली अजिमा, कङकेश्वरी अजिमा र टेबहाल अजिमालाई आ आफ्नो ठाउँबाट बाजा गाजासहितको टोलीले खट जात्रा गरी असन पुर्‍याएर जात्रा मनाउने परम्परा छ।

तीन ठाउँबाट आएका अजिमा असनमा भेला गराई एक आपसमा तीन फन्को घुमाइ एक अर्कालाई आदरसम्मान गरी आगो (चिलाख) साटासाट गरिन्छ।

यही चिलाख साटासाट गर्ने परम्परालाई असनमा खट जुधाउने भन्ने प्रचलन रहिआएको हो।

खट असन चोक पुगेपछि घरघरबाट चामलको रोटी अर्थात् चटामरी फाल्ने गरिन्छ जसलाई प्रसादको रूपमा लिइन्छ यसरी फालिएको चटामरी फेला पार्नेलाई शुभ हुने जनविश्वास रहिआएको छ।

असनमा चिलाख साटासाट गरेपछि तीन वटै अजिमा आ–आफ्नो स्थानमा लगिन्छ र यस दिन काठमाडौंको भित्री सहरमा परिक्रमा गरी यो जात्रा मनाउने गरिन्छ।

यसै अवसरमा काठमाडौंका विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ।

तस्बिरः रत्न श्रेष्ठ\रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *