‘बहाव’को कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ : अभिनेत्री सुरक्षा पन्त

डिसी नेपाल
९ चैत २०७९ १०:२१
88
Shares

काठमाडौँ। अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा सुरक्षाले प्रेमी, विद्रोही र साइको किसिमको चरित्रमा अभिनय गरेकी छन्।

फिल्मको सार्वजनिक ट्रेलरमा सुरक्षालाई सुँगासँग संवाद गरेको र सुँगाको निकट रहेको देख्न सकिन्छ। चितवनमा फिल्मको दुई महिने वर्कसप र सुटिङ चल्दा सुरक्षा सुँगासँग बढी नजिकिइन्।

‘म सुँगासँग दुई महिना वर्कसपमा बसें। हामी जनावर भन्ने बित्तिकै छि छि दुरदुर गर्छौ। सुँगासँगको मेरो अनुभव केही फरक रह्यो’, सुरक्षा भन्छिन्, ‘मैले सुँगालाई निस्की भनेर पिँजडाको ढोका खोलिदिए पनि उ निस्किएन। उसमा अन्यौल थियो। उसमा डर पनि हुँदो रहेछ । उसले हाम्रो भाषा बुझ्ने भए पनि ऊ समझदार थियो । जनावरमा आफैंमा अनौठो किसिमको गुण हुँदो रहेछ। फिल्मको कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ।’

सुरक्षाको अनुभवमा सुरुमा सुँगा उनीसँग नजिकिएन। तर विस्तारै सुँगा सुरक्षासँग नजिकियो। ‘मसँग सुँगा सुरुमा मानेन । तर ऊसँग बस्दै बोल्दै गएपछि उसले मलाई पत्यायो। जबकी मबाहेक अन्य व्यक्तिसँग सुँग नजिकिएन’, उनी भन्छिन्, ‘बिस्तारै सुँगा मसँग यति नजिकियो कि मेरो खुट्टा वरपर नै घुम्न थाल्यो। राती सुत्दा पनि सुँगा मेरो सिराने छेउमा रहेको स्टेण्ड लाइटमा गएर खुट्टा अड्काएर सुतिरहेको हुन्थ्यो।’

ट्रेलरमा सुरक्षाले सुँगासँग ‘तलाई उड्न मन लाग्दैन हो’भनेर सोधेकी छन्। तर सुरक्षाको अनुभवमा सुँगालाई उड्न मन लागे पनि ऊभित्र एक किसिमको डर छ। ‘सुँगामा उड्न चाहने इच्छा भए पनि उडानमा उसलाई खस्ने डर छ। अथवा उसको गन्तव्य निश्चित छैन। किनकी ऊ पिँजडाभित्रै रमाइरहेको छ’, सुरक्षा भन्छिन्।

सुरक्षाले आफू फिल्मको अर्को सुँगा भएको दाबी गरिन्। ‘म घरबाट निस्कन चाहन्छु र तर समय तथा बाध्यताले त्यो अवस्था हुन दिँदैन। म बहावको अर्को सुँगा हुँ’, उनले भनिन्।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ। ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ लाई प्रमुख विषय बनाइएको फिल्ममा श्रीधर पौडेलको लगानी छ। श्रीधरले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए।

फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ। सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ।

फिल्ममा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जीत क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *