बर्दिबासका नगरप्रमुखलाई एउटै निर्णय कार्यान्वयन गर्न ९ महिना लाग्यो

डिसी नेपाल
१० चैत २०७९ २२:५४

महोत्तरी। बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले पदभार ग्रहण गरेको पहिलो दिनमा नै नगरको गाडी प्रयोग नगर्ने घोषणा गरे।

तर केही समयपछि नै नगरको गाडीलाई एम्बुलेन्स बनाउने र आफ्नै निजी गाडी प्रयोग गर्ने प्रतिबद्धता जनाएका नगरप्रमुख क्षेत्री आफ्नै प्रतिबद्धतामाथि डगमगाउँदै गए।

प्रतिबद्धताका वावजुद पनि पुनः नगरकै गाडीको नै प्रयोग गरेको भेटिएपछि नगरप्रमुख क्षेत्रीको निकै आलोचना भयो। अघिल्ला नगरप्रमुखले चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका उनले विभिन्न सरकारी कार्यालय अर्थात मन्त्रालय जादा सरकारी नम्बर प्लेटको गाडी नै चाहिने महसुस गरे। केही समय प्रयोग पनि गरे।

तर एउटा सरकार प्रमुखले जनतासामु गरेको प्रतिबद्धता कति धेरै महँगो पर्दो रहेछ भन्ने बर्दिबास नगरपालिकाका नगरप्रमुख क्षेत्री आफैले प्रमाणित गरेका छन्।

प्राथमिकतामा राखेको पहिलो प्रतिबद्धता पूरा गर्न नै नगरप्रमुख क्षेत्रीलाई ९ महिना लागेको छ। निकै आलोचना आएपछि निर्वाचित भएको ९ महिनापछि नगरप्रमुख क्षेत्रीले आफू चढने गाडी बिहीबार बर्दिबास अस्पताललाई हस्तान्तरण गरेका छन्।

नगरप्रमुख क्षेत्रीले एक कार्यक्रमका बीच बा २ झ ३७६१ नम्बर प्लेटको गाडी बर्दिबास अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मालाइ हस्तान्तरण गरे।

अबदेखि नगरप्रमुख क्षेत्री आफ्नै निजी गाडी न.३७८० मा सवार हुनेछन्। अस्पतालका कर्मचारी र वडाका बिरामी बोक्न छरितो हुने भएकाले अस्पताललाई हस्तान्तरण गरिएको नगरप्रमुख क्षेत्रीले बताए।

सस्तो लोकप्रियताका लागि एम्बुलेन्स बनाउने निर्णयमा सुरुदेखि नै आलोचना खेप्दै आएका नगरप्रमुख क्षेत्रीले सामान्य निर्णय समेत कार्यान्वयन गर्न नसकेको भन्दै सर्वसाधारणले प्रश्न उठाउँदै आएका थिए।

अस्पतालमा सुधार ल्याउँदै

निर्वाचित भएदेखि नै स्वास्थ्य उपचार सुधारमा लागेका क्षेत्रीले अस्पतालमा निक्कै सुधार ल्याएका छन्।

एक्सरे, भिडियो एक्सरे, ईसीजी, फार्मेसी, स्वास्थ्य बीमा, भर्ना सेवा जस्ता सेवाहरूले सर्वसाधारणले निजी अस्पतालमा तिर्नुपर्ने महँगो शुल्कबाट आजकाल राहत पाएका छन् ।

अस्पतालले जेष्ठ नागरिक स्याहार केन्द्र, एकीकृत हिंसा व्यवस्थापन, सामाजिक सुरक्षा सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, किशोर–किशोरी सेवा, पोस्टमार्टम सेवा, क्षयरोग उपचार सेवा, काउन्सिलिङ तथा प्रेषण सेवा, होल बडी चेकअप सेवा जस्ता सेवाहरू विस्तार गरेसँगै बर्दिबास मात्र होइन, महोत्तरी क्षेत्र नं.– १ कै लागि बर्दिबास उपयुक्त उपचार केन्द्र बन्ने विश्वास गरिएको छ।

अहिलेसम्म १७८ भन्दा बढी आमाहरुको सिएस गरेर सुरक्षित सुत्केरी गराएको अस्पताल प्रशासनले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *