प्रिमियरमा ‘प्रेमा’लाई उत्साहजनक प्रतिक्रिया

डिसी नेपाल
१६ चैत २०७९ १०:१६
100
Shares

काठमाडौँ। शुक्रबारबाट रिलिज हुने फिल्म ‘प्रेमा’ले राजधानीमा बुधबार साँझ ग्राण्ड प्रिमियर गरेको छ। प्रिमियरपछि फिल्मकर्मीले फिल्मप्रति उत्साहजनक प्रतिक्रिया दिएका छन्।

फिल्म ‘महापुरुष’की डेब्यू अभिनेत्री अञ्जना बराइलीले फिल्म आफूलाई राम्रो लागेको बताइन्। उनले फिल्मको प्रमुख तीन कलाकार अरुण क्षेत्री, शुभेच्क्षा खड्का र सृष्टि श्रेष्ठको अभिनय मनपरेको जनाइन्। ‘नेपालमा पनि प्रेमकथाका फिल्म बन्छन्। प्रेमाको प्रेमकथा यहाँको कथा र प्रस्तुतीकरण भन्दा फरक लाग्यो’, उनले भनिन्।

अभिनेता तथा मोडल कुन्साङ लामाले धेरैपछि राम्रो रोमान्टिक फिल्म हेर्न पाएको खुलाए। ‘शुभेच्क्षा मेरो मनपर्ने कलाकार हो। उनको अभिनय अब्बल छ। अहिलेको युवापुस्ताको प्रेमसँग फिल्मको कथा कहिँ कतै जोडिन्छ’, उनले भने।

अभिनेत्री सन्ध्या केसीले फिल्मले आम दर्शकलाई मनोरञ्जन दिनेमा आफू ढुक्क रहेको बताइन्। ‘फिल्मका प्रमुख तीन कलाकारको अभिनय राम्रो छ । फिल्मले दर्शकलाई बाँधेर राख्छ’, सन्ध्याले भनिन्।

फिल्मका अभिनेता अरुण क्षेत्रीले आफू हिजोसम्म ‘न्यूट्रल’ रहे पनि प्रिमियरपछि प्राप्त प्रतिक्रियाबाट ढुक्क रहेको बताए। ‘हिजोसम्म म न्यूट्रल अवस्थामा थिएँ। किनकी फिल्म बाहिर आइसकेको थिएन । तर आज प्रिमियरमा प्राप्त प्रतिक्रियाले म उत्साहित छु’, अरुणले भने।

अभिनेत्री शुभेच्क्षा खड्काले आफ्नो अभिनयको तारिफ सुन्दा खुशी लागेको बताइन्। ‘म अत्यन्त खुशी छु। मेरो मेहनतलाई सबैले स्वीकारिदिनुभएको छ। मेरो भूमिकाले तारिफ पाउँदा आभारी छु’, शुभेच्क्षाले भनिन्।

निर्देशक गोविन्द सिंह भण्डारीले फिल्म हेरिरहँदा जोकोहीले आफूलाई पात्रसँग कनेक्ट गरेको बताए। ‘मेरो कथा र निर्देशनप्रति दर्शकहरु सहमत हुनुहुन्छ भन्नेमा प्रिमियरपछि प्राप्त प्रतिक्रियाले म ढुक्क भएँ’, उनले भने।

निर्माता विवेक घिमिरेले फिल्मको टिमले राम्रो काम गरेको छ भन्नेमा आफू ढुक्क रहेकोमा प्रिमियरपछि प्राप्त प्रतिक्रियाले थप ढुक्क भएको खुलाए। ‘मैले स्क्रिप्ट पढ्दा खेरी नै फिल्ममा लगानी गर्न मन लागेको थियो। आजको प्रिमियरपछिको प्रतिक्रियाले मेरो लगानी खेर नजानेमा म आशावादी छु’, उनले भने।

निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण भएको हो।

फिल्ममा अरुण, सुभेक्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ। फिल्मको कार्यकारी निर्माता सामर्थविक्रम थापा हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *