कपाल नढाकेको भन्दै २ महिला गिरफ्तार, टाउकोमा दही फ्याँकियो
काठमाडौं । इरानमा दुई महिलामाथि दही फ्याँकेपछि उनीहरूलाई पक्राउ गरिएको छ । महिलाको कपाल नढाकेका कारण उनीहरू पक्राउ परेको अनुमान गरिएको छ ।
यस घटनासँग सम्बन्धित भाइरल भिडियोमा एक पुरुष दुई महिला ग्राहकसँग कुरा गर्न आउँछन् र केही बेरमा पसलमा राखिएको दही दुवै महिलाको टाउकोमा फालेका छन् ।
इरानको न्यायपालिकाले ती दुई महिलालाई सार्वजनिक रूपमा कपाल देखाएको आरोपमा हिरासतमा लिइएको बताएको छ, जुन इरानमा गैरकानूनी छ।
त्यसैगरी सार्वजनिक स्थानमा हड्ताल गरेको आरोपमा दही फाल्ने व्यक्ति पनि पक्राउ परेका छन् ।
इरानमा हिजाब विरुद्ध महिनौंदेखि भएको प्रदर्शनका बीचमा यी महिला पक्राउ परेका हुन्।
इरानको न्यायपालिकाले यस मामिलामा पसलका मालिकलाई पनि कानूनको पालना सुनिश्चित गर्न नोटिस जारी गरिएको जनाएको छ।
इरानमा महिलालाई हिजाब नलगाई बाहिर निस्कनु गैरकानुनी मानिन्छ । तर, कतिपय ठूला सहरहरूमा यो नियमको बाबजुद पनि महिलाहरू हिजाब नलगाई घुमिरहेको देख्न सकिन्छ।
गत वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा हिजाबको विरुद्धमा ठूलो मात्रामा प्रदर्शन भएको थियो। महसा अमिनीलाई हिजाब राम्रोसँग नलगाएको भन्दै हिरासतमा लिइएको दाबी गरिएको छ ।
हालसम्म हजारौं प्रदर्शनकारी पक्राउ परेका छन् र डिसेम्बरमा चार प्रदर्शनकारीलाई फाँसी दिइएको थियो।







डिसी नेपाल







Facebook Comment