दलको झण्डा र कृषि औजारसहित मिटरब्याज पीडितको प्रदर्शन (फोटोफिचर)

डिसी नेपाल
२० चैत २०७९ १७:०८

काठमाडौं । मिटरब्याजपीडितले सोमबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । गत सोमबार सिरहाबाट हिँडेर काठमाडौंमा आएर विभिन्न माग राख्दै संघर्ष गरिरहेका बेला अर्को मिटरब्याजपीडित टोली पनि काठमाडौं आइपुगेको छ ।

जसले सोमबार माइतीघर मण्डलादेखि भद्रकालीसम्म विरोध प्रदर्शन गरेका छन् । सिंहदरवार अगाडि मिटरब्याजविरुद्ध कार्यक्रम गरेका उनीहरुले कीर्ते तमसुक खारेज गर्नुपर्ने, हडपेको आफ्नो जमिन फिर्ता हुनुपर्नेलगायतका माग राखेका छन् । उनीहरु शान्तिबाटिकामा बस्ने बताइएको छ ।

गत शनिबार सरकारले पीडितसँग पाँच बुँदे सहमति गर्दै मिटरब्याजीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो । जसअनुसार सोमबार बिहान सप्तरीको राजविराजबाट जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशीलाई मिटरब्याजीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

साथै सरकारले आयोग गठन गरे मिटरब्याजको समस्या समाधान गर्ने र पीडितलाई न्याय दिने बताएको छ । यसबारे आइतबार संसदमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको समस्या दीर्घकालीन समाधान गर्न र पीडितलाई न्याय दिन आयोग गठन गर्ने बताएका थिए । तर, पीडित र सरकारबीच भएको पाँच बुँदे सहमति फितलो रहेको भन्दै सोमबार उनीहरूले प्रदर्शन गर्दै आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

१३ चैतमा काठमाडौंमा आएको मिटरब्याज पीडितसँग सरकारले पाँच बुँदे सहमति गरेको भए पनि अर्को समूहले भने सो सहमति फितलो रहेको दाबी गरेको हो । सहमतिप्रति असन्तुष्ट समूहले सोमबार प्रदर्शन गरेको हो ।

सोमबार भएको प्रदर्शनमा राजनीतिक दलको झण्डासमेत प्रयोग भएको छ । सोमबार काठमाडौंमा आएका मिटिरब्याजपीडितहरूले मिटरब्याजविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन् । किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आवद्ध भएर सोमबार पीडितहरूले प्रदर्शन गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *