फिनल्याण्ड अप्रिल ४ मा नेटोको सदस्य बन्दै

डिसी नेपाल
२० चैत २०७९ २२:१६
200
Shares

हेलसिङ्की । फिनल्याण्ड आगामी अप्रिल ४ तारिखदेखि औपचारिक रूपमा उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नेटो) को ३१औँ सदस्य बन्ने भएको छ ।

फिनल्याण्डका राष्ट्रपतिको कार्यालयले सोमबार यस निर्णयबारे जानकारी गराएको हो । फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो, विदेशमन्त्री पेक्का हाभिस्टो र रक्षामन्त्री एन्टी काइकोनेनले ब्रसेल्सस्थित नेटो मुख्यालयमा हुने सम्मेलनमा सहभागी हुने कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

फिनल्याण्डको तर्फबाट हाभिस्टोले मङ्गलबार ब्रसेल्समा अमेरिकी विदेश मन्त्रालयमा यसबारे आवश्यक उपस्थिति जनाउने छन् । यस अवसरमा नेटोको मुख्यालय बाहिर देशको झण्डा फहराइनेछ । ब्रसेल्समा नेटो सदस्य राष्ट्रहरूका विदेश मामिला मन्त्रीहरूको अप्रिल ४ देखि ५ तारिखसम्मको बैठक अघि बोल्दै गठबन्धनका महासचिव जेन्स स्टोल्टेनबर्गले भनेका छन् “हामीले नाटोको आधुनिक इतिहासमा सबैभन्दा छिटो अनुमोदन प्रक्रिया देखेका छौँ ।”

स्वीडेनसँगै, फिनल्याण्डले सन् २०२२ मे १८ तारिखमा आफ्नो आधिकारिक आवेदनपत्र बुझाएको थियो । यद्यपि स्वीडेनको आवेदनलाई टर्किए र हङ्गेरीले अनुमोदन गर्न बाँकी छ । “म स्वीडेनलाई सकेसम्म चाँडो नेटो परिवारको पूर्ण सदस्यको रूपमा स्वागत गर्न तत्पर छु,” स्टोल्टेनबर्गले यसलाई “उच्च प्राथमिकता” भन्दै भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *