४१ वर्षपछि डिस्को डान्सरको रिमेक
मुम्बई। अभिनेता मिथुन चक्रवर्तीको आधिकारिक जीवनी ‘द दादा अफ बलिउड’मा उनको फिल्म ‘डिस्को डान्सर’ सय करोड रुपैयाँ कमाउने पहिलो बलिउड फिल्म हो भनी दाबी गरिएको छ । तर, भारतीय बक्सअफिसमा यो रेकर्ड भने अभिनेता आमिर खानको फिल्म ‘गजनी’को नाममा छ। दाबी आ–आफ्नै भए पनि मिथुनका फ्यानका लागि एउटा खुशीको खबर छ।
मिथुनको ‘डिस्को डान्सर’ रिलिजको ४० वर्ष पुरा भएको छ। सन् १९८२ मा निर्माण भएको यो फिल्मको ४१ वर्षपछि सिक्वेल निर्माण हुँदैछ। फिल्मका निर्माता तथा निर्देशक बी सुभाष निर्माता नितिनकुमार गुप्तासँग सहकार्य गर्दै सिक्वेलको तयारीमा जुटिसकेका छन्।
फिल्मको नाम हाललाई ‘डिस्को डान्सर २’ राखिएको छ। ‘डिस्को डान्सर’ एक सांगीतिक कथाको फिल्म थियो, जुन जिमी(मिथुन चक्रवर्ती) नामका एक स्ट्रीट सिंगरको जीवन वरपर घुमेको थियो। जो पछि गएर डिस्को स्टार बन्छन्। यो फिल्मले भारतमा मात्र होइन, चिनियाँ र रुससहित कैयौं युरोपियन मुलुकमा तहल्का मच्चाएको थियो ।
यो फिल्ममा दिवंगत संगीतकार तथा गायक बप्पी लहरीको संगीत थियो। फिल्मका गीत ‘जिमी जिम्मी आजा आजा’, ‘आइ एम अ डिस्को डान्सर’ र ‘याद आ रहा है’ आज पनि लोकप्रिय छ।
फिल्मको सिक्वेल अघिल्लो फिल्मको अन्त्यबाटै सुरु हुनेछ। यो सिक्वेलले जिमी र उनको छोराको कथालाई अगाडि ल्याउनेछ। फिल्मलाई रुससहित अन्तर्राष्ट्रिय लोकेसनमा खिचिनेछ। फिल्ममा मिथुनको अभिनय रहनेछ तर उनको छोराको भूमिका कसले निभाउने केही टुंगो लागेको छैन। फिल्मको कथा ‘आरआरआर’, ‘बाहुबली’ र ‘बजरंगी भाईजान’ जस्ता ब्लकबस्टर फिल्मका लेखक केवी विजयेन्द्र प्रसादलाई लेखाउने तयारीमा निर्माता छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment