डरको छायामा पुटिन ! मोबाइलबाट टाढा, गोप्य ट्रेनबाट यात्रा, बंकरमा बस्छन्

डिसी नेपाल
२५ चैत २०७९ १४:५५
484
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डरले बाँचिरहेका छन् ? किनभने पुटिनका एक पूर्व सुरक्षा अधिकारीले उनको जीवनशैलीबारे धेरै ठूला खुलासा गरेका छन् । उनले पुटिन डरको छायामा बसिरहेको खुलासा गरेका छन् ।

पुटिनको व्यक्तिगत सुरक्षा टोलीका सदस्य ग्लेब काराकुलोभले भने, ‘हाम्रा राष्ट्रपति युद्ध अपराधी बनेका छन्।’ उनले दाबी गरे, ‘पुटिनलाई कसैले मार्छ कि भन्ने डर सधैं रहन्छ । उनी आफ्नो अधिकांश समय कजाकिस्तानमा रहेको रुसी दूतावासमा बनाइएको बंकरमा बिताउँछन्। यस बंकरमा सुरक्षित सञ्चार लाइन पनि छ।’

बेलायती पत्रिका ‘द गार्डियन’को रिपोर्टका अनुसार काराकुलोभले पुटिनको गोप्य रेल र विभिन्न ठाउँमा बनाएको उनको कार्यालयको पनि खुलासा गरेका छन् । उनले पुटिन सधैं आफ्नो ज्यानको डरमा रहेको खुलासा गरेका छन् । यति मात्रै होइन, उनले पुटिनले ‘गोप्य ट्रेन’ पनि प्रयोग गर्ने बताए ताकि उनलाई ट्र्याक गर्न नसकियोस् ।

काराकुलोभले पुटिनसँग १८० पटकभन्दा बढी यात्रा गरेको दाबी गरेका छन् । पुटिन विमानबाट नभई बख्तरबंद ट्रेनमा यात्रा गर्छन्, किनकि उनी उडान ट्र्याक गर्न सकिने कुराले डराउँछन्।

न्युयोर्क पोस्टसँगको कुराकानीमा उनले भने, ‘मेरो सम्पूर्ण सेवा अवधिमा मैले उनीसँग मोबाइल फोन कहिल्यै देखेको छैन । पुटिनले आफ्ना नजिकका व्यक्तिहरूबाट सबै जानकारी लिन्छन्। उनले भने, ‘हाम्रा राष्ट्रपतिको संसारसँगको सम्पर्क टुटेको छ ।’

काराकुलोभले खुलासा गरे, ‘उनले विगत धेरै वर्षदेखि सबै प्रकारका जानकारीबाट आफूलाई टाढा राखेका छन्। उनी सधैं आफ्नो जीवनको डरमा छन्। उनले आफूलाई क्वारेन्टाइनमा राखेका छन् । उनी सधैं यस्तो घरमा बस्छन् जसलाई मिडियाले प्रायः बंकर भन्छन्। अहिले उनलाई आफ्नो र परिवारको जीवनको मात्रै चिन्ता छ ।

उनले अक्टोबर २०२२ मा कजाकस्तान भ्रमणका क्रममा पुटिनको विमान, हेलिकप्टर, याट र रुसी दूतावासमा बनेको बम सेल्टरमा पनि गोप्य सञ्चार सेटअप भएको बताए ।

उनले सन् २०२० मा कोरोना महामारीपछि पुटिनको व्यवहार र जीवनशैलीमा धेरै परिवर्तन आएको बताए । विदेश भ्रमण र सार्वजनिक कार्यक्रमबाट उनले आफूलाई टाढै राखेका छन् ।

उनले पुटिन अझै पनि क्वारेन्टाइनमा बस्ने र उनीसँगै बस्ने कर्मचारीले पनि दुई साताको क्वारेन्टाइनमा बस्नुपर्ने बताए । उनले पुटिनले आफूलाई संसारबाट अलग पारेको बताए । उनले सेन्ट पिटर्सबर्ग, सोची र नोवो-ओगार्योभोमा पनि उस्तै कार्यालय रहेको दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *