युद्धको बीचमा युक्रेनकी बरिष्ठ मन्त्री किन भारत आउँदैछिन् ?
काठमाडौं । युक्रेनकी प्रथम उपविदेशमन्त्री एमिन झापारोभा आइतबार चार दिने भारत भ्रमणमा आउँदैछिन् । गत वर्ष रुस–युक्रेन युद्धपछि पूर्वी युरोपेली मुलुकको यो पहिलो औपचारिक भ्रमण हो ।
परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै झापरोभाको भारत भ्रमणको घोषणा गरेको हो । जसमा युक्रेनका विदेश मामिलाका प्रथम उपमन्त्री एमिन झापारोभा ९ देखि १२ अप्रिलसम्म भारतको औपचारिक भ्रमणमा जाने बताइएको छ ।
समाचार एजेन्सीका अनुसार झापरोभाले विदेश मन्त्रालय (एमईए) मा सचिव (पश्चिम) सञ्जय वर्मासँग वार्ता गर्नेछिन्। सो क्रममा दुई पक्षले द्विपक्षीय सम्बन्ध, युक्रेनको वर्तमान अवस्था र पारस्परिक हितका विश्वव्यापी मुद्दाका बारेमा विचार आदानप्रदान गर्ने अपेक्षा गरिएको छ ।
योसँगै उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई युक्रेन भ्रमणको निम्तो दिन सक्ने बताइएको छ । झापरोवाले विदेश तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखी र उपराष्ट्रिय सुरक्षा सल्लाहकार विक्रम मिश्रीसँग पनि भेट गर्नेछिन् ।
गत वर्ष ४ अक्टोबरमा प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग फोनवार्ता गरेका थिए । त्यसपछि प्रधानमन्त्री मोदीले युद्धको कुनै सैन्य समाधान नहुने र भारत कुनै पनि शान्ति प्रयासमा सहयोग गर्न तयार रहेको बताएका थिए । तर, भारतले युक्रेनमा रुसी आक्रमणको अहिलेसम्म निन्दा गरेको छैन र कूटनीति र वार्ताबाटै संकट समाधान हुनुपर्ने अडान राख्दै आएको छ ।
विदेश मन्त्रालयले युक्रेनसँग भारतको न्यानो र मैत्रीपूर्ण सम्बन्ध र बहुआयामिक सहयोग रहेको बताएको छ। ‘कूटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्षमा दुई देशबीच व्यापार, शिक्षा, संस्कृति र रक्षाका क्षेत्रमा द्विपक्षीय सहयोगमा उल्लेख्य प्रगति भएको छ, यो भ्रमणले आपसी समझदारी र चासोलाई थप प्रगाढ बनाउने अवसर हो’ मन्त्रालयले जनाएको छ ।







डिसी नेपाल







Facebook Comment