जताततै सीपको आवश्यकता, जगैदेखि सीप शिक्षा

खगेन्द्रराज सिटौला
२९ चैत २०७९ ७:१६

कुनै पनि मुलुक ज्ञान, सीप र प्रविधिमा पछि प¥यो भने त्यस मुुलुकले कुनै पनि क्षेत्रमा प्रगति गर्न सक्दैन भन्ने नेपाल राष्ट्रका निर्माता श्री ५ पृथ्वीनारायण शाहमा विकसित भएको दूरदर्शी सोच थियो।

यही सोचलाई ज्ञान, विज्ञान, सीप र प्रविधि क्षेत्रको पृथ्वी विचारको रुपमा बुझनु पर्दछ। सीप र प्रविधिको विकास गरेर मात्रै राष्ट्रलाई सबै किसिमले उठाउन सकिन्छ भन्ने पृथ्वी विचार हिजोको, आजको र भोलिको युगको उत्तिकै जिउँदो विचार हो। पृथ्वी विचारको सीप भनेका ज्ञान, हो विज्ञान हो प्रविधि हो र हो व्यवसायिक र व्यवहारिक दक्षता पनि। यसलाई हामीले यसरी नै बुझ्नु पर्दछ।

“कपरा बन्न जान्यालाई नमुना देखाई सधाउनु’ भनेको सीप सिकाउनु भनेको हो पृथ्वीनारायण शाहले। यो सीपमूलक व्यवसायिक र व्यवहारिक शिक्षाको नीति निर्देशन हो।

सीप, व्यवसायिक, व्यवहारिक ज्ञान र प्रविधिमा जनता पछि परे भने राष्ट्र पछि पर्छ भन्ने पृथ्वीनारायण शाहले बुझेको यथार्थता चीनका नेता तेङ स्याओ पीङले पनि बुझेर नै आफ्ना देशका धेरै युवा विद्यार्थीहरुलाई सीप, ज्ञान र प्रविधि सिकाउन अमेरिकालगायत पश्चिमा मुलुकहरुमा पठाएका थिए। आफ्नै मुलुक भित्र पनि व्यापक सीप अभियान चलाएका थिए।

त्यसैको परिणाम हो अहिले विकासमा तीब्र गतिमा अधि बढिरहेको विकासको आश्चर्यजनक उदाहरण बनेको चीन। यसबाट पनि पृथ्वी विचारको सीप सिकाउने कुराको अर्थ महत्व व्यावहारिकता र व्यापकताकता बुझ्न सकिन्छ।

आधुनिक कम्प्युटर शिक्षा होस् या अत्याधुनिक प्रविधि शिक्षा सबै पृथ्वीनारायण शाहाले अधि सारेको सीप सिकाउ अन्तर्गत नै पर्दछन्।

सीपशक्तिलाई श्रमशक्तिमा रुपान्तरण गर्नुपर्छ भने श्रमशक्तिलाई सीपशक्तिले तिखार्नु पर्दछ। श्रममा नभएको सीप र श्रममा नगएको सीपको कुनै अर्थ छैन। त्यस्तै श्रम र सीप नभएको मुलुकको पनि कुनै भविश्य छैन। श्रम र सीपको लहर चलाउनु र श्रम तथा सीपलाई कदर गर्ने संस्कृतिको विकास गर्नु भनेको पृथ्वीविचारलाई सम्मान गर्नु र पृथ्वीविचारको बाटोमा हिँड्नु हो।

परम्परागत सीप र प्रविधलाई परिमार्जन परिष्कृत गर्दै अघि बढ्ने होस् या आधुनिक वैज्ञानिक प्रविधिको सैद्धान्तिक या व्यवहारिक ज्ञान या शिक्षा वा तलिम नै किन नहोस् सबै पृथ्वी विचारको सीप शिक्षा तिर नै आकर्षित भएका विषय मानिन्छन्। आधुनिक वैज्ञानिक शिक्षा सीप शिक्षाको उच्चतम रुप हो।

दाम्ला र नाम्लाका डोरी खेलाउनेदेखि कम्प्युटरका तार खेलाउने सम्मका सबै कला सीप शिक्षा बुझ्नु पर्दछ। हलो बनाउन जान्ने पनि सीप भएको व्यक्ति हो भने हवाइजहाज बनाउन जान्ने पनि सीप भएको व्याक्ति हो।

खेतमा हलो कुदाउने होस् कि सडकमा मोटर गुुडाउने होस् या अकासमा हवाइ जहाज उडाउने काम कला सबै पृथ्वीनारायणका सीप हुन्। सीपको क्षेत्र व्यापक र विस्तृत छ।

नेपाल सीप, विज्ञान र प्रविधिमा पछि परेकोले नै विकासलगायत सबै क्षेत्रमा पछि परेको यथार्थता बुझ्न ढिलो गर्नु हुँदैन। सीपको कुनै भौगोलिक सीमा हुँदैन। यो पृथ्वी विचारको मान्यता हो।

त्यसैले प्रविधि ज्ञान विज्ञानमा उन्नत देशको सीप, प्रविधि, ज्ञान विज्ञान भित्र्याएर कमजोर मुलुकलाई सबै किसिमले बलियो बनाउन अघि सारेको मान्यता हो पृथ्वी विचारको। भएका परम्परागत सीपहरुलाई परिष्कृत र परिमार्जन गर्दै लाने हो।

कमजोरी निखार्दै क्षमता तिखार्दै लाने हो। सीप सिकाउनु भनेको विज्ञान शक्ति र प्रविधि शक्तिको सम्पन्न र बलियो राष्ट्र बनाउने हो। आफ्नै सीप र श्रममा बाँच्न सक्ने व्यावसायिक जनशक्ति तयार गर्नु हो।

साँचो अर्थमा दक्ष जनशक्ति श्रमशक्ति र श्रम-संस्कृति भएको तथा सबै किसिमले आत्मनिर्भर सम्पन्न मुलुक बनाउनु हो। यसकारण पनि पृथ्वीविचारले सीप र प्रविधि सिकाउने कुरालाई उच्च प्राथमिकता दिएको हो। नेपालसंगै वर्तमान विश्वमा यसको झनै महत्व छ।

पृथ्वीविचारले अघि सारेको सीप सिकाउने विषयलाई राष्ट्रले बुझ्ने र व्यवहारमा कसरी लैजाने भन्ने चुनौती वास्तवमा राष्ट्रको गम्भीर चुनौती हो। सीपको क्षेत्र व्यापक छ। विज्ञान र प्रविधिमा भएको विकासले सीप शिक्षाका नयाँ-नयाँ क्षेत्रहरुको उद्घाटन भइरहेका छन्।

यसले गर्दा सम्भावनाका पनि नयाँ क्षेत्रहरु थपिँदै गएका छन्। याी क्षेत्रहरुले सीपमा दक्ष भएका जनशक्तिको मागलाई तीब्र बनाएका छन्। यसकारण पनि राष्ट्रका लागि सीपकरण गर्नु बाहेक अर्को विकल्प छैन। नेपाललाई सीपमय बनाउन राज्यले योजनवद्ध सीप अभियानको थालनी गर्नुपर्छ।

“सबै क्षेत्रमा सीपको आवश्यकता जगैदेखि सीप शिक्षा’ भन्ने मूल नारा बनाएर शिक्षा क्षेत्रमा सीप मूलक वैज्ञानिक, व्यवसायिक र व्यावहारिक शिक्षा नीति लागू गर्नु पर्दछ। र यसैमा लामो समयसम्म निरन्तर जोड दिइरहनु पर्दछ। यसमा पनि प्राविधिक सीपमूलक व्यवसायिक शिक्षामा विशेष जोड दिने नीति भएको हुनु पर्दछ राज्यको।

सीप सिकाउनु भनेको आफैमा पृथ्वीनारायणको शब्दमा प्रजालाई मोटा बनाउने आधार तयार गर्नु हो। प्रजा मोटा भनेको आफैंमा सबै किसिमले सक्षम जनताको अर्थ हो। दक्ष श्रमशक्तिको जनशक्ति हो।

स्वरोजगार र रोजगारको तयारी जनशक्ति हो। हर व्यक्ति हर परिवार समुदाय हुँदै सिंगो राज्य श्रम र उत्पादनको माध्यमले सम्पन बनाउने पूर्वाधार र योजना हो पृथ्वीनारायणको सीप सिकाउने नीति निर्देशन।

हातमा सीप भएपछि भोकै पर्नु र मर्नु पर्दैन भन्ने मान्यता हो यो। बेरोजगार र अभावले रुनु र तड्पनु पर्दैन भन्ने विश्वास हो। प्राविधिक जनशक्ति आफैमा राज्यको शक्ति हो भन्ने नेपालका राष्ट्रनिर्माताको मान्यता हिजो पनि सत्य थियो आज पनि सत्य हो र भोलिको पनि सत्य र फेरि पनि सत्य नै हो।

सीप र प्रविधिमा राज्य पछि भयो भने विकास लगयत सबै क्षेत्रमा सबै किसिमले राज्य पछि पर्दछ। पछि परेपछि सबै कुरामा विदेशीको भर पर्नु पर्दछ। यसरी सबै कुरामा विदेशीको मुख ताक्नु नपरोस भनेर नै राष्ट्रनिर्माताले सीपशक्तिलाई राज्यको शक्ति ठानेका हुन र सीप सिकाउने विषयलाई जोड दिएका हुन्।

सीपशक्तिलाई श्रमशक्तिमा रुपान्तरण गर्नुपर्छ भने श्रमशक्तिलाई सीपशक्तिले तिखार्नु पर्दछ। श्रममा नभएको सीप र श्रममा नगएको सीपको कुनै अर्थ छैन। त्यस्तै श्रम र सीप नभएको मुलुकको पनि कुनै भविश्य छैन।

श्रम र सीपको लहर चलाउनु र श्रम तथा सीपलाई कदर गर्ने संस्कृतिको विकास गर्नु भनेको पृथ्वीविचारलाई सम्मान गर्नु र पृथ्वीविचारको बाटोमा हिँड्नु हो।

अहिले नेपालको अदक्ष श्रम शक्तिलाई दक्ष श्रमशक्तिमा रुपान्तरित गर्ने काम चुनौती र अवसर दुबै हो। यो राष्ट्रिय आवश्यकताको प्राथमिक कार्यभार हो। यो चुनौतीपूर्ण अवसरलाई राज्यले कुशलतापूर्वक सम्पादन गर्न सक्नु पर्दछ।

यो चुनौतीको सामना योजनबद्ध कार्यक्रम र संकल्पको साथ राज्यले साझा र मुल राष्ट्रिय नीति बनाएर गर्न सक्नु पर्दछ। यो दुई दिनमा सम्पन्न हुने काम होइन। दीर्घकालीन योजनाको साथ अघि बढ्ने अपरिवर्तनीय राष्ट्रिय नीति हुनु पर्दछ।

जनतालाई स्वरोजगारका लागि योग्य बनाएर बेरोजगारी समस्याको समाधानको पूर्वाधार तयार गर्नु भनेको नै सीप सिकाउनु हो। यो सुदृढ राष्ट्रिय अर्थतन्त्रको सवाल पनि हो र एकैपल्ट जनता र राज्य सम्पन्न हुने महत्वपूर्ण कडी पनि हो।

दक्ष श्रमशक्ति भएको मुलुक बनाउनु भनेको समृद्धि बढाउनु मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा मुलुकको प्रतिष्ठा बढाउनु पनि हो। अन्तर्राट्रियस्तरको प्रतिस्पर्धी तथा सम्मानित नागरिक बनाउनु भनेको पनि अन्तर्राष्ट्रियस्तरको सीपयुक्त जनशक्ति तयार गर्नु हो।

साहित्य, संगित कला, खेलकुद, उत्पादन, निर्माण, मर्मत, सञ्चालन, व्यवस्थापन, शासन, भाषण, प्रशासन, अनुसन्धान, शिक्षण, प्रशिक्षण, व्यापार, व्यावसाय, ज्ञान विज्ञान आदि इत्यादि सबै पृथ्वीनारायण शाहले भनेको सीप सिकाउनुसँग जोडिएर आउने विषय हुन्।

यसको अर्थ यो हो कि सीप सिकाउनु भनेको आफैंमा व्यापक र महत्वको विषय र क्षेत्र हो। यो साधरण श्रमशक्तिदेखि असाधरण वैज्ञानिक तथा प्राविधिक जनशक्ति सबै सीपयुक्त जनशक्तिको परिधि भित्र पर्दछन्। गुणस्तरीय सीपको बजार राष्ट्रियस्तरमा मात्र सीमित हुँदैन। अन्तराष्ट्रिय स्तरमा नै यसको माग र बजार फैलिएको हुन्छ।

कोठा चोटा घर आगन चुल्हो चौका भित्रको सीप होस् कि खेत बारी,आँपघारी,बाँसघारी कुलो पहिरोसँग जोडिएर आउने सीप होस्, कलकारखानासँग जोडिएर आउने सीप होस् कि खाना गाना बजाना नाचना खेलकूदसँग जोडिएर आउने सीप होस् या जल, थल, नभमा कुदने र उड्ने सवालका सीपहरु हुुन् यी सबै पृथ्वीनारायणका गरिखानेवाद जिन्दावाद हुन्। यी सबै राजनीतिमा ठगिखानेहरुले रचेका जिन्दावाद र मुर्दावाद भन्दा उच्च र उत्कृष्ट छन्।

सानो उदाहरुण कपाल काट्ने सीप भएका विदेशी नागरिकहरुले मात्रै नेपालबाट वर्षिक करोडौं रुपैयाँ लान्छन् आफनो देशमा । डकर्मी र सीकर्मीले त झन कति हो कति।

व्याक्ति-व्याक्ति र हरेक घर परिवारलाई सम्पन्न बनाउनलाई होस् या सिंगो समाज समुदाय र राष्ट्रलाई सम्पन्न बनाउन होस् पृथ्वीविचारले अघि सारेको सीप सिकाउनुको अर्को कुनै विकल्प छैन। हो जताततै सीपको आवश्यकता जगैदेखि सीप शिक्षा।

जनताको सीप र श्रम खपत र सदुपयोग गर्न उत्पादन,औद्योगिककरण र विकासका योजना, रोजगार र स्वरोजगारका अवसर दिने काम राजनीति र सरकारको हो।

समयले मागेको वैज्ञानिक अनुसन्धान र व्यवहारिक अनुभवले समेत परिष्कृत र परिमार्जित हुँदै गएको सीप र ज्ञानमा समायोजित जनशक्ति हरेक राष्ट्रको निरन्तर आवश्यकता हो। पृथ्वीनारायणले धेरै अघि देखेको विश्वव्यापी सत्य हो यो सीपशक्ति।

सीप र श्रमबेगर कुनै पनि राष्ट्रले समृद्धि हासिल गर्न सक्तैन। यो अरु राष्ट्रजस्तै नेपालमा पनि शतप्रतिशत लागु हुने यथार्थता हो। जनताको जीवनस्तर र राष्ट्रको सबैस्तर उठाउन सीपशक्ति युक्त जनशक्तिको नेपाल निर्माण गरौं।

देशभक्ति भएको सीपशक्तिको एकतावद्ध नेपाली जनशक्ति नै वास्ताविक नेपालशक्ति हो। यही नेपालशक्तिको जगबाट उठेको श्रम र सीपको लहरले खडा गरेको समृद्ध नेपालमा फहराएको चन्द्र सूर्य झण्डामा नै हाम्रो राम्रो पृथ्वीविचार रमाएको हुन्छ।

सीप सिकौं श्रम गरौं पृथ्वीविचारको राजमार्गमा हिडेर बलियो विकसित नेपालका नागरिक भएर गर्व गरौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *