सलमान खानलाई मार्ने धम्की दिएको आरोपमा १६ वर्षका किशोर पक्राउ
काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले ठाणे जिल्लाका १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।
उक्त नाबालिगले कन्ट्रोल रुममा फोन गरेर सलमान खानलाई मार्ने धम्की दिएको बताइएको छ । मुम्बई प्रहरीको मुख्य कन्ट्रोल रुमलाई सोमबार राति यो धम्कीपूर्ण फोन कल आएको थियो।
एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले भनेको छ कि कल गर्ने व्यक्तिले फोनमा सलमान खानलाई ३० अप्रिलमा मार्ने बताएका थिए र अभिनेतालाई सन्देश पठाउन आग्रह गरेपछि फोन काटियो।
प्रहरीले फेरि फोन गर्दा फोन गर्ने व्यक्तिले आफूलाई ‘गौशाला रक्षक’ भनेर चिनाए र आफूले जोधपुर राजस्थानमा फोन गरेको बताए ।
त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो र प्राविधिक सहयोगमा नम्बर ट्र्याक गर्दा उक्त फोन ठाणे जिल्लाको शाहपुरबाट आएको पत्ता लाग्यो । यो क्षेत्र मुम्बईबाट ७० किलोमिटर टाढा छ।
प्रहरी अधिकारीका अनुसार यस मामिलामा मुम्बई प्रहरीको क्राइम इन्टेलिजेन्स युनिट (सीआईयू) पनि संलग्न थियो। सिआइयुका पदाधिकारीको टोलीले शाहपुर गएर शंकास्पदलाई पक्राउ गरेको थियो ।
यसपछि प्रहरीले संदिग्धलाई नियन्त्रणमा लिएर उनको फोन चेक गर्दा कन्ट्रोल रुममा फोन गरेर सलमानलाई ज्यान मार्ने धम्की दिएको पाइयो ।
अहिले उक्त कल गर्नुको पछाडि किशोरको मनसायबारे अनुसन्धान भइरहेको छ ।
गत महिना मुम्बई प्रहरीले धम्कीपूर्ण इमेल पाएपछि सलमान खानको सुरक्षा बढाएको थियो ।
जुन २०२२ मा पनि एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिएका थिए ।







डिसी नेपाल







Facebook Comment