कोरोना सङ्क्रमित गर्भवतीको सफल शल्यक्रिया

डिसी नेपाल
१ वैशाख २०८० २२:०६
52
Shares

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि पहिलोपटक आज तुलसीपुर उपमहानगरपालिका–४ दाङ निवासी २१ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुुरमा कोरोना सङ्क्रमण पुष्टि भएपश्चात भेरी अस्पतालमा प्रेषण भएकी महिलाको शल्यक्रियामार्फत छोरा जन्मिएको छ । दुई दिनदेखि बेथा लागेर उपचारका लागि दाङका विभिन्न अस्पताल हुँदै शिक्षण अस्पताल कोहलपुरमा आउँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

भेरी अस्पतालमा उपचारका लागि ल्याउँदा गर्भवतीको अवस्था जटिल हुन पुगेको थियो । यसअघि अस्पतालमा कोरोना सङ्क्रमणको दोस्रो लहरका बेला सङ्क्रमित गर्भवतीको शल्यक्रिया गरिए पनि त्यसयताको यो शल्यक्रिया पहिलो भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिए ।

धेरै अस्पतालबाट प्रेषण हुँदै आउँदा गम्भीर अवस्थामा पुगेको सङ्क्रमित गर्भवतीको तत्काल शल्यक्रिया गरिएको बताउँदै उनले आमा र बच्चालाई अस्पतालमै आइसोलेशनको व्यवस्था गरेर राखिएको उल्लेख गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *