प्रचण्ड सरकारको विकल्प खोज्दै कांग्रेस-एमाले, अर्को चुनावसम्म देउवालाई प्रधानमन्त्री दिन एमाले तयार

डिसी नेपाल
७ वैशाख २०८० १२:३२

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्ष एमालेबीच वर्तमान सरकारको विकल्पमा सत्ता सहकार्यका लागि आन्तरिक गृहकार्य सुरु गरेका छन्।

आसन्न उपनिर्वाचनमा थालिएको चुनावी सहकार्यको पहल सफल हुन नसके पनि आगामी दिनमा सत्ता सहकार्य गर्ने तहसम्मको छलफल दुई दलबीच फेरि हुन थालेको हो।

उच्च स्रोतले दिएको जानकारी अनुसार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको विकल्पमा प्रतिपक्षी एमालेले कांग्रेससँग सहकार्य गर्ने आफ्नो रणनीति तय गरेको छ।

एमालेले वर्तमान सरकारको विकल्पमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नै अघि सार्ने प्रयत्न गरेको छ। सरकारको पूर्णकार्यकाल देउवालाई प्रधानमन्त्री बनाएर आफू सरकार बाहिर बस्न एमाले तयार रहेको स्रोतको दाबी छ।

सरकार गठन भएको चार महिना पुग्नै लाग्दा समेत प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिन सकेका छैनन्। उनले सरकारको कामकारबाहीलाई गति दिन नसकेको भन्दै सत्ता साझेदार कांग्रेसका शीर्ष नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन्।

सभापति दउवाले समेत एक कार्यक्रममा अबको प्रधानमन्त्री आफू बन्ने उद्घोष गरेपछि सशंकित बनेको माओवादी केन्द्र उपनिर्वाचनमा सहकार्य सहकार्य नजिक पुगेर परिघटनाले थप आशंका बढाएको छ।

कमजोर धरातलमा बनेको वर्तमान सरकारको नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्डले कांग्रेसभित्रैको शेखर कोइराला पक्षलाई सरकारमा अझै सहभागी गराउन सकेका छैनन्।

सरकारको समयावधिको सुनिश्चितता नभएकाले सरकारमा सहभागी हुन कोइराला पक्षका नेताहरुले तदारुकता नदेखाएको स्रोत बताउँछ। स्वयम् कोइरालाले नै सुरुमा सरकारमा सहभागी हुने आकांक्षा व्यक्त गरेका थिए।

एमालेले प्रचण्डका कारण मुलुक सधैं अस्थिरतामा ररिरहने भएका कारण आफू बाहिरै बसेर कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्न सक्ने सन्देश दिए पछि कांग्रेस सभापति देउवा त्यसको गृहकार्यमा लागेको स्रोतले जनाएको छ।

तर, सरकारको अवधि निश्चित नभएकाले छोटो समयका लागि सहभागी हुन अनिच्छुक भएको बताइन्छ। यद्यपि प्रधानमन्त्री प्रचण्डले भने उपनिर्वाचन लगत्तै सरकारलाई पूर्णता दिने बताउँदै आएका छन्।

केही दिन अघि एमाले र कांग्रेसबीच वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा चुनावी सहकार्य गर्ने तयारी थालेपनि मूर्तरुप लिन सकेन। अहिले दुबै दलका उम्मेदवारहरु एक अर्कासँग चुनावी मैदानमा उत्रिएका छन्।

तनहुँ १ र चितवन २ मा एमाले र कांग्रेस दुबै पार्टीका उम्मेदवार चुनावी मैदानमा छन्। कांग्रेसले बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ। तर एमालेको भने तीनै क्षेत्रमा उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएका छन्।

चितवन र तनहुँमा चुनावी सहकार्यको आकांक्षाले छलफल थालेका एमाले र कांग्रेसले चुनावी सहकायको प्रयास सार्थक हुन नसकेपनि संसदमा बजेट पेश गर्नु अगावै प्रचण्ड सरकारको विकल्पमा अहिलेको गठबन्धन भत्काएर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने रणनीतिमा एमाले लागेको स्रोतको भनाइ छ।

तत्काल प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्न नसकेपनि केही महिनाभित्रै कांग्रेस नेतृत्वमा सरकार गठन हुने स्रोतको दाबी छ।

एमालेले प्रचण्डका कारण मुलुक सधैं अस्थिरतामा ररिरहने भएका कारण आफू बाहिरै बसेर कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्न सक्ने सन्देश दिए पछि कांग्रेस सभापति देउवा त्यसको गृहकार्यमा लागेको स्रोतले जनाएको छ।

बाँकी कार्यकाल पूरै देउवालाई सरकार सञ्चालन गर्न दिन तयार भएको एमालेले संवैधानिक आयोगमा नियुक्त पदाधिकारीलाई भने चलाउन नपाउने सर्त राखेको छ। त्यसमा देउवा सहमत भएको बताइएको छ।

भारत भ्रमणका लागि औपचारिक निम्तो पाएका प्रधानमन्त्रीले यही वैशाखको अन्त्यतिरको भ्रमणमा भारतीय सत्तापक्षसँग केही सम्झौता गरेरै भएपनि सत्ता टिकाउने दाउमा रहेको स्रोतले बतायो।

यता, एमालेले कांग्रेससँग सहकार्य गरिए केन्द्र सरकारमा सहभागी नहुने बताए पनि प्रदेश सरकारलाई निरन्तरता दिने दाउमा लागेको छ। अहिलेको उपनिर्वाचनको परिणामले आफूलाई खासै लाभहानि नहुने भएर निश्चिन्त रहेको एमाले कांग्रेससँग सहकार्य भएमा आफ्नो नेतृत्वका प्रदेश सरकारले निरन्तरता पाउनेमा निर्धक्क रहेको छ।

एमालेले नेतृत्व गरेको तीन वटा प्रदेश सरकार फेरिएको सत्ता गठबन्धनले संकटमा परेका छन्। माओवादीसहितको गठबन्धन हुँदा बनेका एमाले नेतृत्वको सरकार अहिले समर्थन गरेको दल बाहिरिएपछि विश्वासको मत लिने अवस्थामा पुगेको छ।

एमाले नेतृत्वको गण्डकी, लुम्बिनी र कोशी प्रदेश सरकार संकटमा रहेका छन्। ती प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्रीहरु सत्ता गठबन्धन समर्थक दलले समर्थन फिर्ता लिएपछि फेरि विश्वासको मत लिने बाध्यात्मक अवस्थामा पुगेका छन्।

स्रोतका अनुसार प्रदेशको संसदीय अंकगणितले ती प्रदेशमा एमालेको सरकारले निरन्तरता पाउने अवस्था नरहेकाले सरकार टिकाउने दाउमा एमालेले केन्द्रीय स्तरबाटै कांग्रेससँग सहकार्यको पहल थालेको हो।

एमालेले नेतृत्व गरेका प्रदेश सरकार यथावत रहे माओवादीले लिएका प्रदेशको नेतृत्व कांग्रेसलाई दिन एमाले तयार छ। सोही एमालेको प्रस्ताव अनुरुप अहिले दुई दलबीचको आन्तरिक गृहकार्य सुरु भइसकेको छ।

सरकारको नेतृत्व गर्ने दल बाहिर बसेर संसदीय अंकगाणितमा कमजोर हैसियतको तेस्रो दललाई अघि सारिएको र सरकारले गति लिन नसकेको भन्दै कांग्रेसलाई आश्वस्त पार्दै देउवालाई प्रधामन्त्रीको अफर गरेको स्रोतको दाबी छ।

आसन्न उपनिर्वाचनको मतपरिणाम पछि राजनीतिक परिस्थितिमा फेरबदल आउन सक्ने आँकलन समेत दुई दलले गरेका छन्। तीनवटै निर्वाचन क्षेत्रमा देखिएको चुनावी परिदृश्यले पनि सत्ता समीकरणमा बदलाव आउने आशंका दुई दलको छ।

बारा २ मा यसअघि सप्तरी २ मा पराजित भएर पुनः चुनाव लड्न पुगेका जसपाका अध्यक्ष यादवको तुलनामा माओवादी केन्द्रबाट जनमतमा प्रवेश गरेर चुनावमा होमिएका जनाधार बलियो भएका सोही क्षेत्रका स्थायी बासिन्दा शिवचन्द्र कुशवाह भारी पर्ने संभावना छ।

यसले पनि वर्तमान सत्तासमीकरणमा तिक्तता बढ्ने एमालेको आँकलन छ। सत्ता गठबन्धनको समर्थन पाएका यादव बारा २ मा पराजित भए गठबन्धनमा अविश्वास पैदा भएर दरार आउने हुँदा सोही मौकामा कांग्रेससँगको सहकार्य अघि बढाएर प्रचण्ड सरकारको बर्हिगमन गराउने रणनीतिमा लागेको बताइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *