सिरहामा नगरपालिकाको भवन तोडफोड, पाँचजना प्रहरी घाइते 

डिसी नेपाल
७ वैशाख २०८० १४:४८

सिरहा। सिरहाको मिर्चैया नगरपालिकाले सडक विस्तारका लागि घर तथा पसलहरु भत्काएको विरोधमा बजारका सुकुम्बासी र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन्।

बजारमा झन्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार–व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारीहरुको घर नगरपालिकाले भत्काइदिएपछि आन्दोलनमा उत्रिएका हुन्।

संघर्ष समितिले बिहीबार नगरपालिका घेराउ कार्यक्रम राखेको थियो। सयौंको संख्यामा आएका आन्दोलनकारीहरुले नगरपालिका भवनमा तोडफोडसँगै नगर प्रमुख चढ्ने गाडीमा समेत तोडफोड गरेका छन्।

उनीहरूले उठाएका विषयहरूको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गरी प्रदर्शन गरहेका थिए। तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको छ।

आक्रोशित स्थानीयहरुले मिर्चैया नगरपालिकाको गेट तोडफोड गर्न थालेपछि प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न १० सेल अश्रुग्याँस र ७ राउन्ड  हवाई फायरिङ गरेका छन्।

प्रहरी र आन्दोलनकारीबीच  भएको झडपमा ५ जना प्रहरी घाइते भएको र उनीहरुको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रविन्द्रराज पाण्डेकले जनाएको छ। उनले भने, ‘घाइते प्रहरीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र अहिले अबस्था समान्य छ।’

मिर्चैया नगरपालिकाले संरचना निर्माण र नगर सुन्दर बनाउने नाममा बजार क्षेत्रका घर भत्काएपछि स्थानीयहरु आक्रोशित भएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *