पृथ्वीनारायण शाह युवाहरुको पाठशाला

खगेन्द्रराज सिटौला
८ वैशाख २०८० १०:४५

नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह युवाहरुका पाठशाला हुन् भन्दा धेरैलाई अनौठो पनि लाग्न सक्ला। प्रौढ पृथ्वीनारायण शाह युवाहरुका कसरी पाठशाला हुन सक्छन् भनेर जिज्ञाषा र सवाल पनि उठ्न सक्ला।

पृथ्वीनारायण शाह भन्न साथ औंलो उठाएको लामा जुंगा भएको प्रौढ तस्वीर मान्छेहरुको दिमागमा नाच्न थाल्दछ। त्यसबेला मान्छेहरुले पृथ्वीनारायण शाह प्रौढ मात्र देख्दछन्। र उनी कुनै समयमा युवा पनि थिए भनेर सम्झना नआउन पनि सक्छ।

किनभने मानिसहरुको दिमागमा रहने युवा पृथ्वीनारायणको तस्वीर प्रकाशित छैन र कसैले देखेको छैन र युुवा पृथ्वीनारायण मान्छेको दिमागमा वा आँखा अगाडि नाच्दैन।

त्यसैले पहिलो सवाल उठ्न सक्छ प्रौढ पृथ्वीनारायण शाह कसरी युवाहरुको पाठशाला हुन सक्छन्? यसको जवाफ तस्बीरको युवा पृथ्वीनारायणबाट होइन कि कर्मवीर युवा पृथ्वीनारायणबाट दिनुपर्ने हुन्छ।

र त्यो भनेको युवाहरुलाई युवा पृथ्वीनारायणको जीवनी र कार्यमा जोड्ने हो। अर्थात युवा पृथ्वीनारायण हरेक युवाहरुको लागि युवा पाठशाला हुनेछ। युवा पृथ्वीनारायण युवाहरुको एकैपल्ट पाठशाला,पाठ्यक्रम र पाठ्यपुस्तक हुने छ। जुन पाठशालाबाट युवाहरुले धेरै सिक्न सक्छन्। पृथ्वी पाठ्य पुस्तकका हरेक पन्ना पन्नाबाट आफूमा नयाँ उर्जा भर्ने छन्।

पृथ्वीनारायण शाह विक्रम सम्वत १७७९ साल पौष २७ गते गोर्खा दरबारमा जन्मेका हुन्। उनी आप्mना बुबा नरभूपाल शाहको मृत्यु भएपछि विसं १७९९ सालमा गोर्खा दरबारको सिंहासनमा राजाको श्रीपेच पहिरिएर बसे।

पृथ्वीनारायण शाह आफ्नो मूल उद्देश्य नभेटेसम्म अविश्राम, अविचलित, निरन्तर लागिरहे। अर्को ‘नि’ भनेको निर्भिकता हो। पृथ्वीनारायण शाह आफ्नोे उद्देश्य प्राप्तिको लडाइमा निर्भिकतापूर्वक लडे। अर्थात् निडर लिडर यानी नेता पृथ्वीनारायणको अर्को चरित्र र विशेषता हो।

अर्थात् पृथ्वीनारायण शाह राजा भएको बेला २० वर्षका युवा थिए। उनले राजाको पद पौरखले पाएको होइन परम्पराले पाएको हो। त्यसैले यो पद युवाहरुको पाठशाला होइन। तर त्यो पदमा बसेर उनले जो पौरख गरे जे परिणाम हात पारे त्यो चाहीँ युवाहरुको पाठशाला हो।

युवा उमेर महत्वपूर्ण पाटो हो जीवनको। तर त्यो भन्दा महत्वपूर्ण पाटो भनेको त्यो उमेरमा हामी कुन बाटो हिड्छौं र कसको सेवा गर्छौं भन्ने हो। त्यो उमेरलाई पृथ्वीनारायण शाहले कुन बाटोमा हिँडाए र कसको सेवामा लगाए यो नै युवाहरुले पृथ्वीपाठशालाबाट सिक्ने महत्वपूर्ण पाठ्य सामाग्री या पाठ्य पुस्तक हो।

के सिक्ने पृथ्वीपाठशालाबाट युवाहरुले भन्ने विषयलाई केन्द्रमा राखेर हामी छलफललाई अघि बढाऔं। सामान्यतया युवा उमेर अपरिपक्क नै हुन्छ। ज्ञानको कमी, शिक्षा र अनुभवको कमी र धर्यताको समेत कमी हुने उमेर पनि युवा अवस्था नै हो।

जीवनलाई कुन बाटोमा हिडाउने र जीवनलाई कस्तो बनाउने भन्ने कुराको निर्धारण पनि धेरै हदसम्म युवा उमेर कै कृयाकलाप र चरित्रले निर्धारण गर्दछ। कुमार्ग र सुमार्ग कुसंगत र सुसंगत ठम्याउन नसक्ने र जोशमा होस् गुमाउने पनि युवा उमेर नै हो।

सुसंस्कारबाट विचलन भएर कुसंस्कारको बटोमा हिड्न सक्ने खतरा पनि युवा उमेरमै हुन्छ। जीवन भनेको नै भोगविलास र मोजमस्तीको हो भनेर भविश्य र आफ्नै जीवन प्रति गैह्रजिम्मेवार हुने खतरा पनि यही युवा उमेरमा नै हुनसक्छ।

सजिलै अरुको कुरामा बहकिने उल्किने हौसिने ठिक र बेठिक ठम्याउन नसक्ने उमेरजन्य कमजोरीहरु पनि यहि उमेरमा नै प्राय देखिन्छन् या दोहरिन्छन्।

युवा उमेरजन्य नकारात्मक पाटा र बाटाका खतराहरु धेरै भए पनि यही उमेरमा नै सकारात्मक सोच र विचार बोकेर उर्जावान युवा उमेरलाई व्यापक धेरैको हित र जितमा समर्पण गरेर युगान्तकारी परिणाम दिने युवाहरुको नाम र लाम पनि धेरै भेटिन्छ।

यसलाई अपवाद नभनौं एउटा अठोट बोकेको युवाहरुको प्रतिनिधि चरित्र पनि हो। यस्ता प्रतिनिधि चरित्रका धेरै युवाहरुमध्ये एउटा नाम हो नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह। उनै शाहको युवा उमेरको कालखण्ड, प्रवृति र चरित्रलाई युवाहरुको पाठशालाको रुपमा प्रस्तुत गर्न कोसिस गरिएको छ।

पृथ्वीनारायण शाह राजा नरभूपाल शाहका जेठा छोरा भएकोले स्वभाविक रुपमा प्रचलन अनुसार उनी युवराज थिए। सामन्ति युग सामन्ती अहंकार जे पनि गर्नसक्ने गर्न पाउने भए पनि किशोर पृथ्वीनारायण शाहमा नकरात्मक पाटोले ठाउ लिन पाएन।

किशोर उमेर देखिनै उनको लागि जीवनको सकारात्मक बाटो तय भएर आयो। उनलाई त्यो बाटोमा हिड्न नै उत्साही भए उनलाई सकारात्मक बाटो रुचिकर लाग्यो त्यसले उनमा उर्जा भर्दै लग्यो।

यसो हुनुको मुल कारण पृथ्वीनारायण शाहले आफ्नो पहिलो पाठशाला आमालाई बनाए र जीवनको पहिलो शिक्षक आमाहरुलाई बनाए। यो उनको जीवनको महत्वपूर्ण पक्ष थियो।

त्यसबेला राजाहरुले बहूरानी विवाह गर्ने चलन थियो। नरभूपाल शाहका पनि विवाहित बहूरानीहरु थिए। पृथ्वीनारायण रानी कौशल्यवतीबाट जन्मेका थिए। तर उनले माया र शिक्षा सबैभन्दा धेरै जेठी रानी आमा चन्द्रप्रभाबाट पाएका थिए।

पृथ्वीनारायणलाई पृथ्वीनारायण बनाउन अथवा सबै किसिमले सकारात्मक बाटोमा हिँडाउन उनले सबभन्दा धेरै र ठूलो योगदान दिइकी छन्। आमा पाठशाला प्रारम्भ देखिनै जीवनको महत्वपूर्ण पाठशाला हो।

त्यही पाठशालाबाट पृथ्वीनारायणले जीवन पढे, अनुशासन पढे, संस्कार पढे, कर्तव्य पढे, आध्यात्म र सौर्य पढे, भावी राजाको जिम्मेवारी पढे। आमा पाठशालाको माध्यमबाट असल गुरुहरुबाट असल नीति पढे असल शास्त्र र सस्त्र पढे।

यही पढाइले गर्दा, यिनै पाठशालाले गर्दा नै पृथ्वीनारायणले जीवनको असल मार्ग फेला पारे र उनी अविचल अघि बढे। उनको सफलताको पहिलो राज यही थियो। पृथ्वीनारायण पाठशालाबाट युवाहरुले अझ किशोरहरुले सिक्ने भनेको आमाको काख पहिलो पाठशाला हो।

आमाबाट धेरै सिक। आमा बुबा सहित परिवार पहिलो पाठशाला हो त्याहाँबाट धेरै सिक। अनुशासन सिक, कर्तव्य सिक, संस्कार, संस्कृति धर्म र परम्परा सिक र जीवन हिँडाउने सही मार्गमा हिँड्न सिक।

मूल्य मान्यता परम्परा सिक र त्यसलाई समय सापेक्ष परिमार्जन गर्न सिक। आमाको काखशाला,बातशाला र पाकशाला आफैंमा सबभन्दा ठूलो पाठशाला हो।

राजाको मृत्यु पछि त्यसबेलाको चलनलाई पालन गर्दै राजाको जेठो छोरो याने युवराज पृथ्वीनारायण शाहलाई २० वर्षको युवा उमेरमा गोर्खा राज्यका राजा भएर गोर्खाको नेतृत्व सम्हाल्ने जिम्मेवारी आइलाग्यो।

युवा पृथ्वीनारायण शाहको लागि यो अवसर पनि थियो चुनौती पनि थियो। गोर्खा चौबीसे राज्यहरुमध्ये सबैभन्दा कान्छो तथा गरिब पनि थियो। त्यसैले यो कमजोर गरिब गोर्खा आफैंमा पृथ्वीनारायणको लागि चुनौती थियो।

र यसलाई बदल्ने शक्ति र जुक्ति फेला पार्ने र बलियो गोर्खा बनाउने अवसर पनि थियो पृथ्वीनारयण शाहको लागि। तर पृथ्वीनारायण शाहले चुनौतीलाई चिरेर अघि बढे अवसरलाई खेर जान दिएनन्।

पृथ्वीनारायण शाहले चुनौतीलाई कसरी चिरे र अवसरलाई कसरी खेरजान दिएनन् भन्ने विषय नै युवाहरुले पृथ्वीपाठशालाबाट सिक्ने मूलपाठ हो भन्दा अत्युक्ति नहोला।

पहिलो त पृथ्वीनारायण शाहले पहिलेको अधिकांश युवा राजाहरु जस्तो भोग विलास र ऐस आराम मोजमस्ति राजाको प्राथमिक काम प्रवृति र चरित्र हो भन्ने कुरालाई व्यवहारबाटै खारेज गरे।

युवा उमेरमा आफूलाई कुनबाटोमा ढाल्ने र आफूलाई कस्तो प्रवृति र चरित्रको बनाउने यो पृथ्वीपाठशालाको महत्वपूर्ण पाठ हुनसक्छ युवाहरुको लागि।

उनले नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाले कवितामा भने जस्तै उद्देश्य के लिनु उडी छुनु चन्द्र एक मा मेलखाने पात्रमा आफूलाई मिलाए। अर्थात् उनले ठूलै महत्वकांक्षा लिए।

महत्वकांक्षा, ठूलो सपना अथवा ठूलो उद्देश्य लिएर अघि बढ्ने उनले अठोट लिए। उनको अठोट दृढ थियो। युवाहरुले पृथ्वीनारायण पाठशालबाबाट ठूलो सपना र दृढता पढ्न सक्छन् ,सिक्न सक्छन्।

पृथ्वीपाठशालाबाट युवाहरुले पाँचवटा ‘नि’ पढ्न सक्छन्। अर्थात पाँचवटा ‘नि’ लाई उनीहरुले पाठ्य सामग्री बनाउन सक्छन् र यसलाई उनीहरुले जीवन मार्गको पाठ बनाउन सक्छन्।

पहिलो ‘नि’ को निराशालाई उनले जीवन देखि टाढै राखे। आफू माथि निराशा हाबी हुन दिएनन्। न उनी म कमजोर छु न गरिब छु निराश भएर खुम्चिएर नै बसे न यदाकदाका असफलताले निराश भएर आफ्नो योजना र उद्देश्यबाट पलायन नै भए। उनले म सक्छु र जित्छु बाहेक केही सोचेनन्।

अर्को नि भनेको निरन्तर हो। पृथ्वीनारायण शाह आफ्नो मूल उद्देश्य नभेटेसम्म अविश्राम, अविचलित, निरन्तर लागिरहे।
अर्को ‘नि’ भनेको निर्भिकता हो। पृथ्वीनारायण शाह आफ्नोे उद्देश्य प्राप्तिको लडाइमा निर्भिकतापूर्वक लडे। अर्थात् निडर लिडर यानी नेता पृथ्वीनारायणको अर्को चरित्र र विशेषता हो।

चौथो ‘नि’ भनेको निर्णय क्षमता भएका नेताको विशेषता। अर्थात् उनी उचित समयमा उचित निर्णय गरेर अघि बढ्थे। उनी किमकर्तव्य विमुढमा कहिल्यै परेनन्। अलमलमा परेनन् निर्णय गरे अघि बढे। उनले आफूलाई कहिल्यै अनिर्णयको बन्दी बनाएनन्।

पाँचौं ‘नि’ भनेको निजी स्वार्थलाई निरन्तर सामुहिक अर्थात राष्ट्रको स्वार्थको मातहत राखिरहे पृथ्वीनारायण शाहले। पृथ्वी पाठशालाका हरेक ‘नि’ पाठहरु जीवनमार्गलाई सफलतामा रुपान्तरण गर्न युवाहरुको लागि पठनीय मात्रै होइनन् अनुकरणीय भइरहने छन्।

बीस वर्षका पृथ्वीनारायणले जे जस्ता नीति बनाए जे जसरी परिपक्क नेतृत्व दिएर नेपाल एकीकरणको महाअभियानलाई आफ्नोे उमेरको बढोत्तरीसँगै बढोत्तरी गर्दै जसरी सफलताको उचाईमा पुर्‍याएरै छोडे यो अभियान आफैंमा हरेक उमेर समूहका मानिसहरुको पाठशाला हो।

जीवनको बाटो नविराउन चाहने र सही बाटो फेला पार्न चाहने हरेक युवाहरुको लागि उनको युवा उमेरको कालखण्ड हरेक समयको लागि सन्दर्भ सामग्री भइरहने छन्। प्राथमिक विद्यालयदेखि विश्वविद्यालय भइरहने छ। एउटा साझा पाठशाला भइरहने छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *